ब्लगशुक्रबार, आषाढ ३१, २०७३

राजनीतिको मिथ्या व्यापार

मनिष झा

राष्ट्रिय राजनीति होस् या मधेशको– दुवैले मिथ्याको व्यापार गरिरहेछन्– जसको फाइदा मात्र केही सय व्यक्तिलाई भइरहेको छ।

सन् २००९ को अगस्ततिर विभिन्न देशका सहभागी सम्मिलित एउटा तालीमका क्रममा भारतको राजस्थानमा एक भारतीय सहभागीसँग राम्रै भलाकुसारी भयो। प्रख्यात पूर्व महिला प्रहरी उच्च अधिकृत (हाल पण्डिचेरीकी लेफिटनेन्ट गभर्नर) किरण वेदीद्वारा संचालित नवज्योति फाउन्डेशनसँग आवद्ध थिए, उनी।

cartoonनेपालको राजनीतिमा भारतीय हस्तक्षेपबारे कुरा गर्दा उनको चासो देखिन्थ्यो। कत्ति न कुनै राजनीतिज्ञ नै भेटे झैं मैले पनि नेपाली राजनीतिमा भारतीय हस्तक्षेपको बारेमा थुप्रै गुनासोसहित मनको भँडास नै पोखें। तर मेरा कुरा सुनेपछि उनले अविश्वास मिश्रित आश्चर्य व्यक्त गर्दै प्रश्न गरे, “हो र! त्यस्तो छ र? हाम्रै देशमा यति धेरै समस्या छन् अनि किन हाम्रा राजनीतिज्ञहरू छिमेकी देशमा राजनीति गर्थे र?”

मेरो बोली बन्द भयो। बरु सोच्न थालें– राजनीतिक, सामाजिक र व्यावसायिक रूपमा यति जानकार युवालाई त नेपालको राजनीतिक अवस्थाको बारेमा खबर छैन भने सामान्य भारतीयलाई कति होला र?

नेपाली कांग्रेसका युवा नेता गगन थापाले एक पटक भारतको मुम्बई जाँदा सुनाएको प्रसंग पनि यहाँ प्रासंगिक छ। थापाका अनुसार धेरै संख्यामा नेपालीको बसोबास भएको बस्तीमा उनलाई निम्तो थियो र स्थानीय नेताहरू पनि नेपाली मूलकै थिए।

स्थानीयहरूले आफ्नो नेपाली युवा नेता आएको उत्साहमा त्यहींबाट निर्वाचित विधानसभाका सदस्यलाई पनि निम्तो दिएका थिए। थापा त्यतिबेला अचम्मित भए जब भारतीय समकक्षीले निकै सामान्य प्रश्न सोध्न थाले। थापा भन्छन्, “नेपाल एक छिमेकी राष्ट्र हो र त्यहाँ पशुपतिनाथको मन्दिर छ बाहेक उनलाई यहाँको बारेमा केही पनि थाहा रहेनछ।”

यता हाम्रा राजनीतिज्ञहरूले त भारतका सबै राजनीतिज्ञ हाम्रो बारेमा सकारात्मक वा नकारात्मक सोचेर बस्छन् झैं गर्छन्। नेपालमा राजनीति गर्नको लागि भारतको विरोध र गरीबी र उत्पीडनमा परेकाहरूको समर्थन ‘गरेजस्तो’ गरे पुग्दोरहेछ। गरीबीको कथा नसकियोस् भनेर उनीहरूलाई कहिल्यै पनि धनी बनाउने प्रयास गरिंदैन र विरोधको यात्रा नसकियोस् भनेर भारतीयसँगै साँठगाँठ राख्दै भारतको विरोध गरिन्छ।

हिजोआज मलाई मधेशवादी र मधेशको राजनीति त्यस्तै लाग्छ। मधेशवादीले आफ्नो राजनीतिक यात्रा कायम राख्नको लागि गैरमधेशीले हेप्यो भनेर प्रत्येक मधेशी पुस्तालाई पढाउन खोजे झैं लाग्छ। हो, त्यहाँ भेदभाव नभएको होइन, त्यो छ। तर सधैं के विरोध मात्र समाधान हो त? हो भने किन मधेशवादीहरूले वाइनको चुस्की लिंदै बाबुराम भट्टराई नेतृत्वको सरकारको लागि योजना बनाउँदै गर्दा मधेशको अधिकार र स्वाभिमानको कुरा सम्झिंदैनन्? किन मधेशवादीहरूलाई मधेशभन्दा मन्त्रिपरिषद् प्यारो लाग्छ?

