रिपोर्टबिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
चिकित्सा शिक्षा सुधारका प्रयासलाई भताभुङ्ग पारेर मुनाफा कमाउन उद्यत स्वार्थी समूह मात्रै डा. गोविन्द केसीको विरोधमा छ ।
देशको चिकित्सा शिक्षामा सुधारका लागि चारबुदे मागसहित २६ असारबाट आठौं आमरण अनशन बसेका त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीले १६ औं दिनमा अनशन टुङ्ग्याए ।
डा केसीका माग सम्बोधनका लागि ५ साउन साँझ् शिक्षा, स्वास्थ्य र मन्त्रिपरिषद् सचिवालयका सचिव सम्मिलित वार्ता समितिसँग डा. केसीको चार बुँदे सहमति भएको थियो ।
उनले पहिलो अनशनबाटै राख्दै आएका माग हुन्– चिकित्सा शास्त्र अध्ययनका लागि मनपरी शुल्क लिने परिपाटी रोकिनुपर्छ, जथाभावी सीट निर्धारण र असमान ढंगले मेडिकल कलेज खोलिनुहुँदैन ।
डा. केसीका माग सम्बोधनका लागि सरकारले १८ पुस २०७१ मा शिक्षाविद् केदारभक्त माथेमाको संयोजकत्वमा गठन गरेको उच्चस्तरीय कार्यदलले सीट र शुल्क निर्धारणमा कडाइसँगै काठमाडौं उपत्यकाभित्र १० वर्षसम्म निजी मेडिकल, डेन्टल र नर्सिङ कलेज खोल्न नहुने सुझाव समेत दियो।
निजी मेडिकल कलेजहरू त्यसविरुद्ध उत्रिएपछि नेपाल चिकित्सक संघले २३ साउन २०७२ मा कलेज सञ्चालक र माथेमा कार्यदलका पदाधिकारीहरूबीच छलफल आयोजना र्गयो, जसमा कार्यदलका संयोजक माथेमा र सदस्यहरूले चिकित्सा शिक्षा क्षेत्रमा सम्झौता गर्न नहुने अडान दोहोर्याए ।
छलफलमा विराट मेडिकल कलेजका सञ्चालक ज्ञानेन्द्रमानसिंह कार्कीले माथेमा कार्यदलको सिफारिश कार्यान्वयन भए आत्मदाह गर्ने चेतावनी दिएका थिए। दुई चरणको छलफलबाट कुनै निष्कर्ष ननिस्किएपछि निजी मेडिकल कलेज सञ्चालकहरू सरकारलाई तालाचाबी बुझाउने धम्की दिंदै बाहिरिएका थिए ।
निरीह सरकार
सरकारले माथेमा कार्यदलको सिफारिश अनुसारै कानूनको मस्यौदा बनाउन कार्यदलमा सदस्य रहेका डा. भगवान कोइराला कार्यकारी उपाध्यक्ष भएको आयोग बनायो, ८ माघ २०७२ मा।
आयोगले ३० वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको चिकित्सा शिक्षा ऐनको मस्यौदा अहिले संसद्मा छ। माथेमा कार्यदलले सरकारी मेडिकल कलेजको सबै व्ययभार सरकारले व्यहोर्दैै सबै सीट निःशुल्क हुनुपर्ने सुझाव दिए पनि ऐनको मस्यौदामा ५० प्रतिशत सीटमा मात्र छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था छ । त्यसमा डा. केसीले माग गरेजस्तो विशेषज्ञ तहको अध्ययन निःशुल्क हुने व्यवस्था पनि छैन ।
मेडिकल शिक्षाको शुल्क र सीट निर्धारणमा गत वर्ष सरकारले सुधारको प्रयास गरे पनि निजी मेडिकल कलेज सञ्चालकहरूले अवरोध गरेका छन् । उनीहरूले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसी विरुद्ध सडक आन्दोलनदेखि चिकित्सक संघलाई प्रयोग गर्नेसम्मको हत्कण्डा प्रयोग गरिरहेका छन्। विद्यार्थीबाट मनोमानी शुल्क लिनु र नेपाल मेडिकल काउन्सिल जस्तो नियमनकारी निकायलाई प्रभावमा पारेर सीट संख्या बढाउनु त्यसका दृष्टान्त हुन्।
माथेमा कार्यदलको सिफारिश अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १ असोज २०७२ मा शैक्षिक सत्र २०७२र७३ का लागि एमबीबीएसमा ३५ लाख शुल्क र बढीमा १३५ सीट निर्धारण गरेको थियो।
विश्वविद्यालयले विद्यार्थीको योग्यता सूची (मेरिट लिष्ट) निकालेपछि शिक्षा मन्त्रालयले पनि १५ कात्तिक २०७२ मा शुल्क रु.३५ लाख लिन निर्देशन दिंदै त्यसको पालना नगरे सम्बन्धित कलेज र विश्वविद्यालय जिम्मेवार हुनुपर्ने सूचना निकाल्यो। तर, निजी मेडिकल कलेजहरूले डाक बढाबढमा विद्यार्थी भर्ना गरे। माथेमा कार्यदलको सुझाव मान्न नसक्ने भन्दै उनीहरूले एमबीबीएसमा रु.६० लाखसम्म लिएर विद्यार्थी भर्ना गरे।
