थप समाचारसोमबार, साउन ३, २०७३
‘मनमोहनको नाम जोडेर गलत प्रचार भयो’
चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीहरुको संस्था नेपाल मेडिकल स्टुडेन्ट्स सोसाइटीले डा केसीको आन्दोलनमा नेता मनमोहन अधिकारीको नाम असान्दर्भिक तरिकाले जोडेर गलत प्रचार भइरहेको भन्दै ध्यानाकर्षण गराएको छ ।
डा केसीका मागप्रति ऐक्यवद्धता जनाउँदै आन्दोलनमा होमिएको सोसाइटीले मनमोहन अधिकारीको नाममा कुनै संस्था खोल्नुमा सोसाइटी र स्वयम् डा केसीको पनि कुनै आपत्ति नभएको भन्दै उनका नाममा महाराजगञ्ज मेडिकल क्याम्पसलाई ‘मनमोहन महाराजगञ्ज मेडिकल क्याम्पस’ नाम राखिएमा पनि सोसाइटी गौरवान्वित हुने जनाएको छ ।
“श्रद्धेय मनमोहन अधिकारी एमाले नेतामात्रै नभएर राजनेता हुनुहुन्थ्यो र उहाँजस्तो सम्माननीय व्यक्तिको नाममा संस्था खोलिनुमा डा केसीको आपत्ति नभएको र जसरी प्रचार गरिएको छ त्यो पूर्णतया गलत हो,” विज्ञप्तिमा भनिएको छ, “नामसँग हामीलाई र प्राडा केसीलाई न कुनै आपत्ति छ न कहिल्यै हुनेछ । अतः अनावश्यक राजनीतिकरण गरेर प्राडा केसीलाई अवाञ्छित लान्छना लगाइएका प्रति खेद प्रकट गर्दै चिकित्सा क्षेत्र सुधार अभियानमा निस्वार्थ भएर सहयोग गर्न हुन सम्बन्धित सबैलाई आह्वान गर्दछौं ।”