समाचारसोमबार, साउन १०, २०७३
नेविसंघको महाधिवेशन तोकिएकै मितिमा गर्न निर्देशन समिति
नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न सहयोग गर्ने उद्देश्यले पाँच सदस्यीय निर्देशन समिति गठन भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घको तदर्थ समितिलाई सहयोग गरी महाधिवेशन गर्न ‘नेपाल विद्यार्थी सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पार्टीको विधान, २०१७ (संशोधन र परिमार्जित)को धारा २४ (६) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा प्रकाशशरण महतको संयोजकत्वमा समिति गठन भएको हो ।
समितिमा केन्द्रीय सदस्यहरु गोविन्द भट्टराई, किशोरसिंह राठौर, गुरुराज घिमिरे र प्रदीप पौडेल सदस्य रहेका छन् ।
विसं २०६४ मा दुई कांग्रेसबीच एकीकरण भएपछि सङ्घको महाधिवेशन हुन सकेको छैन । काठमाडौँमा गरिने एघारौँ महाधिवेशनका लागि साउन २३ देखि २५ गतेको मिति तय भएको छ । “सभापति देउवाले निर्देशन समितिलाई कुनै पनि बहानामा महाधिवेशन नरोक्न निर्देशन दिनुभएको छ” – मुख्यसचिव पौडेलले भने ।
सङ्घको ११ जिल्ला र केही निजी क्याम्पसमा विवाद रहेकाले त्यसलाई समाधान गरेर महाधिवेशन गरिने समिति सदस्य गुरुराज घिमिरेले बताए ।
“महाधिवेशनको तयारीका लागि ८५ प्रतिशत काम सकिएको छ, सिराहा, धनुषा, रुपन्देही, कञ्चनपुरलगायत जिल्ला र केही क्याम्पसका समस्या समाधान गरी साउनमै महाधिवेशन सम्पन्न गछौँ” – उनले भने ।
रासस