समाचारशुक्रबार, साउन ७, २०७३
डा केसीको स्वास्थ्य अवस्था थप बिग्रियो
१३ दिनदेखि अनशनरत सत्याग्रही डा गोविन्द केसीलाई आईसीयूमा राख्नुपर्ने अवस्था आउन थालेको चिकित्सकले बताएका छन् ।
डा केसीको उपचारमा संलग्न वरिष्ठ चिकित्सक दिव्यासिंह शाहका अनुसार हिजो देखि डा केसीको घाँटी दुख्ने र ‘फेरिन्जाइटिस’ लगायतका समस्या थपिएको छ ।
डा केसीलाई अहिले निरन्तर अक्सिजन दिइएको छ । टाउको दुख्ने, छाती दुख्ने र मांसपेशी बाउँडिने समस्या पनि यथावत नै छन् ।
उनलाई कुनै पनि बेला ज्वरो आउन सक्ने र संक्रमणको खतरा रहेको डा शाहले बताएकी छन् ।
डा केसीको रक्तचाप घटदै गएको, मुटुको चाल अनियमित रहेको, रगतमा पोटासियम, क्याल्सियम र म्याग्नेसियमको मात्रा निकै कम रहेको आज प्रकाशित ‘हेल्थ बुलेटिन’ मा उल्लेख छ ।
वार्ता निष्कर्षविहीन
आजै डा केसीका प्रतिनिधि र सरकारपक्षबीच भएको वार्ता निष्कर्ष विहिन भएको छ ।
हिजो र आज गरी दुई चरणको वार्ता भए पनि कुनै प्रगति हुन नसकेको वार्ता टोलीका सदस्यहरुले बताएका छन् ।
यद्दपी वार्ता आजै फेरि साँझ ७ बजे बस्ने डा केसीका प्रतिनिधि डा सुमन आचार्यले जानकारी दिए ।
सरकारी पक्षले डा केसीका मागहरुमध्ये २ नम्बरमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोग लगाउनु पर्नेमा प्रवेश नै गर्न नचाहेको वार्ता टोलीका एक सदस्यले बताए ।