समाचारबुधबार, साउन १२, २०७३
‘नेताहरु सत्तामुखी हुँदा आन्दोलनको उपलब्धि भएन’
वीरगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले मधेशकेन्द्रित दलका नेताहरु सत्तामुखी हुँदा आन्दोलनले उपलब्धि हासिल नगरेको बताएका छन् ।
उनीहरुले मधेशकेन्द्रित दलका नेताहरु पटक–पटक चुकेकोले नै सरकारसँग ३७ पटक वार्ता गर्दा पनि मधेश आन्दोलनको माग पूरा नभएको तर्क गरे ।
मधेसी पत्रकार संघ पर्साले वीरगञ्जमा १२ साउनमा आयोजना गरेको ‘देशको बदलिँदो राजनीतिक परिस्थिति र मधेशी दलको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जका प्राध्यापक हरेराम ठाकुरले मधेशकेन्द्रित दलहरुले सम्पूर्ण देशवासीलाई विश्वासमा लिन नसक्नु ठूलो कमजोरी रहेको बताए ।
“आन्दोलन मधेशवादी दलका नेताहरुको कमजोरीकै कारणले सफल हुन नसकेको हो,” प्राध्यापक ठाकुरले भने, “सरकारले फालेको जालोमा मधेशवादी दलहरु फस्न हुँदैन ।”
नेताहरुले आन्दोलनमा ज्यान गुमाएकाको परिवार र घाईतेहरुलाई फर्केर पनि नहेर्नु दुःखद भएको ठाकुरको भनाई छ ।
“सरकार बनिसकेपछि संविधान संंसोधन गर्ने लिखित सहमति नगरी मधेशवादी दलहरु सरकारमा जानु हुँदैन,” उनले भने ।
त्यस्तै प्राध्यापक विनोद गुप्ताले मधेश आन्दोलन मधेशकेन्द्रित दलका नेता पैसा कमाउन र आरोपप्रत्यारोपमा उत्रिने गरेकाले आन्दोलनको उपलब्धि नभएको बताए ।
“नाकाबन्दीको समयमा गाडी छोड्न रकमको चलखेल भएको सार्वजनिक भयो । ठूला ठूला नेताहरुले एक अर्कालाई सार्वजनिक रुपमै आरोप प्रत्यारोप गरे ।” गुप्ताले भने
उनले भारतले गण्डक नहरमा सम्झौता अनुसार पानी नछोडेर रौतहटको जमिन बाँझो रहँदा मधेशकेन्द्रित दलहरु नबोलेकोमा आक्रोश व्यक्त गरे । “जनताका सरोकारका उठाउनु पर्दैन ? हुलाकी राजमार्ग किन बन्न सकेन ?” उनले भने ।
मधेशकेन्द्रित दलका नेताहरुले खाली कुर्सीलाई मात्रै प्राथमिकतामा राखेकोले मधेश पछाडी परेको भन्दै उनले नयाँ सोच भएका युवा पुस्तालाई नेतृत्व दिनुपर्नेमा जोड दिए ।
राजनीतिक विश्लेषक प्रमोद गुप्ताले सरकारमा जाने या नजाने भन्ने विषयलाई प्राथमिकता दिनुभन्दा पनि चुनावको माग गर्नुपर्ने बताए ।
मधेश आन्दोलनमा ज्यान गुमाएकाको परिवार र घाईतेहरुलाई सहयोग गरिरहेको मधेश रिलिफ सोसाईटीका सदस्य प्रकाशप्रसाद थारुले मधेश आन्दोलनमा ज्यान गुमाएकाको परिवार र घाईतेहरु आर्थिक र मानसिक समस्याबाट गुज्रिरहेको बताए ।
अन्तक्र्रियामा अधिवक्ता विरेन्द्र यादवले कार्यपत्र पनि प्रस्तुत गरेका थिए ।
सुरेश बिडारी, वीरगञ्ज