अन्तर्वार्ता/विचारशनिबार, पौष ७, २०६९

एमाओवादी बिबाद एकअर्कालाई निषेध गर्ने तहको छः मणि थापा

हिमालखबर

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मणि थापासँग एमाओवादी विवादबारे गरिएको वार्ता । द्वन्द्वकालभरी थापा माओवादीको पोलिटब्यूरो सदस्य थिए ।

एमाओवादीमा अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईबीचको बिबादलाई कसरी हेरिरहनुभएको छ ?
अहिले दाहाल र भट्टराईबीच चलेको बिबाद सामान्य स्तरको होइन । यो द्वन्द्वकालमा चुनवाङ बैठकअघि चलेको बिबाद जत्तिकै गम्भीर छ । जति समय लम्बिदै गएको छ, बिबाद पनि झन झन गहिरिदै गएको देखिन्छ ।

बिबादको कारण के होला ?
यो बिबादको जड भनेको उनीहरुको महत्वाकांक्षा नै हो । यसैगरी, अर्को कारण भनेको आफ्नो शक्ति सुदृढ गर्ने प्रयास हो । माघ २० गते हुने महाधिवेशनमा भट्टराई प्रधानमन्त्रीकै रुपमा जान चाहन्छन् । किनभने, त्यसो गर्दा उनी त्यहाँ हावी हुनसक्छन् । दाहाल भने महाधिवेशन अघि नै भट्टराईको प्रधानमन्त्री पद खुस्काउन चाहन्छन् । किनभने, त्यसो गर्दा मात्र उनी महाधिवेशनबाट शक्तिशाली बन्न सक्छन् ।

यो बिबाद महाधिवेशन लक्षितमात्रै हो त ?
बिबादलाई बुझ्न एमाओवादीमा बदलिएको शक्तिसन्तुलनलाई पनि हामीले बुझ्नुपर्छ । भट्टराईको पक्षमा बाहिरी जनमत अहिले घटेको भए पनि सत्ताका कारण पार्टीमा उनको स्थिति केही बलियो भएको छ । त्यो दाहालले राम्ररी बुझेका छन् । पहिले दाहालका मूख्य समर्थक रहेको वैद्य पक्ष फुटेपछि दाहाल पहिलेभन्दा यसै कमजोर बनेका थिए । दाहाललाई कमजोर पार्न अहिले भट्टराईले राज्यका साधनस्रोतमा आफ्नो एकलौटी नियन्त्रण बनाएका छन् । जसले, दाहाललाई अप्ठ्यारो पारेको छ भने आक्रोशित पनि पारेको छ । भट्टराईले आफूलाई कमजोर पार्न सबै विधि अपनाएका कारण अहिले उनीहरु एकले अर्कालाई निषेध गर्ने तहसम्म पुगेका हुन् ।

बिबादको पटाक्षेप कसरी होला त ?
‘जनयुद्ध’ सुरु हुनुअघि दाहालले जनमोर्चाको अध्यक्षबाट भट्टराईलाई हटाएर पम्फा भुसाललाई अध्यक्ष बनाएपछि दाहाल र भट्टराईको बिबाद सुरु भएको हो । तर, उनीहरुबीचका सबै बिबाद लेनदेन हुँदै सम्झौतामा टुङ्गिएका छन् । के लेनदेन हुन्छ र कसरी सम्झौता हुन्छ भन्ने निश्चित नभए पनि उनीहरुबीच सम्झौता भने हुन्छ नै । बिबाद निकै गहिरिएका कारण सम्झौतामा पुग्न त्यति सजिलो चाहिँ छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>