समाचारशनिबार, साउन ८, २०७३
अभावबाट उद्धार
पाँचथरको रानीगाउँ–७ का हर्कबहादुर र धनबहादुर सम्बाहाम्फेले चरम गरीबीका बीच गरिरहेको जीवन संघर्षबारे १९–२५ असारको हिमाल खबरपत्रिकामा रिपोर्ट छापिएपछि जिल्ला प्रशासनले यी वयोवृद्ध दाजुभाइको उद्धार गरेको छ।
प्रमुख जिल्ला अधिकारी किरण थापाले शारीरिक रूपमा अशक्त दाजुभाइको समाचार पढेपछि रानीगाउँ नै पुगेर नागरिकता र अपांगता परिचयपत्र दिलाउनुको साथै सुरक्षित बसोबासको व्यवस्था समेत मिलाएको बताए।
“अब उनीहरूले सरकारबाट पाउने वृद्धभत्ता र अपांगता भत्ता पाउनेछन्”, प्रजिअ थापा भन्छन्, “आजीवन बसोबासको व्यवस्था सिद्धपोखरी सेवा सदनले मिलाएको छ।”
७७ वर्षीय हर्कबहादुर आँखा सामान्य देख्छन्, तर कान सुन्दैनन्। भाइ लट्टे (७५) न आँखा देख्छन् न कान सुन्छन्। १० कात्तिक १९९७ मा जन्मेका हर्कबहादुरको नागरिकतामा कर्मचारीले जन्ममिति २००४ साल लेखिदिएकाले उनी वृद्धभत्ताबाट बञ्चित थिए भने लट्टेको त नागरिकता नै बनेको थिएन।
अब भने दाजुभाइले वृद्धभत्ताबापत रु.२ हजार र अपांगता परिचयपत्रबापत रु.१ हजार गरी मासिक रु.३ हजार पाउनेछन्। यी दाजुभाइको समाचार पढेपछि काठमाडौंबाट व्यवसायी रामहरि श्रेष्ठले पठाएको रु.५५ सय र प्रजिअ थापा, जिल्ला प्रहरी प्रमुख (डीएसपी) कृष्णप्रसाद कोइराला र स्थानीय शान्ति समिति सचिव टंक पौडेलबाट संकलित रु.७ हजार ३१० पनि सम्बाहाम्फे दाजुभाइले पाएका छन्।
उनीहरूलाई फिदिमका सूर्य निरौला र कमल थपलियाले कपडा, जुत्ता लगायतका जिन्सी सामग्री सहयोग गरेका छन्। सिद्धपोखरी सेवा सदनले दाजुभाइलाई फिदिम–२ स्थित ज्येष्ठ नागरिक आश्रममा ल्याइसकेको छ।
गाउँमै नागरिकता, अपांगता परिचयपत्र, नगद र जिन्सी सहयोग पाउँदा वयोवृद्ध दाजुभाइ भावविह्वल भएका थिए। हर्कबहादुरले हिमाल सँग भने, “जनतालाई हेर्ने सरकार हुन्छ भन्थे, हो रहेछ।”
लक्ष्मी गौतम, पाँचथर