समाचारआइतबार, साउन २, २०७३
गगन थापाले भने, “डा केसीका मागबारे संसद चुप बस्दैन”
नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् सांसद गगन थापाले अनशनरत डा गोविन्द केसीको विग्रँदो स्वास्थ्य अवस्थालाई ध्यानमा राखी उनका मागहरु बारे यथाशिघ्र संसदमा छलफल हुनुपर्ने बताएका छन् ।
हिजोमात्रै अमेरिकाबाट स्वदेश फर्किएका सांसद थापाले आज दिउँसो डा केसीलाई भेट गरी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।
“उहाँको स्वास्थ्य अवस्था नाजुक बन्दैछ, मैले धेरै कुरा गर्न पनि सकिन,” हिमालखबरसँग कुरा गर्दै सांसद थापाले भने, “तर उहाँले उठाएका मागहरु संसदसँगै सम्बन्धित मागहरु हुन् र व्यवस्थापिका संसदले पनि यसबारे अनभिज्ञता प्रकट गर्ने ठाउँ छैन ।”
डा केसीका मागहरु सबै पूरानै भएका र ति मागहरु बारे संसदमा छलफल भइसकेकाले पनि संसद चुप लागेर बस्ने अवस्था नरहेको उनले बताए ।
“चिकित्साशास्त्र अध्ययन् सम्वन्धी ऐन होस वा संवैधानिक निकायका प्रमुखबारेको माग होस ती सबैबारे छलफल गर्ने ठाउँ संसद नै हो,” थापाले भने, “अघिल्लो संसदमा हालका परराष्ट्रमन्त्री कमल थापाले समेत उक्त विषय उठाउनु भएकै हो, अहिले चुप बस्न मिल्दैन ।”
संसद बैठक अब ६ गतेका लागि बोलाइएको र उक्त बैठकमा अविश्वास प्रस्तावबारे छलफल हुने भएकाले केसीका मागहरु ओझेलमा पर्ने त होइनन् भन्ने जिज्ञासामा थापाले भने, “यसबारेमा समितिहरुमा छलफल गरेर, शीर्ष नेता र दलहरुबीच छलफल गरी एउटा समझदारी बनाएर अगाडि बढ्न सकिन्छ, सभामुखले संसद बैठक नै चाँडै बोलाउन सक्नुहुन्छ ।”
उनले डा केसीका मागहरु बारे संसदमा छलफलका लागि अरु विषयहरु अवरोध बन्न नसक्ने पनि बताए । “यतीबेला सबैभन्दा महत्वपूर्ण केसी सरको स्वास्थ्य हो, त्यसैले हामीसँग धेरै समय छैन,” थापाले भने ।
उनले आफू हिजोमात्रै स्वदेश आइपुगेकाले पनि ‘अहिलेसम्मको डेभलपमेन्ट’ थाहा नभएको र चाँडै सबैसँग छलफल गरी अगाडिको बाटो तय गरिने बताएका छन् ।