समाचारआइतबार, साउन ९, २०७३
ओली सरकारले गरेका अन्तर्राष्ट्रिय सन्धि-सम्झौता अगाडि बढाउने देउवाको प्रतिवद्धता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब बन्ने नयाँ सरकारले वर्तमान सरकारले गरेका अन्तर्राष्ट्रिय सन्धी सम्झौतालाई अगाडि बढाउने र कार्यान्वयनमा लैजाने बताएका छन् ।
संसद बैठकलाई संवोधन गर्दै सभापति देउवाले भने, “मेरा मित्र केपी ओलीले गरेका सबै सम्झौता अघि बढ्छन् ।”
देउवाले नयाँ बन्ने सरकारमा आफ्नो दल पनि सहभागी हुने भन्दै अन्तर्राष्ट्रिय समझदारीलाई उच्च महत्व दिइने, भूकम्पपीडितलाई मानवीय संवेदनाका आधारमा सहयोग गर्ने, संविधान कार्यान्वयनमा पनि इमान्दारीपूर्वक लाग्ने, मुलुकको आधा जनशक्ति ओगटेका तराई–मधेसका जनताका समस्या पनि समाधान गर्ने, वार्ताका माध्यमबाट सहमतिमा पुग्ने तथा संविधान संशोधन गर्नुपर्ने भए त्यो पनि गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले प्रजातन्त्र र संसदीय अभ्यासलाई आत्मसात् गर्दै राष्ट्र निर्माणको मार्गमा एकजुट भएर अघि बढ्नु अहिलेको समयको माग भएको बताए ।
उनले स्वतन्त्र न्यायपालिकाको मर्यादालाई कायम गर्नुपर्ने तथा त्यसलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने र जोसुकै सरकारमा गए पनि त्यसलाई कसैले बिर्सन नहुने बताए ।