ब्लगशनिबार, जेठ ३१, २०७१
फेल हुनु अपराध होइन
पुष २०६९ मा प्रकाशित यो लेख सान्दर्भिक भएकाले पुन: प्रकाशन गरिएको छ ।
११ कक्षाको परीक्षामा फेल भएपछि लमजुङ भोटेओडारकी एक छात्राले गत २८ मंसीरमा आत्महत्या गरिन् । उनी अंग्रेजी विषयमा मात्रै फेल भएकी थिइन् ।
परीक्षामा फेल हुँदा विद्यार्थीले आत्महत्या गरेको यो घटना पहिलो भने होइन । हाम्रो सामाजिक मान्यतामा परिवर्तन र सरोकारवालाहरु जिम्मेवार नबन्दासम्म यस्ता थप खबरहरु आइरहन्छन् ।
गत असारमा एसएलसी परीक्षाको नतिजा आएपछि फेल भएर आत्महत्या गरेका एक दर्जनभन्दा बढी समाचारहरु सञ्चारमाध्यममा आएका थिए ।
केही समयअघि ७ कक्षाको परीक्षामा तेस्रो भएकी मेरा आफन्तकी छोरी मेरो अपेक्षाविपरीत मलिन अनुहारमा भेटिइन् । संधै फर्स्ट आउने छोरी थर्ड भएकोमा बाबुआमाले छोरीलाई राम्रै ‘गालीपुराण’ सुनाएका रहेछन् । मैले ती नानीलाई बधाईका साथै आफूसँग भएको कलम उपहार दिएँ, कक्षामा तेस्रो हुनु पनि कम्ती उपलब्धि होइन भनेर ।
उनलाई सम्झाउन मैले दिएको सानोतिनो व्याख्यानले उनको र उनका बाबुआमाको अनुहारमा खुशी ल्याउन सकेन ।
के कक्षामा प्रथम नहुनु असफलता हो ? के फेल हुनु अपराध हो, जसले किशोरावस्थाका विद्यार्थीहरुलाई आत्महत्यासम्म गराउन बाध्य पार्छ ?
एसएलसी र प्लस टुको रिजल्ट आएपछि टेलिभिजनका क्यामेराहरु फर्स्ट हुनेका घरघर पुग्दै अन्तर्वार्ता लिन थाल्छन् । फर्स्ट हुनेले दिनमा कति समय पढ्थ्यो, उसले टेलिभिजन, फिल्म हेर्यो कि हेरेन जस्ता विषयहरु समाचार बन्न थाल्छन् । लाग्छ फर्स्ट नआउनेहरुका लागि यो संसारमा कुनै महत्व नै छैन ।
एसएलसीमा बोर्ड फर्स्ट आउनेहरु र नआउनेहरुबीचको फरकले पारेको नकारात्मक असर तथा बोर्ड फर्स्ट र बोर्ड दशमा आउन अनियमितता हुने गरेको आरोप लगेपछि एसएलसी बोर्ड र उमावि परिषद्ले फर्स्ट र बोर्ड दशको घोषणा गर्न छोडेका छन् ।
तर, हामी सञ्चारकर्मीहरुलाई भने त्यो पत्ता लगाउनै परेको छ । हुँदा हुँदा नम्बर अंकमा नदिने ग्रेडिङ पद्धतिमा चलेका अक्सफोर्ड र क्याम्ब्रिजका परीक्षाको विश्वभरकै रेकर्ड खोजेर कुन नेपालीले सबैभन्दा बढी अंक पायो भन्ने प्रकाशन प्रसारण गर्छौ ।
यो अन्धो दौडमा लाग्दा फर्स्ट नआउने, कम नम्बर आउने वा अझै फेल नै हुने हजारौं विद्यार्थीमाथि कस्तो असर पुग्छ भन्ने हामी समाजप्रति उत्तरदायी मानिएका सञ्चारकर्मीहरुले वास्तै गर्दैनौं ।
यसमा विद्यालय र कोचिङ सेन्टरहरु झनै जिम्मेवार छन् । तपाईंको बच्चालाई ९० प्रतिशतभन्दा बढी नम्बर ल्याउने बनाइदिन्छौं भन्दै प्रलोभन देखाउन कोचिङ सेन्टर र विद्यालयहरु पत्रिकामा फर्स्ट आउनेको फोटोसहित विज्ञापन गर्ने गर्छन् ।
कोचिङ सेन्टर र विद्यालयका नाममा चलेका पसल र प्रचारबाजी गर्ने मिडियाले गर्दा बोर्ड फर्स्ट, बोर्ड दश र डिस्टिङ्शन नआउनेहरुको दिमागमा लघुताभाष र अपराधबोध भरिन्छ, झन फेल हुनेहरुको हालत के होला ?
