टिप्पणीआइतबार, पौष ८, २०६९
सन्तनेताको आश्रमबाट हिंसाको उदघोष
८ पुसमा ललितपुरको बाँडेगाउँस्थित सन्त नेता भट्टराईको आश्रममा आयोजना गरिएको जन्मजयन्ती समारोहमा उनले भनेका छन्, “म गान्धीवादी होइन, कसैले थप्पड हान्दा अर्को गाला थाप्दिन, म माओवादी हुँ, अरुले जस्तो गर्छन्, म त्यस्तै जवाफ दिन्छु ।” भट्टराईको यो अभिव्यक्ति तत्काल सहमति अपरिहार्य रहेको मुलुकको राष्ट्रिय राजनीतिलाई जबर्जस्ती मुठभेडतर्फ होम्ने शैलीमा आएको छ । भट्टराईले नामै किटेर राजनीतिक सहमतिका निम्ति उनको बहिर्गमनको मुद्धा उठाइरहेका विपक्षी दलहरुलाई यस्तो धम्की दिएका हुन् । उनको यस्तो अभिव्यक्ति त्यतिबेला आएको छ, जतिखेर विपक्षी दलहरु र उनकै पार्टी एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल समेत मुलुकको राजनीतिलाई सहमतिको यात्रामा फर्काउन अथक प्रयत्न गरिरहेका छन् । यो बेग्लै हो कि, राष्ट्रपति डा. रामवरण यादवले बारम्बार समयसीमा तोक्दै र म्याद थप्दै दलहरुलाई तारन्तारको ताकेता गरिरहँदा पनि सहमति जुट्न सकेको छैन ।
१४ जेठ मध्यरातमा दलहरुबीचको सहमति लत्याउँदै एकपक्षीय रुपमा संविधानसभाको अवसान गराएर मुलुकलाई शून्यतातर्फको यात्रामा धकेलेका भट्टराई सहमतिका (एकमात्र) प्रमुख बाधक हुन् भन्ने सत्य अब कहीँ कतै छिपेको छैन । गएको २ पुसमा उनकै दलका अध्यक्ष दाहाल सहित नेपाली कांग्रेस र नेकपा एमाले राजनीतिक सहमतिको नयाँ सरकार गठन गरेर मुलुकलाई निकास दिने सहमति नजिक पुगेको अबस्थामा भट्टराईकै चरम सत्तामोहले सहमतिको त्यो प्रयासलाई तुहाइदिएको प्रसंग अरु कोहीबाट नभएर उनकै पार्टीबाट सार्वजनिक भइसकेको छ । ‘जस्तोसुकै त्याग गर्न तयार रहेको’ भन्ने उनको देखावटी प्रतिबद्धता व्यवहारतः ठीक उल्टो सावित भएपछि राष्ट्रपतिले चौंथोपटक प्रमुख चार राजनीतिक दललाई दिएको समयसीमाभित्र पनि दलहरुबीच सहमति जुट्न सकेन र विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलहरुको ‘जम्बो समूह’बाट सहमति खोज्नुपर्ने अबस्था आएको छ । यो बेग्लै हो कि, दाहालले नेतृत्व गरेको एमाओवादी, पार्टीको निर्णय नटेर्ने खुलेआम घोषणा गर्दै हिडेका भट्टराईलाई ‘छुन’ नसक्ने निरीह अबस्थामा देखिएको छ ।
राष्ट्रिय राजनीति योविघ्न अन्योलमा फँसेका बेला सन्त नेता भट्टराईको जन्मजयन्त्रीमा प्रधानमन्त्री भट्टराईलाई प्रमुख अतिथि बनाउनुमा आयोजकको एउटै उद्धेश्य हुनसक्छ– कम्तीमा भट्टराईले सहमति र मेलमिलापको आवश्यकता बोध गर्दै सन्तनेताकै आश्रम प्रांगणबाट त्यसका निम्ति उपयुक्त कुरा राखून् । संबैधानिक–राजनीतिक संकट चुलिएर मुलुक डरलाग्दो सुरुङभित्र प्रवेश गरेको अबस्थालाई बोध गर्दै कम्तीमा आगामी बैशाखभित्र निर्वाचन सुनिश्चित गर्ने गरी सहमतिको पहलकदमी गरुन् । मुलुकको कार्यकारी प्रमुख हुनुका नाताले जस्तोसुकै त्याग गरेर भएपनि सहमतिको संस्कार बसाउने मुलुभुत जिम्मेवारी उनकै हो ।
तर, उनले सन्त नेताको आश्रमलाई नै प्रदुषित तुल्याउने गरी ‘म गान्धीवादी हैन, माओवादी हुँ’ भनेर हिंसा र मुठभेडको खुलेआम आह्वान गरेका छन् । यतिखेर मुलुकमा निषेधको राजनीति सबैभन्दा ज्यादा कसैले गरिरहेको छ भने त्यो भट्टराई र उनकै नेतृत्वको ‘एमाओवादी–मधेशी’ गठबन्धनबाट भइरहेछ । तर, बाँडेगाउँमा उनले विपक्षी दलहरुलाई ‘निषेधको राजनीति’ गरिरहेको संगीन आक्षेप लगाए र सहमतिका लागि भइरहेका सम्पूर्ण प्रयासको एकमुष्ठ अबमूल्यन गर्ने काम गरे । चुनवाङ बैठकबाट ‘हिंसा र निषेधको राजनीति’ हैन, संसदवादी दलहरुसँगको ‘सहमति र सहकार्य’ नै एकमात्र विकल्प रहेको निक्र्योलसहित शान्तिपूर्ण लोकतान्त्रिक राजनीतिमा माओवादीलाई ल्याउने ‘आर्किटेक्चर’ मानिएका भट्टराई आफूलाई इतिहाँसकै सर्वाधिक ‘कलंकित नेता’मा पंक्तिवद्ध गराउने विन्दुमा आइपुगेका छन् । ‘मेरै नेतृत्वमा केही समय सहमतिको सरकार हुनुपर्छ, त्यसो नभए सहमति हुदैन’ भन्ने उनको पछिल्लो अभिव्यक्तिले भट्टराई सहमति भाँड्न मात्र उद्यत रहेको पुनर्पुष्टि गरेको छ ।