समाचारबिहीबार, साउन ६, २०७३
डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीचको वार्ता सकारात्मक (भिडियो)
१२ दिनदेखि अनसरत प्रा.डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीचको पहिलो चरणको वार्ता सम्पन्न भएको छ । स्वास्थ्य मन्त्रालयमा ६ साउन मध्यान्ह शुरु वार्ता केहीबेरमा पुनः बस्ने गरी स्थगित भएको हो ।
करिब चार घण्टा चलेको वार्ता सकारात्मक भएको दुबै पक्षको भनाई छ । छलफल भएको विषयबारे डा. केसी र प्रधानमन्त्रीलाई जानकारी गराएपछि वार्ता पुनः शुरु हुने सरकारी वार्ता टोलीका सदस्य तथा स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीले जानकारी दिए ।
चार मध्ये तीन वटा बुँदामा सकारात्मक छलफल भएको र बुँदा नम्बर दुईको माग सम्बन्धित निकायमा सिफारिस गरिने विषयमा छलफल भएको उप्रेती बताउँछन् । डा. केसीले बुँदा नम्बर दुईमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने माग राखेका छन् ।
डा. केसीको तर्फबाट वार्तामा सहभागी डा. जीवन क्षेत्री पनि वार्ता सकारात्मक रुपमा अघि बढेको बताउँछन् । क्षेत्री भन्छन्, “आशा गरौं–भरे भोलिसम्म वार्ता सफल हुन्छ ।”
वार्तामा डा केसीका तर्फबाट डा. रञ्जन सापकोटाको संयोजकत्वमा डा. अञ्जनीकुमार झा, डा. जीवन क्षेत्री, डा. लिजन महर्जन, डा. सुमन आचार्य र डा दिनबन्धु रेग्मी सहभागी थिए ।
सरकारले अनसनको ११ औं दिनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, स्वास्थ्य र शिक्षा मन्त्रालयका सचिव सम्मिलित तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो ।
–रामु सापकोटा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