किनभने राष्ट्रिय राजनीतिमा आफ्नो प्रभुत्वका लागि जसरी भारतीयसँग साँठगाँठ गर्दै भारतको विरोध गरिन्छ त्यस्तै मधेशवादीले गैरमधेशसँग साँठगाँठ गर्दै उनीहरूको विरोध गर्दै मधेशमा आफ्नो राजनीतिक आधार बनाइराखेका छन्। होइन भने राजधानीको एक निजी क्याम्पसमा स्नातकमा अध्ययन गर्ने पहाडको विद्यार्थीलाई सोधौं त उसको जीवनमा मधेशीको विरोधको के अर्थ छ? भक्तपुरमा तरकारी उब्जाउँदै गरेको कृषकलाई सोधौं के उसलाई हेपिएको छैन? के त्यो भक्तपुरे कृषक वा पहाडबाट आएको विद्यार्थी मधेशलाई हेप्नकै लागि जन्मेको हो? तर मधेशवादीले मधेशमा सधैं त्यस्तै पढाइरहेका छन्।

हो, निजामती सेवा भित्रकाले मधेशका जिल्लाहरूमा मधेशीलाई गर्ने व्यवहार नराम्रो छ तर निजामती सेवा आफैंमा त्यसरी हुर्केकाहरूको समुदाय भइसकेको छ, जसका अधिकांश सदस्य ‘आफ्ना’ लाई बाहेकका बाँकी हरेक नेपालीलाई हेप्छन्। हिमाल, पहाड वा मधेश होस् या दूर देहात वा सुगम शहर– कहाँका नेपाली हेपिंदैनन् ‘राष्ट्रसेवक कर्मचारी’ बाट? मधेशको राजनीतिले ती निजामती कर्मचारीको आजित लाग्दो व्यवहारलाई समेत आफ्नो राजनीतिका लागि कथा बनायो तर मधेशी राजनीतिकर्मीहरू आफैं मन्त्रालयको मुखिया हुँदा केही परिवर्तन गर्न खोजेनन्।

किन हामीलाई केवल विरोध गर्न सिकाइन्छ किन हामी आफैं बलियो हुनुपर्छ अनि हामीलाई हेप्दैनन् भनेर भनिंदैन?

सन् १९७० पछि चीनले आफ्नो आर्थिक नीति परिवर्तन गर्‍यो र विश्वबजारमा आफ्नो उपस्थिति बढाउने र नव आर्थिक क्रान्तिको अभियान चलाउन थाल्यो। चिनियाँहरूलाई थाहा थियो अमेरिका, जापान र यूरोपसँग विश्वबजारमा सजिलै जुध्न सकिन्न। तर चिनियाँहरूले ती सबैको विरोध गर्दै बसेनन्। सबै चिनियाँ बालबालिकालाई भनिन्थ्यो कि ‘तिमीहरू निकै बलियो हुनुपर्छ, किनकि तिमीहरू अमेरिकन र यूरोपियनभन्दा बलियो हुनुपर्छ।’

तर हामीलाई कहिल्यै पनि भनिएन, ‘तिमीहरू निकै बलियो हुनुपर्छ, किनकि तिमीहरू भारतीयभन्दा बलियो हुनुपर्छ।’ हामीलाई त केवल ढुङ्गाले थिचिएको तरुल भनेर आफूलाई चिन्न लगाइयो र सराप्नका लागि प्रतिद्वन्द्वी खोज्न सिकाइयो।

मधेशमा पहाडले हेप्यो भन्न सिकाइयो, नेपालीलाई भारतीयले हेपे भनेर सिकाइयो। तर आफू बलियो होऊ अनि कसैले हेप्दैन भन्ने कहिल्यै पनि सिकाइएन। यदि चिनियाँहरूले हामी कमजोर छौं र हामीलाई हेप्यो भनेर मात्र बसेको भए आज यो शक्ति आर्जित हुन्थ्यो होला र? के भारतीयले विश्वबजारमा हामीलाई देशी भनेर हेप्यो भनेर मात्र बसेको भए आज यो सफलता हुन्थ्यो होला र?

राष्ट्रिय राजनीति होस् या मधेशको– दुवैले एक मिथ्याको व्यापार गर्दैछन् जसको फाइदा केवल त्यही केही सय व्यक्ति– जो यस्तो गरिरहेका छन्– लाई होला तर राष्ट्र र भविष्यलाई कहिल्यै पनि हुने छैन।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>