टिप्पणीशनिबार, साउन १, २०७३

भावनाका महामन्त्री

पुरञ्जन आचार्य

राजनीतिका लागि आफूलाई तयार नै नगरेका र पछिल्ला राजनीतिक परिवर्तनमा कुनै योगदान नगरेका शशांक महामन्त्रीको जिम्मेवारीबाट भाग्न चाहे।

प्रजातन्त्र पुनःस्थापनाका लागि राजनीतिक दलहरूको अथक् आन्दोलनकै कारण २०४६ सालमा व्यवस्था परिवर्तन भयो। तर, लामो संघर्षबाट थकित तिनै नेताहरूसँग परिवर्तन संस्थागत गर्ने अजेन्डा होइन, अन्योल मात्र थियो। गिरिजाप्रसाद कोइराला स्वयं ‘संवैधानिक राजतन्त्र र प्रजातन्त्र त भनियो तर गर्ने के हो थाहा छैन’ भन्थे।

shashankप्रजातन्त्रसँगै देशमा उदार अर्थतन्त्र भित्रियो। राज्यले खेल्नुपर्ने भूमिकाबारे यसअघि नेपाली कांग्रेसले जे जे भनिरहेको थियो, उदार अर्थतन्त्र ठीक उल्टो गरिरहेको थियो। आफू केही नगर्ने सरकार भटाभट सरकारी संस्थाहरू निजीकरण गर्न थाल्यो।

यो अर्थतन्त्रमा विदेशबाट लगानी आउन थाल्यो। निजी क्षेत्र चल्मलाउन थाले। निजी क्षेत्रको सक्रियताले ‘लबिइस्ट’ हरू सल्बलाए। राजनीतिक शक्तिका आडमा लबिइस्टहरूले पैसा देखाए, कमिशन दिए र आफ्नो हितमा निर्णय गराउन थाले। राजनीतिक दलहरूलाई देशको आर्थिक वृद्धिबाट नभई कमिशन एजेन्टबापत पैसा आउन थाल्यो। नाफामुखी निजी क्षेत्र देशका नयाँ ‘एलिट’ भए। अचानक धनी भए।

२०४६ सालअघि एउटा यस्तो चरण पनि थियो, जहाँ एकथरी राजनीति गर्नेहरू पलायन भइरहेका थिए। परिवर्तनसँगै तीभित्रकै एकथरी भने नीतिगत तहमा पुगे। खासगरी कांग्रेस र एमालेको एउटा यस्तो प्रभावकारी र समर्पित समूह छ, जो आन्दोलनमा अगाडि हुन्छ तर मुलुक निर्माणका क्रममा भूमिकारहित हुने गर्छ। त्यसमा कमिशन एजेन्टले नै भूमिका खेल्छ।

असल शासन र राष्ट्र निर्माणभन्दा पनि हिजोजस्तो फेरि दुःख भोग्नु र आन्दोलन गर्नु नपरोस् भनी राजनीतिकर्मी पैसा कमाउनेतर्फ लागे। त्यो उनीहरूमा मात्र सीमित रहेन। नातागोतासम्म फैलियो। हिजो राजनीतिको पीडा भोगेकाहरूमा ‘अहिले नभए कहिल्यै हुँदैन’ भन्ने डरलाग्दो मानसिकता विकास भयो। त्यसको शिकार कोइराला परिवार पनि भयो। सुजाता र शशांक पनि यसबाट भिन्न भएनन्।

‘फाइभ स्टार’ राजनीति
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता उपलब्धि ल्याउन शशांकले कुनै योगदान गरेका थिएनन्, तर, बीपीको नाम जोडिएकै कारण उनले कांग्रेस महामन्त्रीमा चुनाव जिते।

आफूले मिहिनेत गरेर यी परिवर्तन आर्जेको भए उनी यस्ता गहन विषयलाई संवैधानिक रूपमा रूपान्तरण गर्न, कार्यान्वयन गर्न व्यस्त हुन्थे। बीपीका छोरा हुन्, त्यसैले उनीसँग ‘पोजिसनल पावर’ छ। महामन्त्री हुन्, ‘पर्सनल पावर’ पनि छ। कार्यकर्ताको भोटलाई उनले ‘पर्सनल’ ठाने।

पदीय जिम्मेवारी पूरा नगर्नु पनि दुरुपयोग जस्तै हो। यतिबेला महामन्त्री शशांक यही गरिरहेका छन्। उनी महामन्त्रीको हैसियतमा संविधान कार्यान्वयनका लागि राजनीतिक पार्टीहरूसँग कुरा गरिरहेका छैनन्, मधेशकेन्द्रित नेताहरूका अजेन्डा मिलाउन कति समय खर्चे? कूटनीतिज्ञसँग भेटी भारतसँगको सम्बन्ध ठीक पार्न खोजे कि खोजेनन्? जनतालाई पत्तो छैन। देश राजनीतिक संकटमा परेका बेला उनी पार्टीका कनिष्ठ नेता, कार्यकर्तासँग बसेर समय काट्नमै व्यस्त रहे।

कांग्रेसले भावनाले शशांकलाई महामन्त्री बनाएको हो, क्षमताबाट होइन। बीपीको नाम बदनाम गर्छु कि भन्ने डर उनमा नभएको होइन। तर, भोलिको भयले उनलाई अस्वस्थ बनाइरहेको छ। उनले आफूलाई राजनीतिको लागि तयार नै गरेका थिएनन्। त्यसले ठूलो जिम्मेवारी आइपर्दा उनी जोखिम उठाउन होइन, भाग्न चाहन्छन्। मदिराप्रतिको उनको मोहको कारण यो पनि हुनसक्छ।

राजनीतिमा झन्झट छ। जुम्लाबाट आएको मान्छेको जुत्ता मोजा गन्हाउँछ। गिरिजाबाबु घन्टौं त्यो मोजाको गन्ध बेहोर्थे। धोती लगाएर आउनेको गुण अर्कै हुन्छ। काठमाडौंको कमिसन एजेन्टको व्यवहार बेग्लै हुन्छ।

कोसँग उठबस गर्ने, कसको खातिर राजनीति गर्ने? त्यो प्रष्ट हुनुपर्छ। बीपी भन्थे– कोइरालाहरू ‘फाइभ स्टार’ भए, यिनीहरू राजनीति गर्दैनन्। त्यसैले ‘फाइभ स्टार’ राजनीति गर्ने हो भने शशांकले राजनीति छाड्नुपर्छ।

नेताहरूलाई आफ्नो जीवनशैली जनतालाई थाहै छैन भन्ने भ्रम छ। हिजो कार्यकर्ताले नै नेताका आनीबानी लुकाइदिन्थे। तर, सूचना र प्रविधिको विकासले अब त्यो सम्भव छैन। अब हरेक नेताको जीवनशैली छिप्न सक्दैन।

भोलि प्रधानमन्त्री हुनसक्ने शशांकको दिनचर्या कस्तो छ? खानपान र स्वास्थ्य कस्तो छ? यसबारे जनतालाई थाहा हुनुपर्छ। किनकि उनको जीवनशैली उनको स्वास्थ्यसँग मात्र होइन, मुलुककै भविष्यसँग पनि जोडिएको छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>