ब्लगशनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
चीनमा प्रजातान्त्रिक शासन प्रारम्भ भएपछि नेपाली प्रतिनिधिमण्डल जानै परेन, ब्रिटिशको कन्कन् पनि हरायो।
ब्रिटिश अधिकारीहरूले नेपालको माध्यमबाट चीन–तिब्बततर्फका यावत् कुरा बुझ्ने परम्परा पहिल्यैबाट चलाएका थिए। अहिलेका रेजिडेन्टले पनि नेपालका महाराजसँग त्यही कुरा कोट्याइरहन्थे। ल्हासाको वकीलले काजी लामाहरूले लेखेका चिठीपत्र कति नेपाली अनुवाद गराएर पठाइदिन्थे, कति जस्ताको तस्तै। रेजिडेन्टले त्यस्ता पत्र हेर्न खोजे भने अंग्रेजीमा अनुवाद गराएर, केही त्यसै पनि महाराजले पठाइदिन्थे।
त्यसवेला चिनियाँ अम्बाले नेपाली वकीलसँग केही दाम मागेका रहेछन्। त्यो खबर पाएपछि चन्द्रशमशेरले सापटी दिन मिल्दैन भनेर लेखिपठाए। चिनियाँ टाउताहि्रन अम्बा नेपाल आउने कुरा चले पनि निधो भइसकेको थिएन। महाराजले रेजिडेन्ट जेम्यानर्स स्मिथलाई उनी साँच्चै आउने भए भने पछि सल्लाह गरौंला भनेका थिए। यी नयाँ रेजिडेन्टले चिनियाँ प्रतिनिधिमण्डलसँग कति सौगात आउँछ, यताबाट कति पठाइन्छ भन्दै फेरि उही कुरा उठाउँदा महाराजले नेपाललाई ५/६ लाख आम्दानी हुन्छ भने। पहिलेका रेजिडेन्टलाई चाहिं ८/१० लाख आम्दानी हुने कहेका थिए। यहाँबाट पठाउने सौगात चाहिं मामूली मरमसला हुन्छ भनेका थिए। यहाँ आम्दानीको रकममा कुरा बाझयो। उनले किन घटाएर भने हुन्, यो अन्दाजकै कुरा हो।
यताबाट थोरै मामूली माल पठाइन्छ, उताबाट प्रशस्त माल आउँछ भनेर देखाउने उद्देश्यबाटै भनिएको हुदा कुरा बाझेको होला। यताबाट पठाइने माल–सामानको सूची हिमाल को अघिल्ला अंकमा आइसकेको छ। उताबाट आउने मालसामानको लगत यहाँ दिंदा स्पष्ट बुझिनेछ। चीन वादशाहले श्री ५ लाई दिइपठाएको सामानको फेहरिस्त :
पासित्वान् भन्ने मुर्वेन कुचिन थान २४ (आस्मीनी रङ्गको २३ मासरङ्गको १), क्षोनत्वान् भन्ने नर्बुक्ष्यायधुई कुचिन थान ४। स्यामत्वान् भन्ने कलेजी मानफौ थान ४। माचित्वान् भन्ने मानफौ थान ४। चित्वान् भन्ने असल नर्बुक्ष्याय थान ४। तासका विछ्याउना मखमल थान ८। तारु भन्ने मखमल थान ४। चाँदीका टाँक ३०, काहु भन्ने तुम्बी २। चादी टाँक २० को बिर्को समेत भएको कयु भन्ने रिकापी २। फलासी भनेको काठको सिपी जडेको रिकापी २। ऐनाको चीज भनेको काँचको रिकापी जस्तो फुलदान २। कैलो काँचको कचौरा ४। दूध हाल्ने काँचको पहेलो कचौरा ४। सेतो सिंगिसन ३ ठाउँ जडेको काठको रुई १। यान्तीको चीज भनेको सेतो सिंगिसनको चकी २। थौतुं भनेका माला २। स्नाउछीको चीज भनेको भित्र चाँदीका पाता भएको स्नाउछीको कयो २। मनिहो भनेको हकीबका बुटा काटेको माला २। निगालाका चीज भनेको ताँवाका धुपौरा २। ठूला थैली जोर २। साना थैली जोर २। चियाकलस ८। सछी भनेका काँचका रिकापी साना ठूला २। काजीलाई रङ्गरङ्गका कुचिन मुठा १५। तारटेन मखमल मुठा ५। काँचका रिकापी २, कयो ४, सुराही १, आह्री १, फुलदान ४, चिया कलस ९, नसदानी १, चाँदी टाँक एक सय (१ टाँक बराबर ४ तोला जति) सरदारलाई पनि केही घटी गरी यही सामान दिइयो।