अभिभावकहरु पनि आफ्नो बालबालिकाको रुचि, क्षमता नबुझेर अंकको दौडको पछि लाग्नाले विद्यार्थीहरुमाथि दबाब अरु बढाउँछ नै । हामी विद्यार्थीलाई ज्ञान र सीप सिकाइरहेका छौं वा उसको दिमागलाई अंकको पछि दौडाइरहेका छौं ?
एसएलसी बोर्डले गत जेठमा प्रकाशित गरेको रिजल्टमा आधाभन्दा बढी करिब ५२ प्रतिशत फेल भएका छन् । सेकेण्ड डिभिजन र त्यो भन्दा कम नम्बर ल्याउने करिब २४ प्रतिशत छन् । फेल हुनेको संख्या पनि जोड्ने हो भने ७६ प्रतिशत पुग्छ ।
त्यस्तै ०६९ सालको ११ को परीक्षामा मात्रै फेल हुनेको संख्या करिब ५९ प्रतिशत छ । तर हामी यत्रो ठूलो संख्याका विद्यार्थीहरुका लागि अवसर, उनीहरुको बृत्ति विकास र शिक्षाका बारेमा चासो दिंदैनौ । राज्य यो संख्याप्रति कहिल्यै सम्वेदनशील हुन सकेको छैन ।
वास्तविकता के हो भने १०–१२ कक्षामा प्राप्त गरेको नम्बरले जीवनको सफलता र विफलता तय गर्दैन । डिस्टिङ्शन ल्याउनेहरु मात्रै जीवनमा सफल हुन्छन् भन्ने सत्य होइन । बरु व्यावहारिक ज्ञान नहुने तथा अतिरिक्त क्रियाकलापमा सक्रिय नभएकाहरु परीक्षामा पर्याप्त नम्बर ल्याए पनि व्यावहारिक जीवनमा फेल भएका थुप्रै उदाहरण भेटिन्छन् ।
हामीले आफ्नै वरिपरि आफ्नो पेशा, व्यवसाय वा समाजमा उच्च स्थान बनाएकाहरुलाई हेर्यौं भने पनि थाहा हुन्छ, थोरै नम्बर ल्याएर परीक्षा पास गर्नेहरुले पनि सफलता पाएका छन् ।
संसारकै महान र सफल भनिएकाहरुको आत्मकथा पढौं, उनीहरुमध्ये अधिकांश कहिल्यै विद्यालय र विश्वविद्यालयमा फस्र्ट भएका थिएनन् । महात्मा गान्धिदेखि नेल्सन मण्डेलासम्म । फेसबुकका मालिक मार्क जुकरबर्गदेखि एप्पलका स्टिभ जबसम्म, माइक्रोसफ्टका मालिक विल गेट्सदेखि हाम्रै पुष्पा बस्नेतसम्म । केही अघिसम्म नेपाली राजनीतिको शिखरमा रहेका गिरिजाप्रसाद कोइरालासँग पनि विश्वविद्यालयको डिग्री थिएन । कवि मोहन कोइराला पनि फर्स्ट भएका थिएनन् ।
यो सूची धेरै लामो हुन्छ जो विद्यालयको पढाइमा अब्बल थिएनन् तर त्यसपछिको मेहनतले उनीहरु सफल भए ।
विद्यालयको भारीभरकम होमवर्क, कोचिङ र ट्युसनमा अहिले हाम्रा नानीहरुको बालापन र किशारावस्था बँधुवा हुँदैछ । अंकको दवावमा उनीहरुको व्यक्तित्वको सहज विकास हुन सकेको छैन । यस्तो शैक्षिक वातावरणमा हुर्केका विद्यार्थीलाई वास्तविक जीवनको व्यावहारिक परीक्षामा उत्तिर्ण हुन धेरै गाह्रो हुन्छ ।
यति लेख्नुको आसय फर्स्ट आउनेहरुलाई हतोत्साही बनाउनु वा उनीहरुको उपलब्धिको अवमूल्यन गर्नु कदापि होइन । उनीहरु बधाईका पात्र छन् । तर, थोरै नम्बर ल्याउने वा फेल हुने विद्यार्थीहरु र उनका अभिभावकहरु पनि निराश हुनु पर्दैन ।
आफ्नो रुचि अनुसारको मिहिनेत र लगन हुने हो भने सबै विद्यार्थीहरुका लागि यो संसारमा थुप्रै सुन्दर अवसरहरु छन्, जसबाट उनीहरुले लाभ उठाउन सक्छन् र सफलता प्राप्त गर्न सक्छन् ।