रिपोर्टआइतबार, पौष १, २०६९

माओवादी हिरासत बर्बरताको केन्द्र

हिमालखबर

अस्मिता खड्का

आफ्नै पार्टीको हिरासत मुक्त भएलगत्तै शिवचन्द्र कुशवाह(बसेका बायाँ), देवेन्द्र पराजुली र कल्पना धमला(गैर–सैनिक पोशाकमा)

“चरम यातनापछि नलीहाडमा बेल्ना लगाएर अर्धमृत बनाइएको शरीरलाई भुईंमा लडाएर मेरो मृत्युदण्डबारे कुरा गर्न थाले, कमरेडहरू । समाज बदल्न हिंडेको एउटा सिपाहीले गर्दै नगरेको अपराधका निम्ति आफ्नै पार्टीमा मृत्युको अनुभव गर्नुपरिरहेको थियो ।”

एमाओवादी केन्द्रीय नेता देवेन्द्र पराजुलीको ‘जनयुद्धकालीन अनुभव’ हो यो । अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्षको कार्यकाल पूरा गरेर पार्टी राजनीतिमा आएका पराजुली क्षेत्रीय ब्युरो सदस्य छँदा २०६१ जेठमा भारतको पटनामा भएको ११ जना माओवादी नेताको गिरफ्तारी प्रकरणमा सुराकी गरेको आशंकामा पार्टी हिरासतमा परेका थिए । पराजुलीसँगै उनकी पत्नी तथा उपब्यूरो सदस्य कल्पना धमलालाई २०६१ मंसीरदेखि १४ महीना हिरासतमा राखेर यातना दिइएको थियो । अहिले दुवै जना केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य छन् । त्यसबेला पराजुली र धमलाको राजनीतिक जीवन नै समाप्त पार्ने गरी ‘गद्दारी’ को आरोप लगाएर यातना दिनेहरूले त्यो आरोप झूटो सावित हुँदा पनि माफी माग्नुपरेको छैन । यसबाट पार्टीले यातनालाई सिद्धान्त र संस्कारकै रूपमा स्वीकार गरेको सन्देश गएको छ ।

वैचारिक हिसाबले स्पष्ट मानिने पराजुलीले वर्गीय अधिनायकत्वको नाममा पार्टीभित्र मौलाएको व्यक्तिवादी सोच विरुद्ध आवाज उठाएपछि तत्कालीन भ्याली (काठमाडौं) मा कार्यरत केही केन्द्रीय सदस्यले ‘नेतृत्वलाई नटेरेको’ भन्दै उनी विरुद्ध फाइल तयार गरेका थिए । कार्यकर्तामाथि लादिने दासत्वको प्रतिवाद गर्दा लठैत प्रवृत्तिका नेताहरूसँग विवाद चुलिएर देवेन्द्र र आफूलाई पटना घटनामा फँसाइएको धमला बताउँछिन् । “पार्टीभित्र आउने वैचारिक चुनौतीहरूलाई राजनीतिक रूपमा स्वीकार नगरी त्यसमा वर्गीय फुँदा जोड्दै संगीन खालको आरोपमा कारबाही गरेर थन्क्याउन खोजियो”, धमला भन्छिन्, “हामी त्यस्तै अकल्पनीय परिस्थिति र यातनाको शिकार भयौं ।”

साथीहरूले मार्न चाहेका थिए
देवेन्द्र पराजुली सदस्य, महाधिवेशन आयोजक समिति

१-१५ पुसको हिमालको आवरणमा देवेन्द्र पौड्ल ।

बिहारको पटनामा साथीहरू प्रहरी कब्जामा पर्दा होटल बाहिर भएकाले म र मेरी श्रीमती कल्पना जोगियौं । अलपत्र अवस्थामा विकल्पलाई फोन गर्दा मोतिहारी बोलाउनुभयो र त्यहाँबाट रौतहटहुँदै सिन्धुली पुग्यौं । त्यहाँ घटनाबारे छलफलको क्रममा केन्द्रीय सदस्य पवनमान श्रेष्ठले एक्कासी ‘सब कुरा बुझिएको छ’ भन्दा कल्पनाले मलाई सजग गराएकी थिइन्, तर मैले त्यति वास्ता गरिनँ । रामबहादुर थापा ‘बादल’ ले अनुसन्धानको लागि निलम्बन गरिएको बताउँदा भने आश्चर्यचकित भएँ । हामीले अनुसन्धानमा सहयोग गर्ने जनाउँदै राजीनामा दियौं, तर साथीहरूको नीचता पछि मात्र थाहा भयो ।