सरदार सुवेदार जमदारहरूलाई ६०।४०।३० का दरले चाँदी टाँक र अरू सामान पनि केही घटी गरी दिइयो।
सिपाही नोकरहरूलाई पातलो टापु ६ मुठाका र चादी टाँक २० का दरले। काजी सरदारलाई दुई दुई वटा कल्की पनि दिइयो।
यो विवरण अन्तिम प्रतिनिधिमण्डलको हो। शुरूताकाको भन्दा अलि फरक देखिन्छ। जस्तो, यताबाट १०९ दानाको माला पठाएको थियो। उताबाट बादशाहले राजालाई यूँको माला पठाउँथे, यो सूचीमा यूँको माला छैन। साविक नछाड्ने चिनियाँले यहाँ किन फरक गरे? प्रतिनिधिमण्डल फर्कने वेलामा पेचिनमा बादशाहको जन्मोत्सव परेको थियो, जन्मोत्सवको ठूलो महोत्सव भयो। भोज लाग्यो। बादशाहको दर्शन गर्न काजी सरदारहरूलाई जन्मोत्सवको उपहार भनी तास कुचिन रेसम कपडाका मुठा र बुट्टेदार फुलदानी जस्ता सजावटका सामान पनि दिइएको थियो। बाटामा सुरक्षाको लागि भनेर ४ नाल बन्दूक, ४ संगीन, ४ मार्तोल र ८०० कार्तोस समेत दिइएको थियो।
यताबाट जाँदा पनि भोटमा काजी लामा र चीनमा ठाउँठाउँमा रहेका फाफुन, चुन्दु, ताले अफिसरहरूलाई पनि केही कोसेली दिंदै आएका थिए। फर्केर आउँदा काजी सरदारहरू प्रत्येकलाई उनीहरूले पनि विदाइ खर्च उपहार दिन्थे। खानामा पीठो, चामल, मासुका लागि भेडा, चरा बासैपिच्छे दिइन्थ्यो। त्यसबेला रेलबाट पेचिनबाट एकै दिन तानचीन आइपुगेर तीन दिन बसे। चाहिंदो चामल, पीठो, नून–तेल, चाकु, २१ भेडा, १४ हाँस, कुखुरा अरू सागपात तरकारी चाहिंदो दिइयो। चुन्दुले ४५ जनाको प्रतिनिधिमण्डललाई दर्जा अनुसार बाँडेर दिन ३२२ चाँदी टाँक दिए– काजी, सरदारलाई सय–सय, सुवेदारलाई पाँच–पाँच, जमदारलाई चार–चार र सिपाहीलाई दुई–दुईका दरले।
रेलबाट तातेफू आइपुग्दा तालेबाट ५४०० टाँक दस्तुर पाएका थिए। त्यो पनि दर्जा अनुसारै बाँडियो। तातेफूबाट कुनस्याम आउँदा सिधा दस्तुरदेखि सबै हिसाब गरेर ४१२६ टाँक पाए। चुन्दु बसेका फू (शहर) मा यसरी नै सिधा दस्तुर दिइन्थ्यो। ठिन्दफू तार्चिनदेउको सिधा दस्तुरको उल्लेख छैन। अरू खुद्रा पैसा पनि धेरै दिइएको देखिन्छ, तर त्यसको भाउ के थियो, थाहा हुँदैन। लिथाममा आएपछि १४५० सिधा दस्तुर दिएको देखिन्छ। त्यसपछि चिनियाँ इलाका सकिन्छ। त्यहाँ केही ठाउँमा नियमित दस्तुर दिइएन। एकपल्ट मात्र चिनियाँतर्फको भनी एकैचोटि ४५५७ भोटे मोहर दिएको देखिन्छ।
