समाचारशुक्रबार, आषाढ ३१, २०७३
डा केसीलाई डिन र डाइरेक्टरले भेटे, उपचारका लागि सिनियर चिकित्सकको टोली
अनशनरत डा गोविन्द केसीलाई चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जका डिन, शिक्षण अस्पतालका डाइरेक्टर र फ्याकल्टीहरुले भेटेका छन् ।
केसी अनशन बसेको छैटौं दिनमा निमित्त डिन विमलकुमार सिन्हा, अस्पतालका निर्देशक दीपक महरा, वरिष्ठ चिकित्सकहरु जगदीशप्रसाद अग्रवाल, जीवनकुमार श्रेष्ठ, सरोज वझा लगायतले भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
भेटका अवसरमा उनीहरुले केसीप्रति आफ्नो समर्थन र सदभाव भए पनि वाध्यताबस सहयोग गर्न नपाएको कुरा बुझिदिन आग्रह गरेका थिए ।
“हामीलाई त्यस्तै आदेश थियो, बाध्य भयौं, व्यक्तिगतरुपमा हामी समर्थन नै गर्छौं,” निमित्त डिन सिन्हाले भनेको त्यहाँ उपस्थित केसीका एक समर्थकले बताए ।
डा केसीले भने आफू सबैका लागि लडिरहेको, संस्थानकै विकासका लागि संघर्ष गरिरहेको बताए । ” मलाई एउटा आइभी स्ट्याण्ड समेत दिन नसक्ने तपाइहरु कायर हुनुहुन्छ , डराएर तपाइहरु पनि अछुतो नरहेको सन्देश दिनुभयो, ” केसीले डिनको टोलीलाई भनेका थिए ।
उपचारका लागि टोली गठन
डा केसीको स्वास्थ्य अवस्था विग्रिंदै गएपछि आजैबाट वरिष्ठ चिकित्सक दिव्यासिंह शाहको नेतृत्वमा चिकित्सकहरुको टोली खटिएको छ ।
“अनौपचारिकरुपमा म पहिलेदेखि नै उपचारमा संलग्न थिएँ, आजबाट औपचारिक रुपमै टोली गठन गरेर उपचार शुरु गरेका छौं” डा शाहले भनिन्, “उहाँको उपचारमा अब केही कमी हुँदैन ।”
स्वास्थ्य अवस्था विग्रिंदै
डा केसी यसपटक छिटै गलेको जानकारी दिंदै डा शाहले केसीको रगतमा चिनीको मात्रा निकै कम भएको, सोडियम पनि कम भएको, बोल्दा अक्सिजन स्याचुरेसन निकै कम हुने र मुटुको धडकन घटबढ भइरहेको पनि जानकारी दिइन् ।
केसीलाई भेट्ने आउनेहरु टाढै बस्नु पर्ने र उनीसँग कुरा गर्न पनि नहुने डा शाहको सुझाव छ । “यत्रो दिन भइसक्यो नखाएको, बोल्दा उहाँलाइ अप्ठ्यारो हुन्छ, इन्फेक्सनको सम्भावना पनि छ,” उनले भनिन् ।
पटकपटकको अनशलले शरीरका नशाहरुमा समस्या आएको र नशाबाट औषधी दिन समेत सहज नरहेको उनको भनाई छ ।
मोहन वैद्यले भेटे
नेकपा क्रान्नितकारी माओवादीका अध्यक्ष मोहन वैद्यले डा केसीलाई भेटी उनको आन्दोलनमा एेक्यवद्धता जनाएका छन् ।
“उहाँका मागहरु प्रति हाम्रो समर्थन छ, अब सामूहिक रुपले दबाब दिनु पर्छ” भेटपछि वैद्यले भने । उनले केसीका समर्थकहरुसँग कुरा गर्दै उनका माग पूरा गराउन आफूले सक्दो सहयोग गर्ने बताएका थिए ।