व्यक्तित्वसोमबार, पौष ९, २०६९
दिलदार दिलशोभा
काठमाडौंको कालीमाटी सोल्टीमोडबाट कलंकीतिर जाँदा बायाँपट्टिको एउटा साँघुरो गल्लीभित्र छिरेपछि छ दशक उमेर पुरा गरेकी दिलशोभा श्रेष्ठ भेटिन्छिन् । उनी त्यहाँ १८ महीनाको नानीदेखि ९२ वर्षका वृद्धवृद्धालाई ममता बाँडेर बसेकी छन् । नश्वर जीवनमा मानवीय दिलको विशालता र मानवताको शोभा बढाइरहेकी दिलशोभाले ६ आना जग्गामा बनेको आफ्नो पुरानो तीनतले घरमा ९२ जनालाई आमाको स्नेह दिएकी छन् ।
जीवन सोचे जसरी बग्दैन, त्यसमा असामान्य उतारचढावहरू आउँछन् । दिलशोभाले पनि आफ्नै जीवनमा धेरै उतारचढाव भोगेकी छन् । १८ वर्षकी छोरीको विवाहको तयारी भइरहेको बेला सबै चल सम्पत्ति चोरेर हिंडेका श्रीमानले दोस्रो विवाह गरेर उनलाई छाडिदिए । त्यो अवस्थामा उनले तीन पटक आत्महत्याको प्रयास गरिन् । चौथो पटक छोरीले ‘बाबाले छोरो नजन्माएको भनेर तपाईंलाई छाड्नुभयो । म छोराले जस्तै काम गर्छु । हामी नमर्ने माँ’ भनेको अझ्ै पनि गुन्जिन्छ, दिलशोभाको कानमा । आज तिनै छोरीले असहायहरूका लागि अमेरिकाबाट मासिक रु.२० हजार पठाउँछिन्, जसको बलमा दिलशोभाले १५० भन्दा बढीको स्याहार गरिसकिन् । अहिले उनको आमाघरमा ३९ वृद्धा, चार वृद्ध र ४९ द्वन्द्वपीडित बालबालिका छन् । यसबीचमा चामल, तरकारी र दाल नभएको बुझ्ेर वृद्धवृद्धाले ‘आज हामी व्रत बसेको है माँ’ भनिदिंदा कति पटक मायाले भक्कानिएकी छन्, दिलशोभा ।
छोरी अन्माएर एक्लिएकी दिलशोभालाई २०५३ सालको हिउँदमा एक महिलाले त्रिपुरेश्वरको एउटा घरको छिंडीमा लगिन् । ट्वाइलेट नजिकैको त्यो अँध्यारो र गन्हाउने छिंडीमा हीराको टप लगाएकी एक वृद्धा थिइन् । उनी राजधानीका ठूला गहना व्यापारीमा गनिने चार छोराकी आमा रहिछन् । उनीहरूले पालैपालो उनलाई खाना पठाइदिंदा रहेछन् । तर दिलशोभा पुग्दा उनको मुखमा माड नपरेको तीन दिन भएको थियो । उनीसँग मुखसम्म हात लैजाने तागत पनि बाँकी थिएन । दिलशोभाले तिनै आमालाई लगेर आमाघर शुरू गरेकी हुन् ।
आमाघरमा वीर अस्पताल, प्रहरी चौकीमा अलपत्र परेकाहरूले ममता पाएका छन् । यहाँ आउन नागरिकता, स्थायी ठेगाना वा ठूला मान्छेको सिफारिस चाहिंदैन । दिलशोभा ती आर्तहरूको विगत पनि कोट्याउँदिनन् । कर्णालीका द्वन्द्वपीडित बालबालिका पनि थपिएपछि आमाघरमा अझ् उल्लास छाएको छ । हजुरबा–आमाले नातिनातिना र नातिनातिनाले हजुरबा–आमा पाएका छन् । दिलशोभा भन्छिन्, “एउटा चकलेट हात लाग्यो भने मेरो नातिलाई भनेर राखिदिन्छन् ।”
–सन्त गाहा मगर