समाचारमंगलबार, साउन ४, २०७३
डा केसीका समर्थक १२ जना डाक्टर र विद्यार्थी पक्राउ
अनशनरत डा गोविन्द केसीको समर्थनमा निकालिएको जुलुशमा सहभागी १२ जना डाक्टर र विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
अनशन बसेको १० दिन पुग्दा पनि सरकारले चरम बेवास्ता गरेको भन्दै प्रधानमन्त्री निवास, बालुवाटार घेराउ गर्न गएको जुलुसमा सहभागी सागर पोखरेल, प्रशन्न कार्की, बद्री अर्याल, विशाल दाहाल, यज्ञराज अधिकारी, सुशील शाह, उपेन्द्र अधिकारी र विराटकुमार गौतमलगायत १२ जनालाई प्रहरीले बालुवाटारबाट पक्राउ गरेको हो ।
उनीहरुमध्ये ४ जना चिकित्सक र अन्य चिकित्साशास्त्रका विद्यार्थीहरु हुन् ।
डा केसीको समर्थनमा चिकित्सक, नर्स, विद्यार्थी, विभिन्न पेशा–व्यवसायमा आवद्ध व्यक्ति तथा सर्वसाधारणहरु सहभागी जुलुश शिक्षण अस्पताल महाराजगञ्जबाट प्रधानमन्त्री निवास बालुवाटर जाँदै गर्दा पवित्र वर्कशप नजिकबाट उनीहरु पक्राउ परेका हुन् ।
प्रहरीले जुलुशलाई पवित्र वर्कशप (शिवपुरी स्कुल नजिक) रोकेपछि जुलुशले केही बेर नाराबाजी गरेकाे थियो । प्रहरी घेरा तोडेर अगाडि बढ्न खोज्नेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ ।
दश दिनदेखि अनशनमा रहेका डा केसीको यो आठौं पटकको आमरण अनशन हो । यसअघिका अनशनमा सरकारले केसीका मागहरु पूरा गर्ने सहमति गरे पनि कार्यान्वयन नहुँदा उनी बारम्बार अनशन बस्नु परेको हो ।
डा केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
