Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बडा दिलका तिल - Himalkhabar.com

समाचारसोमबार, साउन ३, २०७३

बडा दिलका तिल

हिमालखबर

बालबालिकाहरुसँग तिलबहादुर कार्की । तस्वीर: सन्त गाहा मगर

बालबालिकाहरुसँग तिलबहादुर कार्की । सबै तस्वीर: सन्त गाहा मगर

साढे दुई दशक पशुपति–बौद्ध क्षेत्रमा मागेर गुजारा गरेका तिलबहादुर कार्की अहिले आर्थिक अभावको बीचमा ४० बालबालिकाको अभिभावकत्व ग्रहण गरिरहेका छन् ।

काठमाडौंको गोकर्णेश्वर मन्दिरबाट सुन्दरीजलतर्फ करीब आधा किलोमिटर अगाडि बढेर बायाँ लागेपछि टिनको चारकोठे टहरो देखिन्छ । टाढाबाट स्कूलजस्तो देखिने यो टहरो ४० बालबालिका र तिनका ‘बुबा’ तिलबहादुर कार्की (४४) को निर्माणाधीन निवास हो । यी बालबालिका नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थी हुन् भने तिलबहादुर उनीहरूका एक्लो सहारा ।

विविध कारणले बेसहारा बनेका बालबालिकालाई उनले संरक्षण दिएको ९ वर्ष भयो । उनीहरू गोकर्णस्थित भीमदेव प्रावि, गोकर्ण मावि र हात्तिगौंडास्थित ट्रङग्राम इन्टरनेसनल एकेडमीमा पढीरहेका छन् । यसअघि उनीहरु हात्तीगौंडास्थित गणेश मावि र चुनीखेलको नलिनी माविमा पढेका थिए ।

उनीहरूमध्ये कतिका आमाबाबु कारागारमा छन्, कतिका बाबुआमा शारीरिक अपाङ्गताका कारण कमजोर छन्, कतिपयको द्वन्द्व र भूकम्प पीडित छन् भने कतिपयको आमाबाबु छैनन् । उनीहरूको लागि अहिलेलाई आमाबाबु/अभिभावक जे भने पनि तिलबहादुर नै बनेका छन् ।

Til Bahadur Karki (1)आफ्नै कथा जिन्दगीको …
आज समाजका प्रेरक व्यक्तित्व बनेका तिलबहादुर कार्की आफैं परित्यक्त, एक्ला, कठोर र अनौठा जीवनको भुक्तभोगी हुन् । २०२९ सालमा सरलाङ–४, पाँचथरमा जन्मेका तिलबहादुरको दुवै खुट्टाको पैताला सद्दै छैनन् ।

त्यही शारीरिक वनावटले उनलाई नौ वर्षको उमेरमा आमालाई समेत छाडेर हिंड्न बाध्य बनायो । “आफन्तहरूले आमालाई राक्षस जन्माइस् भनेको सुन्थें”, उनी भन्छन्, “मेरो अपाङ्गता आमा सधैं रुनुपर्ने कारण बनेपछि भाग्ने अठोट गरें ।”

कक्षामा साथीहरूले हैरान पारीपछि उनी दुई दिन भन्दा बढी विद्यालय पनि जान सकिरहेका थिएनन् । अनि उनले २०३८ मंसिरमा सुटुक्क घर छाडे । त्यसको साता दिनमा बसको छतमा बसेर काठमाडौं पसेका उनले पेटको ज्वाला निभाउन बानेश्वरको एउटा होटलमा हात कुहिने गरी भाँडा माझे ।

एक दिन होटलमा आएका ग्राहकले उनलाई बालस्याहार केन्द्रमा जान सुझाए । ती ग्राहकले दिएको ठेगाना लिएर जोरपाटीको खगेन्द्र नवजीवन केन्द्रमा पुगेको तर पालेले गेटभित्र छिर्नै नदिएपछि बौद्ध गएर माग्न बसेको तिलबहादुर सम्झ्छन् ।

बस्नलाई पाटी–सत्तल छँदै थिए । बिस्तारै उनले पशुपतिमा पनि मागेर पैसा जम्मा गर्न थाले । तर, राति आफूभन्दा ठूला साथीहरूले चोर्न थालेपछि उनले वनकालीको रूखको फेदमा पैसा गाड्न थाले । त्यो क्रम २५ वर्षसम्म चल्यो ।

२०६४ सालमा पैसा निकाल्न मन लागेपछि उनले गौशाला प्रहरीमा गएर इन्स्पेक्टर जयराम सापकोटालाई गुहारे । प्रहरी खटेर उनको पैसा निकाली नोट साटेर अलि–अलि गर्दै दिएको सापकोटा (हाल इलाका प्रहरी कार्यालय, टाँडी चितवनमा कार्यरत डीएसपी) सम्झ्न्छन् । (हे. बक्स तल)

तिलबहादुरले स–साना पोका बनाएर पाँच लाख ५१ हजार नोेट र सिक्का गाडेका रहेछन् । तीमध्येका नोटहरू ओसिएर–कुहिएर कामै नलाग्ने हुन लागेका थिए, जुन प्रहरीले निकालेर नयाँ नोट साटेर दिएको थियो । उनलाई त त्यति धेरै जम्मा भए जस्तो लागेकै थिएन । एकैचोटि त्यत्रो पैसा हुँदा उनी बेहोश भएछन् ।

उपचारको लागि टिचिङ अस्पताल बस्दा उनले धेरै कुरा सम्झिए– मानसिक ताडनाबाट मुक्ति पाउन सानैमा आत्महत्याको प्रयास गरेको पनि सम्झ्एि । “अनि त्यो पैसा मैजस्तो विपत् खेपेका बालबालिकाको लागि खर्च गर्ने विचार गरें”, तिलबहादुर भन्छन्, “र, संयुक्त अपाङ्ग एकता आवाज केन्द्र स्थापना गरे ।”

