समाचारआइतबार, साउन २, २०७३
बहुभाषिक विद्यालय: थला परेको योजना
सरकारी उदासीनताका कारण प्रारम्भमै प्रभावकारी नतीजा देखाएको बहुभाषिक शिक्षा परियोजना नराम्ररी थला परेको छ।
नौ वर्षअघि राना थारू भाषामा पठनपाठन शुरू गरिंदा कञ्चनपुरको देखतभुली गाविस–८ बिचपट्टीस्थित राष्ट्रिय निम्न माध्यमिक विद्यालयमा एकाएक खुशी छाएको थियो। विद्यार्थी ह्वात्तै बढेका थिए। ३ कक्षासम्मको यो विद्यालयमा कक्षा थप गर्न सकिने सम्भावना पलाएको थियो। तर, अहिले यी सबै निराशामा बदलिएको छ।
फिनल्याण्डको सहयोगमा २०६४ सालदेखि सरकारले बहुभाषिक शिक्षा/नमूना परियोजना अन्तर्गत राना थारू भाषामा पढाउन शुरू गरेको थियो। तर, सरकारले ‘नमूना परियोजना’ का रूपमा थालेको यो परियोजना दाताको सहयोग सकिएसँगै थला परेको छ। पाठ्यक्रम र पाठ्यसामग्री अभावमा राना थारू भाषामा पढाइने जिल्लाका बैजनाथ निमावि, स्वतन्त्र मावि, शिवशंकर प्रावि र पञ्चकृत बैजनाथ माविको समस्या पनि उस्तै छ। विद्यालयहरूका लागि बहुभाषा कक्षा ‘घाँडो’ बनेको छ।
पुस्तकविनाको पढाइ
बहुभाषिक शिक्षा सञ्चालनका लागि शिक्षा विभागले ३ कक्षासम्मका शिक्षकहरूलाई पाठ्यक्रम र पाठ्यसामग्री निर्माणको प्रशिक्षण दिएको थियो। व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकलाई समेत यसबारे तालीम दिइएको थियो। “राना थारूका पाठ्यक्रम, पाठ्यपुस्तक तथा अन्य सामग्री हाम्रै विद्यालयबाट तयार गरिएको हो”, राष्ट्रिय निमाविका छविलाल जोशी भन्छन्, “अन्य विद्यालयले हाम्रै सिको गरेका थिए।”
नेपाली र अंग्रेजीबाहेक सबै विषय मातृभाषामै पढाइने गरिएका कारण बहुभाषिक शिक्षा थालिएसँगै विद्यालयमा विद्यार्थी बढेका थिए। २०६४ साल अघिसम्म कक्षा तीनसम्म मुश्किलले ९० जनाजति विद्यार्थी भर्ना भएको राष्ट्रिय निमाविमा २०६८ सालमा त १ कक्षामै ९० जना विद्यार्थी पुगेका थिए।
बहुभाषा शिक्षा सञ्चालन गरेपछि नै विद्यालय प्राविबाट निमावि बनेको थियो। स्वतन्त्र मावि, पर्सियामा पनि बहुभाषिक कक्षाकै कारण विद्यार्थी आकर्षित भएका थिए। “१ कक्षामै ४२ जना विद्यार्थी पुगेका थिए, अहिले २१ जना मात्र छन्”, प्रधानाध्यापक लोकबहादुर बडायक भन्छन्।
नेपाली नबुझेकै कारण विद्यालय भर्ना नहुने र पढाइ छाड्नेहरूका लागि बहुभाषिक शिक्षा गजबको समाधान सूत्र बनेको थियो। नेपाली भाषा नबुझेर दिक्क मान्दै स्कूल छाड्नेहरू फेरि पढ्न थालेका थिए। “कक्षामा केही नबोल्नेहरू पनि राना थारू भाषामा पठनपाठन हुन थालेपछि रमाएर बोल्न थालेका थिए”, राष्ट्रिय निमाविकी शिक्षिका अनिता राना भन्छिन्।
२०६६ सालपछि दाताको सहयोग बन्द भएपछि परियोजना ओरालो लाग्न थाल्यो। बहुभाषिक शिक्षा नियमित गर्न जिल्ला शिक्षा कार्यालयले विद्यालयलाई वार्षिक रु.१५ हजार दिंदै आएको छ। तर, यति रकम पुस्तक छपाउनै पुग्दैन। अधिकांश विद्यार्थी शिक्षकसँग भएको पुस्तकको पाण्डुलिपि हेरेरै चित्त बुझाउन बाध्य छन्।
“अरू विद्यालयमा किताब पाइन्छ, हाम्रोमा चाहिं किन कालोपाटीबाट सार्नु भन्छन्”, शिक्षिका राना भन्छिन्, “अभिभावक पनि किताबै नहुने विद्यालयमा छोराछोरी किन राख्ने भन्दै निकाल्न थालेका छन्।” भएका विद्यार्थीले पनि पढ्न झ्न्झ्ट मान्ने गरेको उनको अनुभव छ।
राष्ट्रिय निमाविबाटै पाठ्यपुस्तक ल्याएर पढाइरहेका बाँकी चार विद्यालयमा पनि पुस्तकको संकट छ। “राना थारू भाषा बुझेका शिक्षकहरूले नेपाली किताबबाटै उल्था गरेर पढाइरहेका छन्”, स्वतन्त्र माविका प्रअ बडायक भन्छन्। तत्काल पुस्तक उपलब्ध नगराउने हो भने बहुभाषिक कक्षा बन्द गर्नुको विकल्प नभएको उनी बताउँछन्।
२०६९ सालमा राना थारू भाषामा पढाइ शुरू गर्दा विद्यार्थी बढेको कसुवास्थित शिवशंकर प्रावि पनि अहिले पढाइ बन्द गर्ने अवस्थामा पुगेको छ। पढाइ थालेको शुरूको वर्ष मात्र कक्षा १ र २ को पुस्तक र पाठ्यसामग्री पाएको यो विद्यालयका विद्यार्थीले कक्षा ३ को पुस्तक भने यो वर्ष मात्रै देखेका हुन्। “किताब र पाठ्यसामग्री नै नभए कसरी पढाउने?” प्रअ इन्द्रा रानाको गुनासो छ, “अर्को वर्षदेखि बहुभाषिक शिक्षा बन्द गर्नेबारे सोच्दैछौं” उनी भन्छिन्।
त्यसो त जिल्ला शिक्षा कार्यालयलाई पनि यी बहुभाषिक विद्यालयले भोगिरहेका समस्या थाहा नभएको होइन। तर, जिल्ला शिक्षा अधिकारी श्यामसिंह धामी तत्काल केही गर्न सक्ने अवस्था नै नरहेको बताउँछन्। “माथिबाट आउने बजेट यत्ति नै हो, अहिले थप गर्न सकिने देखिंदैन” धामी भन्छन्।
बच्चु बिक