ब्लगशुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
देश बिग्रेको सारा दोष नेतालाई थोपर्नुअघि सोच्नुपर्छ– हामी जनता चाहिं कति सुध्रिएका छौं?
माओवादी ‘जनयुद्ध’ र त्यसपछिको अराजक राजनीतिक संक्रमणका बेला सडक मार्गको सास्ती हामीले भुलेका छैनौं। सडकमा उबेला असुरक्षा र चक्काजामको राज चलेको थियो। सडकमा जोखिम भएपछि स्वाभाविक थियो, हवाइजहाज चढ्नेहरू बढे।
यात्रु बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको प्रि–बोर्डिङ क्षेत्रमा पानीको जार र ग्लास राखियो। एकाएक ग्लास हराउन थालेपछि तारले बाँधेका प्लास्टिकका मग राखियो। तर, मग पनि विस्तारै देखिन छाडे।
हामी नेता त स्वीट्जरल्याण्ड र सिङ्गापुरका जस्ता चाहन्छौं तर हामी असल नागरिक बन्न तयार नै छैनौं। ट्राफिक महाशाखाको तथ्यांक अनुसार, विगत पाँच वर्षमा ट्राफिक नियम उल्लंघनबापत ७० लाख वटा रसिद काटिएका छन्, जुन देशमा सवारी चलाउनेमध्येका लगभग ५० प्रतिशत हो।
भनिन्छ– कुनै व्यक्तिको सभ्यता र हैसियत हेर्नु छ भने उसको भान्छामा हेर्नु, राष्ट्रको सभ्यता र हैसियत हेर्नु छ भने चाहिं सडकतिर। तथ्यांकमा उपत्यकामा प्रति चार व्यक्ति बराबर एउटा सवारीसाधन (मोटरसाइकल सहित) देखिन्छ, जुन तुलनात्मक रूपमा विश्वकै औसत हो।
तर, सडक सभ्यता हेर्ने हो भने विश्वकै खराबमध्येका देशमा हाम्रो मुलुक नै पर्छ। जहाँ ५० प्रतिशत चालक सडक नियम मिच्दै हिंड्छन् त्यहाँ राजनीतिज्ञ मात्रै सुधि्रएर नहुने रहेछ।
जारको पानी परीक्षणको कुरा गर्नासाथ ट्यांकर व्यवसायी हड्ताल गर्छन्, दूध जाँच थाल्नासाथ व्यवसायी दूध बिक्री गर्दैनौं भनेर हाहाकार मच्चाउँछन्। तरकारी बजारमा अनुगमन गर्न सरकारी अधिकारी जाँदा विना पूर्व जानकारी किन आएको भनी स्वयं व्यापारी नै थर्काउँछन्। यहाँ चिकित्सक र पाइलट बन्न जाली प्रमाणपत्रको सहारा लिन्छन्।
राजनीतिमा भारतको विरोध स्थायी नारा भएजस्तै सचेत जनता हुन खराबीका सबै दोष राजनीतिज्ञलाई दिए हुन्छ भन्ने भ्रमको विकास हुँदै गयो। परिवारका सदस्यले गरेको भ्रष्टाचारलाई जीवनयापनको बाध्यताका रूपमा बुझने तर अरूको भ्रष्टाचारलाई देशद्रोह भन्नेहरू यहाँ थुप्रै छन्।
चिट सार्न नदिंदा हडताल गर्ने विद्यार्थी, राजनीतिका लागि शिक्षक बन्ने कार्यकर्ता, विज्ञापन नदिए गलत समाचार छाप्न धम्की दिने सञ्चारमाध्यम, अनुदानको औषधि र खाद्यान्न बेच्ने कर्मचारी र व्यापारी, जनताको करबाट तलब खाएर विदेशी राहदानी बोक्न गर्व गर्ने राष्ट्रसेवक देश बिगार्न उत्तिकै दोषी होइनन् र?
हाम्रो व्यवहार एकातिर छ, तर राजनीतिज्ञ सधैं नैतिकवान र आदर्शवान होस् भनी हामी चाहन्छौं, जुन असम्भव छ। किनभने उनीहरू पनि यही समाजका प्रतिनिधि हुन्। पात्र त्यतिबेला परिवर्तन हुन्छन्, जब समाज सोही अनुकूल बदलिन्छ।
अब ‘बटम टु टप’
समाज परिवर्तनको आधारका दुई तरीका छन्, ‘टप टु बटम’ र ‘बटम टु टप’। राजनीतिक नेतृत्व जसले जनतालाई परिवर्तन हुन उत्साहित गर्छ, त्यस्तो परिवर्तन ‘टप टु बटम’ हो, जसको नजिकैको उदाहरण बिहारका मुख्यमन्त्री नितिश कुमार हुन्।
अर्को चाहिं जनताले गर्ने परिवर्तन, जसले राजनीतिज्ञलाई परिवर्तित बन्न बाध्य तुल्याउँछ, त्यसलाई ‘बटम टु टप’ भनिन्छ। भर्खरै जनमत संग्रहबाट बेलायत यूरोपियन युनियनबाट अलग भएको घटनालाई हामी यसको दृष्टान्तको रूपमा लिन सक्छौं।
दोस्रो जनआन्दोलनको सफलतामा खालीहात सडकमा ओर्लने धेरै थिए। आ–आफ्नो जातीय, सामुदायिक र राजनीतिक स्वार्थ थाती राखेर लोकतन्त्रका लागि सबैले स्वर मिलाए। ती सबैमा ‘नयाँ नेपाल’ साझा सपना थियो।
संघर्षले लोकतन्त्र ल्यायो, अब जनता ‘नयाँ नेपाल’ को पर्खाइमा थिए। ‘नयाँ नेपाल’ को सपना देख्ने आँखामा भिन्नता थिएन, तर यसलाई हेर्ने दृष्टि र खाका भने फरक फरक देखिन थाल्यो। समस्या यहींनेर देखियो।
विडम्बना, राजनीतिक परिवर्तनले व्यवस्थामा मात्र परिवर्तन ल्यायो, प्रवृत्ति भने जस्ताको तस्तै रह्यो। त्यसैले हाम्रा लागि राजनीतिक व्यवस्थाको परिवर्तन मात्रले नपुग्दो रहेछ, ‘बटम टु टप’ अवधारणा अनुसार, पहिले हामीबाटै परिवर्तनको नेतृत्व गरिनुपर्ने रहेछ।