त्यसरी तीन जना द्वन्द्व पीडित बालबालिकाबाट समाज सेवा थालेका पाँच वर्षमा उनको मूल धन सकियो । त्यसपछि उनले मुट्ठी अभियान चलाए, काठमाडौंका गल्लीगल्ली डुले । त्यसबेला शान्तिनगर क्षेत्रमा पाएको चामलले ठूलो भरथेग गरेको उनी बताउँछन् । त्यसरी पनि संस्था चल्यो ।

बालबालिका थपिंदै गए, तिलबहादुरको मनभित्र दबिएर बसेकी आमा सल्बलाउन थालिन् । अनि २०७१ मा पाँचथर हान्निए । तिलबहादुर घर पुग्दा उनको किरिया भएको ६ वर्ष बितिसकेको रहेछ । “मलाई पुनर्जन्म गराउन आमाले फेरि नौ दिन सुत्केरी बस्नुपर्‍यो”, तिलबहादुर भन्छन्, “उहाँ चोखिनुभएपछि मात्र मलाई घरभित्र पस्न दिइयो ।”

tilbahadur1ठाउँ बनाएको ढुंगा
तिलबहादुर कार्की पाँचथरको भीरबाट विभेदको पहिरोले ठेलेर खसाएको ढुंगा हुन्, जसले काठमाडौंमा अडिएर आफ्नो ठाउँ बनाए । अब उनको जीवनपर्यन्तको लागि बाटो स्पष्ट छ– जसलाई बालबालिकाको मुस्कानले उज्यालो पारेको छ । तर, यसमा पनि कठिनाईहरू छन् ।

गणेश माविमा तीन बालबालिकाको शुल्कको चिन्ताले उनलाई निदाउन दिएको छैन । “बाँकी ४१ हजार रुपैयाँ तिर्न नसक्दा तीन जनाको कक्षा ८ को मार्कशीट निकाल्न सकेको छैन”, तिलबहादुर भन्छन्, “तर, मैले हरेस खाएको छैन, खाँदिनँ पनि ।”

उनी कुनै उपाय निकाल्ने सुरमा छन् । पढाइ शुल्क, कापी, कलम, दाल–तरकारी, चामल, ग्याँस, औषधोपचार लगायतमा मासिक सरदर रु.२ लाख खर्च छ । शैक्षिक सत्रको शुरूमा ड्रेस, जुत्ता, झेला आदिमा एकै पटक डेढ लाखभन्दा बढी खर्च थपिन्छ ।

नियमित आम्दानी र संस्थागत दाता नभएकाले तिलबहादुरले एक किसिमले व्यक्तिहरूसँग मागेरै केन्द्रलाई टिकाएका छन् । राजेश हमाल, अन्जु पन्त लगायतका कलाकारहरूले दोहोर्‍याई तेहेर्‍याई सहयोग गरेको तिलबहादुर बताउँछन् ।

टहरो बनाउँदा पनि उनलाई कसैले ईंटा, कसैले रड, कसैले सिमेन्ट सहयोग गरेका छन् । टहरो बनाउन लाग्दा नानीहरूको पढाइ शुल्क जुटाउन नपाएको उनी बताउँछन् । टहरो बनेको ठाउँमा उनले मासिक रु.१० हजारमा ६ रोपनी जग्गा भाडामा लिएका छन् ।

यसअघि उनले बालबालिकालाई कपनमा राखेका थिए । त्यहाँ साँघुरो र फोहोर भएकोले फराकिलो खोज्दै गोकर्णेश्वर सारेका हुन् । बालबालिका बिरामी हुँदा उपचार गर्न हम्मे पर्ने हुनाले यो सब गर्नुपरेको उनी बताउँछन् ।

उनी आफैं पनि वाथ रोगबाट पीडित छन् र जाडो यामको दुई महीना केही गर्न नसक्ने अवस्थामा पुग्छन् । त्यस्तो अवस्था समेतलाई ध्यानमा राखेर उनले न्यून वेतनमा तीन जना स्टाफ राखेका छन् । “बालबालिका हुर्काउन गाह्रो छ”, तिलबहादुर भन्छन्, “तर, उनीहरूको मुस्कानमा ठूलो पारितोषिक भएकोले स्टाफहरू पनि डटेर लागेका छन् ।”

jayaram‘त्यो मान्छे महान् छ”
जयराम सापकोटा
डीएसपी, नेपाल प्रहरी

२०६४ सालमा म महानगरीय प्रहरी प्रभाव गौशालामा रहँदा एक जना आएर ‘मैले पशुपतिमा मागेर जम्मा पारेको पैसा रुखको फेदमा गाडेको छु, निकाल्न मद्दत गर्नुपर्‍यो’ भन्दै अनौठो कुरा गरे ।

उनी पाँचथरका तिलबहादुर कार्की रहेछन् । प्रहरी टोली खटाएर हेर्दा उनले प्लाष्टिकमा पैसा पोको पार्दै, गाड्ने गरेको पाइयो । हामीले खुइलिइसकेका नोट र सिक्काहरू साटेर नयाँ नोट दियौं ।

यत्रो पैसा अब के गर्ने भनेर सोध्दा उनले ‘दुःखमा परेका बालबालिका पाल्छु’ भनेका थिए । नभन्दै, पछि त्यसै गरे पनि । मैले पनि बेलाबेलामा सम्पर्क र सकेको सहयोग गर्ने गरेको छु । अहिले त बालबालिका पनि धेरै पुर्‍याइसके । ती तिलबहादुर वास्तवमै महान् देखिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>