रमझममंगलबार, मंसिर २६, २०६९
अन्तराष्ट्रिय प्रतिस्पर्धामा ‘हु विल वि अ गोर्खा’ सर्वोत्कृष्ट
काठमाडौंमा पाँच दिनसम्म चलेको महोत्सवमा प्रदर्शन भएका २८ चलचित्र मध्ये ‘हु विल वि अ गोर्खा’ले सर्वोत्कृष्ट भएसँगै १५०० अमेरिकी डलर पुरस्कार जित्न सफल भएको हो । नेपाली युवाहरुलाई बेलायती सेनामा भर्ना लिंदाको प्रक्रिया यस बृत्तचित्रमा रोचक तरिकाले प्रस्तुत गरिएको छ । बृत्तचित्र तयार पार्दा गोर्खा भर्ना प्रक्रियाको ६ महिनासमेत गरी जम्मा १५ महिना लागेको निर्देशक छेतेन बताउँछन् ।
ओजसिच स्लोता र म्यारेक क्योसोविज निर्देशित बृत्तचित्र ‘आर्ट अफ फ्रिडम’ले दोस्रो स्थान हासिल ग¥यो । यो बृत्तचित्र हिमाल आरोहणको विषयमा बनेको यो फिल्मले अवार्डसँगै एक हजार अमेरिकी डलर पायो ।
चीनको बृत्तचित्र ‘नोम्याडिक नाईट्स’ र फ्रान्सको बृत्तचित्र ‘द स्नो कभ म्यान’ले सँयुक्त रुपमा तेस्रो पुरस्कार पाए । यी दुई बृत्तचित्रले ५ सय अमेरिकी डलर र अवार्ड प्रदान गरियो । किम्फमा स्पेशल मेन्सनको अवार्ड भने चीनको बृत्तचित्र ‘वाकिङ ल ग्रिन टाईगर, ए ग्रिन मुभमेन्ट राईज इन चाईनाले’ पायो ।
नेपाली प्यानोरमा शिर्षक उत्कृष्ट बृत्तचित्रको अवार्ड रमेश खडका निर्देशित डोटी जिल्लाको गाउँ काडामण्डौंमा आधारित बृत्तचित्र ‘काडामण्डौ’ले जित्यो । उत्कृष्ट भए बापत खडकाले अवार्ड सहित ५० हजार रुपैयाँ पाए । यस्तै नेपाली प्यानोरमा तर्फ उत्कृष्ट चलचित्रको अवार्ड आसिम चित्रकार निर्देशित छोटो चलचित्र ‘हरि’ले जित्यो । चित्रकारले अवार्ड सहित २५ हजार रुपैयाँ पाए ।
खचाखच दर्शकबीच राष्ट्रिय सभागृहको हलमासम्पन्न अवार्ड कार्यक्रमपछि ‘हिमालयन गोल्ड रस’को प्रिमियर सो समेत गरियो । एरिक भ्यालीको निर्देशन रहेको ‘हिमालयन गोल्ड रस’को प्रिमियर सो सँगै कार्यक्रम समापन गरिएको थियो । हिमाल एसोसिएसनले आयोजना गरेको दशौ संस्करणको यो फिल्म मेलामा २८ देशका ६२ वटा लघुचलचित्र, वृत्तचित्र, फिक्सन, एनिमेसन प्रस्तुत गरिएको थियो । महोत्सव अवधिभर राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा सम्पूर्ण फिल्महरू देखाइएको थियो ।
हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापाले सरोकारवालाको मेहनत र दर्शकको भरपुर सहयोगले दशौं पर्वतीय चलचित्र महोत्सव सफलतापूर्वक सम्पन्न भएको बताएका छन् ।