समाचारशुक्रबार, साउन ७, २०७३
मन्त्रिपरिषद निर्णयः युरेनियम खानीको सुरक्षामा सेना
सरकारले मुस्ताङको लोमान्थाङ नजिक युरेनियम खानी रहेको स्थान सुरक्षा गर्न नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेको छ ।
आज ७ असारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय आमसञ्चार नीति स्वीकृत गरेको छ । दुई दिनअघि उच्चस्तरीय समितिले राष्ट्रिय आमसञ्चार नीति बनाई प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको थियो ।
नयाँ नीति अनुसार नेपालभित्र प्रसारण हुने विदेशी च्यानलहरुमा ‘क्लिन फिड’ लागू गर्ने पनि सरकारले आजै निर्णय गरेको छ ।
‘क्लिन फिड’ नीति अनुसार विदेशी टेलिभिजनका कार्यक्रम प्रसारणसँगै बज्ने गरेका विज्ञापनहरु प्रसारण गर्न पाइनेछैन ।
त्यसैगरी विशेषज्ञ चिकित्सा सेवा उपलब्ध गराउने उद्देश्यले वीर अस्पताललाई विस्तार गर्न भक्तपुरको दुवाकोटमा ७०० रोपनी जग्गा उपलब्ध गराउने निर्णय पनि गरिएको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिए ।
आजको मन्त्रिपरिषद बैठकले चीनको च्वोन क्वीन शहरका लागि अवैतानिक वाणिज्य दूतमा चिनियाँ नागरिक कोन म्याङ तिनलाई नियुक्त गर्ने निर्णय गरेको छ ।