मेडिकल काउन्सिलले पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णय अनुसार कलेजहरूको सीट संख्या घटाएको थियो। तर, कलेज सञ्चालकहरूले घटेको सीटको रकम पनि विद्यार्थीबाटै असुले।
त्यसविरुद्ध ११ कात्तिकमा सर्वोच्च अदालतमा रीट निवेदन दर्ता भएपछि न्यायाधीश गोपाल पराजुलीको एकल इजलासले २० कात्तिकमा जारी गरेको रु.३५ लाखभन्दा बढीमा विद्यार्थी भर्ना नगर्नुरनगराउनु भन्ने अल्पकालीन अन्तरिम आदेश पनि पालना भएन।
कलेजहरूको दादागिरी
मेडिकल काउन्सिलले शैक्षिक सत्र २०७२÷७३ का लागि किष्ट मेडिकल कलेजलाई एमबीबीएस तहका लागि १२५ सीटको अनुमति दिएकोमा कलेजले १२८ विद्यार्थी भर्ना लियो। त्यति मात्र होइन, कलेजले छात्रवृत्तिको मेरिट लिष्टमा परेका विसेन्द्र पासवानसहित तीनजना विद्यार्थीको ठाउँमा बढी पैसा दिनेहरूलाई लियो।
भर्ना हुन नपाएका विद्यार्थीले निवेदन दिएपछि शिक्षा मन्त्रीले चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) लाई पत्र पठाए। आईओएम र मेडिकल काउन्सिलले ’मेरिट लिष्ट’ का विद्यार्थीले भर्ना नपाउनुको कारण सोध्दा किष्टले उनीहरू समयमै नआएकाले भर्ना नलिएको जवाफ दिएको काउन्सिल बताउँछ। तर, भर्ना हुने अन्तिम मिति २९ वैशाख २०७२ सम्ममा पनि किष्ट कलेजले भर्ना नलिएपछि ती विद्यार्थी अदालत गए ।
अदालतले ती तीन विद्यार्थीका पक्षमा आदेश दिएपछि कलेजले बढी पैसा तिरेका तीन जनालाई यथावतै राखेर बाँकी तीन जनालाई पनि भर्ना र्गयो। यसको परिणाम छात्रवृत्तिमा नाम निकालेका जेहेन्दार विद्यार्थीले भोग्नुपर्ने स्थिति आउन सक्ने मेडिकल काउन्सिलका पदाधिकारीहरू बताउँछन्।
उता वीरगञ्जको नेशनल मेडिकल कलेजलाई मेडिकल काउन्सिलले एमडीरएमएस तहमा १४ सीट दिएकोमा कलेजले २९ जना भर्ना गरेको छ। त्यसविरुद्ध उजुरी परेपछि काउन्सिलले २४ चैत २०७२ मा तोकिएको भन्दा बढी विद्यार्थी भर्ना लिए त्यो वैध नहुने जानकारी गराए पनि कलेजले २ वैशाख २०७३ बाट पढाइ शुरू गर्यो। यति मात्र होइन, कलेजले विद्यार्थीलाई नै काउन्सिलका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्न लगायो।
नेशनलका विद्यार्थीले ३० वैशाखमा दायर गरेको मुद्दा संयुक्त बेन्चका दुई न्यायाधीशको राय बाझ्िएपछि फुल बेन्चमा पुगेको छ। चिकित्सा शिक्षा सुधारका प्रयासलाई निजी मेडिकल कलेजहरूले यसरी एकपछि अर्को गर्दै भत्काउने क्रम जारी राखेका छन्।
शिक्षा मन्त्रालयबाट मनसाय पत्र पाएका मेडिकल कलेजहरू पनि डा. गोविन्द केसीको आन्दोलन विरुद्ध खनिएका छन्। डा. केसीको माग अनुसार गठित माथेमा कार्यदलको सुझाव र चिकित्सा शिक्षा ऐनको मस्यौदाले काठमाडौं उपत्यकाभित्र १० वर्षसम्म निजी मेडिकल कलेज स्थापना नहुने र ऐन पारित भएपछि उपत्यका बाहिर अस्पताल नभएको ठाउँमा मात्र कलेज खोल्न सकिने भएपछि उनीहरू सुधार अभियान विरुद्ध लागेका हुन्।
१५ असार २०६१ देखि २९ असार २०६९ सम्मको अवधिमा १६ वटा निजी मेडिकल कलेजले शिक्षा मन्त्रालयबाट मनसाय पत्र पाएका छन्। तीमध्ये दुई वटाले काठमाडौं विश्वविद्यालय (केयू) बाट विस्तारित कार्यक्रमको आवरणमा सम्बन्धन पाएका छन्। मन्त्रालयबाट काठमाडौं उपत्यकाभित्र सञ्चालनका लागि मनसायपत्र लिएका ६ वटा मेडिकल कलेजले सम्बन्धन पाइसकेका छैनन् । सञ्चालनमा रहेका र प्रस्तावित निजी मेडिकल कलेजहरूले डा. केसीको अनशनका विरुद्ध विज्ञप्ति नै निकालेर विरोध गरेका छन्।
प्रस्तावित काठमाडौं नेशनल मेडिकल कलेजले ३१ असारमा विज्ञप्ति जारी गरेर डा. केसीको अनशनले मुलुकको मेडिकल शिक्षा धरासायी बनेको बतायो। त्यस्तै, १९ असारमा निजी मेडिकल कलेज सञ्चालकहरूको संगठन एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले डा. केसीको विरोध र अख्तियार प्रमुखको प्रशंसामा विज्ञप्ति निकालेको थियो।