समाचारशुक्रबार, आषाढ ३१, २०७३
संसद् बैठक साउन ६ गतेसम्मका लागि स्थगित
बजेटसम्बन्धी विधेयक पारित गर्ने मितिका बारेमा दलहरुबीच सहमति नहुँदा व्यवस्थापिका–संसद्को बैठक आगामी साउन ६ गतेसम्मका लागि स्थगित भएको छ ।
आज दिउँसो १ बजेका लागि तोकिएको बैठक सूचना टाँस गरेर साउन ६ गते ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वर्तमान सरकारविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरेपछि दलहरुबीच बजेटसम्बन्धी विधेयक कहिले पारित गर्ने भन्ने सम्बन्धमा कुरा नमिल्दा बैठक स्थगित भएको हो ।
६ साउनमा बस्ने बैठकमा माओवादी केन्द्रका अध्यक्षसहित २८१ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्तावमाथि छलफल हुने संसद् सचिवालयको सूचनामा उल्लेख छ ।
सरकार बजेटसम्बन्धी अन्य विधेयक तत्काल पारित गराउने पक्षमा छ । कांग्रेस र माओवादी केन्द्रले भने सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेकाले उक्त प्रस्तावअघि बजेटसम्बन्धी विधेयक पारित गर्दा सरकारका पक्षमा बहुमत रहेको देखिने भएकाले बजेट तुरुन्तै पास नगर्ने भन्नेमा छन् ।
संसद्को कार्य सञ्चालन नियमावलीअनुसार बुधबार संसद्मा दर्ता भएको अविश्वासको प्रस्ताव परिपक्व हुन एक साता लाग्नेछ । उक्त प्रस्ताव सम्बन्धको प्रक्रिया आगामी साउन ६ गते मात्र अघि बढ्ने संसद् सचिवालयले जनाएको छ ।
आजको कार्यसूचीमा सभामुखले राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको बेहोरा पढेर सुनाउने र सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माले समितिको १८ औँ प्रतिवेदन, २०७३ पेश गर्ने विषय थियो ।
त्यस्तै ‘आर्थिक विधेयक, २०७३’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७३’ र ‘ऋण तथा जमानत (एक्काइसौँ संशोधन) विधेयक, २०७३’ मा दफाबार छलफल गरी पारित गर्ने कार्यसूची थियो । यसअघि संसद्ले ‘विनियोजन विधेयक, २०७३’ पारित गरिसकेको छ ।
सरकारबाट गत मङ्गलबार समर्थन फिर्ता भएको माओवादी केन्द्रले आर्थिक विषयका उक्त विधेयक अविश्वास प्रस्ताव पारित नभएसम्म अघि नबढाउने निर्णय गरेको छ । तर सरकार र प्रमुख सत्तारुढ दल नेकपा (एमाले) ले भने अविश्वासको प्रस्तावको सामना गर्ने निर्णय गरेको छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
