समाचारमंगलबार, साउन ११, २०७३
बाधा अड्काउ फुकाउने आदेश अनुमोदित
व्यवस्थापिका–संसद्ले नयाँ प्रधानमन्त्री चयनका लागि राष्ट्रपतिबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदन गरेको छ ।
‘नेपालको संविधानको धारा ३०५ बमोजिम राष्ट्रपतिबाट यही साउन १० गते जारी भएको बाधा अड्काउ फुकाउने आदेशलाई प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले बैठकमा प्रस्ताव गरेका थिए ।
सभामुख ओनसरी घर्तीले सो आदेशलाई अनुमोदनको प्रस्ताव निर्णयार्थ पेस गर्दा ध्वनि मतका आधारमा बहुमतबाट अनुमोदन भएको थियो ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खरेलले प्रधानमन्त्रीले राजीनामा गर्नुअघिको मन्त्रिपरिषद्ले उक्त आदेश जारीका लागि सिफारिस गरेको जनाउँदै संविधानको धारा २९८ नयाँ सरकार गठनमा अपर्याप्त भएकाले कानुनसम्मत रुपमा सो निर्णय गरिएको बताए ।
उनले आदेशबाट भविष्यमा कुनै अनिष्ट नहुने विश्वास व्यक्त गरे ।
त्यसअघि सांसद लोकमणि ढकाल, रामहरि खतिवडा, मीनबहादुर विश्वकर्मा लगायतले छलफलमा भाग लिँदै आदेश जारी हुनु आवश्यक नरहेको बताएका थिए ।
संसद्को अर्को बैठक यही साउन १७ गते अपराह्न ३ बजे बस्नेछ ।