बयान १:  ‘पटनामा नेताहरू समातिंदा हामी कसरी जोगियौं ?’ सिन्धुलीमा पहिलो बयान लिने पवनमानको शुरूको प्रश्न यही थियो । जवाफ दिंदै जाँदा घटनाको सहज र निष्पक्ष छानबिन हुन्छ भन्ने मेरो बुझइ मनोगत ठहरिंदै गयो । हामीलाई सैन्य हिरासतमा राख्ने योजना बनिसकेकोे रहेछ ।

बयान २:
सेनाको ‘फर्मेसन’ (घेरा) मा उदयपुर पुग्दा बयान लिन पोलिटब्यूरो सदस्य हितमान शाक्य तयार रहेछन् । उनी ‘पटना घटना आफूले गराएको होइन भनेर पुष्टि गर’ भन्ने ढंगले पेश भए, केही समय चर्काचर्की प¥यो । त्यसपछि सोलु पु¥याएर कल्पना र मलाई अलग पारियो ।

बयान ३: सोलुमा आँखामा कालोपट्टी बाँधिदिएर बयान लिंदै सैन्य कमाण्डर पावेलले ‘तँ पार्टीको गद्दार होस्’ भनेपछि मेरो धैर्यको बाँध टुट्यो, औंला ठड्याउँदै गद्दार नभन्न चुनौती दिएँ । उनले मेरो हात तल बजार्दै टाउको समातेर भुईंतिर थिचे । तेस्रो बयान यत्तिकैमा सकियो ।
मुटु कमाउने चिसो रातमा कमाण्डरहरू स्लिपिङ ब्याग खोसिदिन्थे । दिनहरू यातनामा बिते, बोल्न पनि प्रतिबन्ध लाग्यो । कल्पना कहाँ, कस्तो अवस्थामा थिइन् थाहा भएन । केही समयपछि फेरि उदयपुर लगियो । त्यहाँ हितमान र अमृता थापासँग कुराकानी गर्न पाइने आशा गरेको थिएँ, तर अमृताले देखे पनि नदेखे जस्तो गरिन् ।

बयान ४: उदयपुर पुगेको भोलिपल्ट दिउँसो चार बजे वस्तीबाट टाढा गोठमा लगेर अपशब्द बोल्दै हातखुट्टा कसे । आँखामा पट्टी बाँधिएकोले कसले बयान लिंदैछ थाहा भएन । उसले ‘तँ होइनस् भने को हो भन् ?’ भन्दै जलिल प्रश्नहरू ग¥यो । बयान लिने सेनाको प्रवेश नामका कमिसार रहेको  पछि थाहा पाएँ ।

बयान ५: त्यो साँझ् गोठ माथि डाँडामा लगेर आँखामा पट्टी बाँधिएकै थियो, कञ्चटमा पेस्तोल राखेर ‘गद्दार’ लाई सिध्याउने भन्दै मानसिक यातना दिए र मरेको पशुलाई झै खुट्टामा डोरीले बाँधेर गेग्य्रानमा घिसार्दै तल झरे । शरीरको बाहिरी भाग छियाछिया हुँदा पनि साथीहरू रोकिएनन् र ‘पटनामा नेताहरूलाई किन गिरफ्तार गराइस् ?’ भन्दै पालैपालो हिर्काउन थाले । ऐया भन्दा आवाज बन्द गर्न बुटले मुखमा कुल्चिन्थे । मुखमा कपडा खाँदेर पनि कुल्चिए । र पनि, न्याय पाउने विश्वासमा बाँच्ने आशा राखिरहें । खुट्टाको नलीहाडमा बेल्ना लगाउँदै अन्तिम इच्छा सोधिंदा भनेको थिएँ— ‘मलाई नमार ।’

विस्तृत समाचारका लागि १–१५ पुसको हिमाल खबरपत्रिकामा हेर्नुहोला ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>