यङ्गहज्वैण्डको अभियानताकै दलाइ लामा भागेर चीनतिर गएका थिए। ऊ नआउन्जेल प्रतिनिधिमण्डल ल्हासामै बस्यो, भोटकै सातुसामल खाएर। ल्हासादेखि दिगर्चासम्मको चिनियाँतर्फका सिधा दस्तुर फाफूनका हातबाट एकै चोटि ३७२० कालामोहर काजी सरदारले पाए। दिगर्चादेखि केरुङ्गसम्मको सिधा दस्तुर वापत चीनतर्फको ४७६० भोटेमोहर पाएका थिए। मैले प्रतिनिधिमण्डलको आम्दानी देखाउन यो मोटामोटी हिसाब गरेको हो। त्ससबेलाको टाँकको कालामोहरको जिन्सी सामानको सुनचाँदीको मूल्य हिसाब गरेर गणितज्ञले नै यथार्थ निकाल्न सक्छ– ५/६ लाख आम्दानी हुन्थ्यो वा ८/९ लाख निर्क्योल गर्न।
चीनमा प्रतिनिधि पठाउने सम्बन्धमा रेजिडेन्टले असहमति जनाउँदा पनि महाराजले पहिले जस्तै प्रत्युत्तर दिएका छन्, आम्दानी घटाएर। त्यो परम्परा छोड्यै भने भोटले हेप्छ, चीन नाखुश हुन्छ, त्यसको परिणाम नेपाललाई भोटले वर्षेनि तिर्दै आएको १० हजार सिर्तो तिर्न पनि छोड्छ, नेपालका ३२ कोठी महाजनको त्यति ठूलो बेपार चलिरहेको छ, त्यसमा बाधा पर्न सक्छ, त्यस कारणले चीन सम्बन्धलाई नेपालले कायम गरिराख्नुपर्छ भन्ने महाराजको भनाइ हुन्थ्यो। साविकको परम्परा टुटाउनु हुँदैहुँदैन, झ्गडा गर्दा झ्न् ठूलो हानिनोक्सानी हुन आउँछ। महाराज चन्द्रशमशेरले सं. १९६४ वैशाखमा रेजिडेन्ट जेम्यानर्स स्मिथसँग यो वार्ता गरेका थिए।
भैरवबहादुरको प्रतिनिधिमण्डल फर्केपछि चीनका बादशाह क्यानस्युई परलोक भए। यो प्रतिनिधिमण्डल १९६३ श्रावण २६ गते काठमाडौंबाट प्रस्थान गरेर १९६५ वैशाख ४ गते पेचिन पुग्यो। पेचिनमा पाँच महीना जति बसेर १९६५ भाद्र २७ गते बिदा भएको प्रतिनिधिमण्डल १९६५ चैत्र ४ मा पुरानो भोट–चीन सीमाना तार्चिन देउ आइपुग्यो। दुई महीना जति त्यहीं बसेर १९६६ भाद्र २६ मा ल्हासा आइपुग्यो। ल्हासाबाट भागेर चीन गएका दलाइ लामा फर्केर नआउञ्जेल त्यहीं बस्यो। दलाइ लामा आएपछि भेटघाट गरेर ४ महीना भोट बसेको सो प्रतिनिधिमण्डल १९६६ चैत्र १८ गते बालाजु आइपुग्यो। यसको करीब दुई वर्षपछि चीनमा बादशाही शासन समाप्त भएर च्याङ्गकाइसेकको नेतृत्वमा प्रजातान्त्रिक शासन प्रारम्भ भयो। अब प्रतिनिधिमण्डल जानै परेन, ब्रिटिशको कन्कन् पनि हरायो।
भोट–चीनतर्फका कुरा
सन् १९०७ अप्रेलको २० तारिख मुताविक ६४ साल मिति वैशाख ८ गते रोज ७ का दीन रजीडन्ट मेजर जेम्यानर्स इस्मीथ साहेवबहादुरले आज महाराजसंग येकपल्ट भेट गर्नालाई ४ बजे आउनेछु भन्या खवर पठाई दिया र सो टाइम्मा सींहदर्वारमा आई भेट मुलाकात गरी कुरा कहानी गरेको …
खेराफीयतको कुरा भैसकेपछि
रजि– तपायींबाट अघी पठाउनु भयाको ल्हासा वकीलबाट आयाको भोट अक्षरको कागजहरू फीर्ता ल्यायाको छ अरुको तर्जुमा माग्नु भयाको रहेनछ र त्यस्को छैन त्यो चाहिने हुनाले हो की
श्री ३– हाम्रा ल्हासाका वकीलले भोटे अक्षरको कागजहरू कसै कसैको हाम्रो बोलीमा तर्जुमा गरी पठायाको हुंछ. सो तर्जुमा आयाको चाहीको अंज्रेजी तर्जुमा मागेको छैन.
