ब्लगआइतबार, साउन २, २०७३

ज्यानमारा निमोनिया

डा. सुमनराज ताम्राकार

अमेरिकाजस्तो विकसित देशमा पनि निमोनिया र इन्फ्लुएन्जालाई वयस्कहरूको मृत्युको आठौं प्रमुख कारण मानिन्छ।

pneumoniaश्वास–प्रश्वास प्रणालीको माथिल्लो भागको संक्रमण रुघाखोकीको हो भने यसको तल्लो भाग अर्थात् फोक्सोको संक्रमणलाई निमोनिया भनिन्छ। निमोनिया फोक्सोको कुनै एक खण्ड वा एकातिरको भागमा मात्र पनि हुनसक्छ। एचआईभी, क्यान्सरलगायतका दीर्घ रोगीहरूमा भने शारीरिक प्रतिरक्षा प्रणाली नाजुक हुँदा फोक्सोको दुवैतर्फ निमोनिया हुनसक्छ।

सबै उमेर समूहका व्यक्तिलाई निमोनिया हुनसक्छ। संक्रमितमध्ये आधाजसो निमोनिया भाइरसका कारणले हुन्छ। व्याक्टेरियाजन्य निमोनिया भाइरल निमोनियाभन्दा बढी जोखिमपूर्ण हुन्छ। वास्तवमा निमोनिया खतरनाक संक्रमण हो। अमेरिकामै पनि वर्षेनि करीब दुई लाख मानिसमा न्यूमोकोकल निमोनिया हुन्छ। त्यसमध्ये ५ देखि ७ प्रतिशतको मृत्यु हुने गरेको छ।

६५ वर्षभन्दा माथिका, दुई वर्ष मुनिका, अन्य स्वास्थ्य समस्या भएका, धूम्रपान–मद्यपान गर्ने, एचआईभी एड्स संक्रमित, मधुमेह भएका, कलेजोका रोगी, ग्यास्ट्राइटिसको औषधि सेवन गरेका, रुघाखोकी वा इन्फ्लुएन्जाबाट भर्खरै तङ्ग्रिएका, सघन उपचार गरेका, मस्तिष्कघात तथा हृदयघात भएका, वायु वा रासायनिक प्रदूषणबाट ग्रसित आदि व्यक्ति निमोनियाको उच्च जोखिममा हुन्छन्। मुख्यतः व्याक्टेरिया र भाइरसबाट हुने निमोनिया फंगस र दूषित पानीबाट पनि हुनसक्छ। स्ट्रेप्टोकोकल निमोनी निमोनिया गराउने प्रमुख व्याक्टेरिया हो।

एडेनोभाइरस, राइनोभाइरस, एन्फ्लुएन्जा, पाराइन्फ्लुएन्जा निमोनिया गराउने अरू भाइरसहरू हुन्। गत वर्षहरूमा महामारीकै रूपमा फैलिएका बर्डफ्लू, स्वाइनफ्लू र सार्सको समस्या पनि गम्भीर खालको निमोनिया नै हो। त्यस्तै, एचआईभी संक्रमण (एड्स) बाट हुने मृत्युको उल्लेख्य संख्यामा फोक्सोको संक्रमण पाइने गरेको छ।

कारण र उपचार
हामीले लिएको हावा बाह्य श्वासनली हुँदै फोक्सोभित्रका स–साना वायुथैलीसम्म पुग्छ। त्यस श्वासमार्फत भित्र पुगेका संक्रामक जीवाणुले वायुथैलीको सुजन गराउँछ। शारीरिक प्रतिरक्षा प्रणाली अन्तर्गत त्यो हानिकारक तत्वलाई नष्ट गर्न रगतमा रहेका श्वेत रक्तकण सक्रिय हुँदा वायुथैलीहरूमा पीप लगायतका श्राव बन्छ र त्यस्तो पीपयुक्त वायुथैलीले अक्सिजन तथा कार्बनडाइअक्साइडको ‘फ्लो’ गराउन सक्दैन अनि निमोनिया हुन्छ।

रुघाखोकीमा जस्तै निमोनियामा उच्च ज्वरो आउने, खोकी लाग्ने, खैरो वा हरियो खकार आउने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने, धड्कन बढ्ने, आलस्य हुने, उल्टी हुने, पखाला लाग्ने, पसिना आउने, टाउको दुख्ने, मांसपेशीमा पीडा हुने हुन्छ। त्यसबाहेक कामज्वरो छुट्नु, पसिना आउनु, श्वास बढ्नु, नाडीको चाल बढ्नु, अक्सिजनको कमीले ओठ र नङ नीलो हुनु व्याक्टेरियाजन्य निमोनियाको लक्षण हो।

