ब्लगसोमबार, पौष २, २०६९
प्रधानमन्त्रीको एसएमएस र साहु–आसामीको कथा
सोमबार (२ पुस) दिनभरजसो राजनीतिक दलहरु सहमतिमा पुग्न लागेका र साँझसम्म सहमति भएर नयाँ सरकार गठन हुने चर्चा चलिरह्यो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले बरिष्ठ नेता माधवकुमार नेपाल र कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाबीच भएको छलफलमा लगभग सहमति जुटिसकेको र साँझ बस्ने प्रमुख चार दलको बैठकबाट यसलाई औपचारिकता दिइने कुरा पनि समाचारहरुमा आयो ।
बाबुराम भट्टराइ नेतृत्वको कामचलाऊ सरकारको बहिर्गमन र कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सहमतिको नयाँ सरकार गठन लगभग निश्चित भइसकेको प्रचार पनि गरियो । यस्तो चर्चा भइरहँदा कतिपयले त अनावश्यक रुपमा अति उत्साहित नहुन सञ्चारकर्मीहरुलाई आग्रह पनि गरेको सुनियो । उनीहरुको भनाइ थियो ः बाबुराममाथि अझैं दक्षिण दाहिना छ, यस्तो हुँदासम्म नेपालमा कुनै सहमति वा सत्तापलट केही हुन्न ।
जसै दिन ढल्दै गयो, सहमतिको वातावरण भाँडिएका खबरहरु आउन थाले । प्रधानमन्त्री भट्टराईलाई उनकै पार्टीका अध्यक्षले समेत सहमतिका लागि मनाउन नसकेपछि एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई भट्टराईलाई मनाउने जिम्मा दिइएको खबर आयो । त्यसपछि नेपालको कोटेश्वरस्थित निवासमा नेपाल र भट्टराइबीच छलफल भयो । तर, छलफल सकिएपछि एमाले बरिष्ठ नेता नेपालले निराशाजनक मुद्रामा भने ः अब अहिलेकै प्रक्रियाबाट निकास निस्कने सम्भावना देखिएन ।
नेपाल र भट्टराइबीच के के कुरा भयो र त्यसक्रममा भट्टराइले के के भने भन्नेबारे त सब कुरा थाहा भएन, तर त्यही सेरोफेरोमा प्रधानमन्त्री भट्टराईले आफ्ना स्वकीय सचिब मार्फत् क्रमैसँग दुइटा एसएमएस पत्रकारहरुलाई पठाए । पहिलो एसएमएसमा भनिएको थियो ः –‘शान्तिप्रक्रियाको टुंगो लगाउने, सत्य निरुपण लगायतका आयोगहरु गठन गर्ने, निर्वाचन सम्बन्धी संबिधान संशोधनमा सहमति, बैशाखमै चुनाब गर्ने गरी मिति सहितको सहमति पश्चात केही समयका लागि यही सरकारलाई राष्टिय सरकार बनाउने, त्यसपछि सरकार नेपाली कांग्रेसलाई दिने । यो कुरामा पनि सहमति जुट्दैन भने मधेशी मोर्चा वा साना दलको नेतृत्वमा सहमतिको सरकार बनाउने । प्रधानमन्त्रीद्धारा प्रस्ताबित एमाओवादीको प्रस्ताब नै यही हो ।’
भारतीय छत्रछायामा टिकेको सरकार भनेर सार्वजनिक टिकाटिप्पणी भइरहेको र आम रुपमा पनि भट्टराइलाई भारतले काँध थापेकाले मुलुकले निकास पाउन नसकेको धारणा बनिरहेका बेला प्रधानमन्त्री भट्टराइले यस्तो सन्देश किन पत्रकारहरुलाई पठाउन लगाए भन्ने बारे धेरैबेर घोत्लिनै परेन । किनभने, केही बेरपछि नै फेरि अर्को एसएमएस आयो । दोस्रो एसएमएसको व्यहोरा यस्तो थियो ः–‘कुरा पुरानो हो, तर अहिले दोहोर्याउनुको अर्थ सहमतिका निम्ति भारत, मधेशी र बाबुराम तयार भइसकेका छैनन भन्ने होला ।’
दिनभरको चर्चा र बेलुका प्रधानमन्त्रीका स्वकीय सचिब मार्फत् पत्रकारहरुलाई पठाइएको एसएमएस हेरेपछि एउटा पुरानो कथाको सम्झना भयो । ‘गाउँमा एकजना किसान थिए । खान लाउन पुगेपनि कहिलेकाहीँ गाह्रोसाह्रो पर्दा साहुको ऋण लिन्थे । तर ऋण तिर्न नसकेपछि उनी साहुबाट भागीभागी हिड्न थाले । एक दिन उनी घरमै भएका बेला साहु आइपुगे । परबाट साहु आउँदै गरेको देखेपछि उनले छोरालाई भने -छोरा, साहु आउँदै छ, म धानको भकारीमा लुक्छु, बुबा खै भनेर सोध्यो भने घरमा हुनु हुन्न भनिदिनू । साहूले बुबाको बारेमा सोधेपछि छोराले भनेछ – मेरो बुबा त घरमा पनि हुनुहुन्न, भकारीमा पनि हुनुहुन्न ।’