रजि– टाउताहि्रन नेपाल् यकपल्ट जानाको इच्छा छ भन्या कुरा गरेको बीसयेमा हाल् केही कुरा सुनीयाको छैन चीनीयांहरूले वकीलसंग दाम् सापटी माग्यो भन्या कुरामा पनी पछी केही सुनीयेन.
श्री ३– सो विसयेमा अघीदेखी आयाको तपायींलाई खवर दीयाको छु. तेसपछी केही लेखी आयाको छैन. आयाको भया तपायींलाई थाहा दिन्थै दिये. दाम् सापटीको कुरालाई र सो सापट दिन ठीक् पर्दैन भन्या बेहोराको जवाव वकीललाई लेखी पठायाको छु. टांगताहि्रन यांहा आउने कुरा उठ्यो भने सो खवर तपायींलाई दी तपायींको राये ली जो कुरा गर्नु मुनासीव होला गरुंला.
(यहाँ रेजिडेन्टको भनाइ छुटेको छ, पहिलेकाले जस्तै यिनले चीन वादशाहमा यो प्रतिनिधिमण्डल पठाउने कुरामै असहमति जनाएको हुनुपर्छ)
रजि– (यो बोली श्री ३ कै हो) हाम्रो मीसन् चीन्मा जाने गरेको अघी हाम्रो र चीन्का बीचमा लडाई परी लडाईको आखीर भयाको बंदोवस्त हुनाले यस्मा अघी अघी पोलिटिक्याल् तवरको थीयो. अब ता यो पोलिटिक्याल् नाही की कमर्सीयाल जस्तो भै सकेको छ. हाम्रो यसबाट ५।५ वर्षमा चीन् जांदा ५।६ लाख रुपैया आम्दानी हुंछ येक् त्यो सही कुराले पनी आम्दानी हुने कलम् छ. दोस्रो सो मीसन् नगया भोट् मुलुक चीन्को अधीन हुनाले चीनीयाहरूले हाम्रो ल्हासामा रहेका वकीललाई नीकाली दिया भया (न्या) हामीलाई नराम्रो पर्ने र भोटमा हाम्रो धेरै तह्रको इंटरेष्ट छ सो इटरेष्टसमेतलाई धक्का दीने हुंछ फेरी भोटेले हामीलाई साल्को १० हजार कर तीर्नुपर्छ. सो पनी गुम्न जाने सम्भव हुंछ सो कुराहरूको नोक्सानी हुन लाग्यो भने हामी नलडी सुख नपाउने हुंछौ लडी आफ्नु हक् र रवाफ थामनु पर्ने हुन जांछ
रजि– हो यो कुरा बहुतै डेलीकेट् छ. भोटले १० हजार साल वसालै तिर्दैछ की अघी सन् १९९२ (सन् १८९२ हुनुपर्छ) तीर सर वीरको पालामा यांहाबाट १६ लाख रुपैयां भोट्मा गयाको छ भंया जनरल वाल्लीले लेखेका रहेछ. त्यो दाम क्या को दाम् हो. गयाको हो की…
श्री ३– तेस्तो दाम् गया झै लाग्दैन. गयाको भया मलाई अवस्य संझना हुनुपर्ने हो (भंया हुकुम् भैसकेपछि) हो सम्झें दाम् भने यती भने याद रहेन. सर वीरको पालामा यांहा ज्मा रहेको भोटे मोहर यांहा नचल्ने भै तेसै पडीरहेको थीयो र सो रुपैया भोट्मा पठाइ दीनु भयाको हो.