शारीरिक जाँच, छातीको एक्सरे, सिटीस्क्यान, खकार र रगतको साधारण तथा कल्चर जाँच, ब्रोङ्कोस्कोपी र धमनीबाट निकालिएको रगतमा अक्सिजनको मात्रा जाँचेर निमोनियाको निदान तथा अवस्था ठम्याउन सकिन्छ। निमोनियाको प्रकार र अवस्था अनुसार उपचार गरिन्छ। कारक जीवाणु अनुसार औषधि चलाइन्छ। निमोनियाका बिरामीले सकुन्जेल झोल खानेकुरा खानुपर्छ। खानै नसक्ने अवस्था छ भने स्लाइन पानी र पोषण चलाउनुपर्छ। अवस्था अनुसार, नाकबाट अक्सिजनको व्यवस्था मिलाउनुपर्छ।

खकारमा रगत देखा परे, खैरो वा हरियो खकार आए, सास फेर्न गाह्रो भए, छाती दुखे, छिटो–छिटो सास फेर्नु परे, राति पसिना आए, नजानिंदो तवरले तौल घटे वा कामज्वरो आए तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ। निमोनिया उपचारको क्रममा निश्चित अन्तरालमा एन्टिबायोटिक औषधि सेवन गर्ने एवं कोर्ष पनि पूरा गर्नुपर्छ। चिकित्सकको परामर्श बेगर एन्टिबायोटिक औषधि खाने विचारसम्म गर्नुहुँदैन।

खोकीले फोक्सोभित्र जम्मा भएको खकार निकाल्न मद्दत गर्ने हुनाले भरसक खोकी दबाउने औषधि खानुहुँदैन। उपयुक्त औषधोपचार भए निमोनियाबाट दुई हप्तामै तङ्ग्रिन सकिन्छ। उमेर ढल्केका, शारीरिक प्रतिरक्षा प्रणाली कमजोर भएका, मधुमेह एवं कलेजोका रोगीलाई भने बढ्ता समय लाग्न सक्छ। निमोनिया भएको शरीरलाई प्रशस्त आराम चाहिन्छ।

तातोपानीको बाफ लिनु, कोठा न्यानो राख्नु, घण्टैपिच्छे तीन–चार चोटि लामो सास लिने–छोड्ने अभ्यास गर्नु, दैनिक चार पटकसम्म छातीभन्दा तल झ्ुकाएर टाउको थप्थपाउनु निमोनियाको घरेलु उपचार हो।

निमोनियाबाट टाढा रहन चाहिं खाना पकाउनु अघि, खाना खानु अघिपछि, चर्पीको प्रयोगैपिच्छे, बच्चाको डायपर फेरिदिएपछि, जीर्ण रोगीको सम्पर्कमा आएपछि साबुनले राम्ररी हात धुनुपर्छ। साथै, बाहिर निस्कँदा मास्क लगाउने, रुमाल वा टिस्यू पेपरले नाक–मुख पुछ्ने गर्नुपर्छ। धूम्रपान–मद्यपान गर्नुहुँदैन। निमोनिया रोकथामको लागि दुई खालको खोप पनि उपलब्ध छ।

बालबालिकालाई निमोनिया
बालबालिकामा शुरू भएको साधारण रुघाखोकीले नै श्वासप्रश्वासको समस्या वा संक्रमण गराई निमोनिया गराउँछ। पाँच वर्षभन्दा मुनिका बालबालिकाको लागि यो अवस्था जटिल बन्न सक्छ। नेपालमा झाडापखालाले जस्तै निमोनियाले पनि उल्लेख्य संख्याका बालबच्चालाई अकालमा मृत्यु गराइरहेको छ।

रुघाखोकी बाहेक दादुरा, भ्यागुते रोग, लहरेखोकी, दम, क्षयरोगलगायतका समस्याबाट ग्रसित बालबालिकामा निमोनिया हुन कत्ति पनि बेर लाग्दैन।

रुघाखोकी लाग्दा जस्तै छिटो–छिटो सास फेर्ने, घ्यार–घ्यार गर्ने, मुख, हातखुट्टा नीलो हुने, दूध नचुस्ने, बान्ता गर्ने, धेरै ज्वरो आउने, खकार आउने, शिथिल हुने भयो भने बच्चालाई निमोनिया भएको मानेर उपचारका उपाय खोज्नुपर्छ। रुघाखोकी बिग्रिएर वा बल्झिएर निमोनिया हुँदा एन्टिबायोटिक चाहिन सक्छ।

निमोनिया भएका बालबच्चालाई घरमा झोलिलो खानेकुरा बढ्ता खुवाउने, न्यानो राख्ने, चिल्लो खाद्य पदार्थ नदिने, नाक सफा गरिदिने, नून, अदुवा, कागती मिसाएको पानी खुवाउनुपर्छ। ज्वरोका लागि उमेर अनुसार मात्रा मिलाएर सिटामोल खुवाउनुपर्छ। एक वर्ष मुनिकालाई विशेषतः आमाको दूध खुवाइराख्नुपर्छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>