समाचारबुधबार, साउन ५, २०७३
‘अविश्वास प्रस्ताव’ होइन ‘ईर्ष्या प्रस्ताव’ होः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको लोकप्रियताबाट चिन्तित भएर कांग्रेस र माओवादीले व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्ताव ल्याएको बताएका छन् ।
नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को छैटौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आर्थिक विधेयक पारित हुने निर्णायक बिन्दुमा पुगेका बेला उक्त कार्यसूची गायब बनाउने काम भएको पनि टिप्पणी गरे ।
उनले भने, “संसद् मनपरि गर्ने ठाउँ होइन, राज्य चलाउन र कर उठाउन आवश्यक पर्ने विधेयक पारित गर्नु नपर्ने, खाली सरकार मात्र फेरेर पुग्ने ?”
प्रधानमन्त्री ओलीले उक्त विधेयकको कार्यसूची कहाँ गयो भनेर बिहीबारबाट हुने संसद्मा खोजिने भन्दै बलजफ्ती गरेर अघि नबढ्न विपक्षी दलहरुलाई आग्रह गरे । संसद्मा गत असार २९ गते दर्ता भएको अविश्वास प्रस्तावमा बिहीबारबाट छलफल हुने कार्यसूची छ ।
अविश्वास प्रस्तावलाई विपक्षीको ‘ईर्ष्या प्रस्ताव र चिन्ता प्रस्ताव’ को सङ्ज्ञा दिँदै उनले सरकारले ल्याएका आत्मनिर्भरता र विकासका योजनाका कारण आगामी निर्वाचनमा आफ्नो पार्टीको साइनबोर्ड समेत नरहने हो की भन्ने चिन्ताले सरकार ढाल्ने प्रयास भएको आरोप लगाए ।
प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक जीवनको गन्तव्य सरकारमा पुग्नु वा बसिरहनुभन्दा पनि मुलुकलाई तीव्र आर्थिक विकास गरेर आत्मनिर्भर बनाउनु रहेको दाबी गरे ।
उनले नयाँ सरकार बनाउनका लागि संविधानले बाटो देखाइदिनुपर्ने भन्दै राजनीतिलाई तनावतिर नलगी सहजतातिर ल्याउन आग्रह गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
