रमझममंगलबार, पौष १०, २०६९
नेपालको कर कानून
लेखकः डा. चन्द्रमणि अधिकारी
प्रकाशकः पैरवी प्रकाशन
पृष्ठः २३४,
मूल्यः रु.२९५
करको अवधारणा, आवश्यकता, सिद्धान्त, करसम्बन्धी कानून निर्माणका नियमहरूको मिहीन व्याख्या गरिएको किताबमा करको स्रोत, कर र गैरकर बीचको भिन्नता, राज्यले कर निर्धारण गर्ने आधार जस्ता जटिल तथा प्राविधिक कुराको सहज व्याख्या गरिएको छ ।
करले बचत, लगानी र उत्पादनलाई सकारात्मक असर पार्नुपर्नेमा जोड दिंदै लेखकले नीतिनिर्माताहरूलाई लगानी र उत्पादनशीलतामा असर नपर्ने गरी कर लगाउन सुझाएका छन्। कर लगाउँदा जनताले कर तिर्न सक्ने क्षमता, उनीहरूले प्राप्त गर्ने सेवा र लाभ जस्ता विषयमा ध्यान दिइनुपर्ने उनको आग्रह छ ।
पुस्तकमा व्यापार मौज्दातको गणना गर्ने लेखाको सर्वमान्य सिद्धान्तका साथै मूल्य अभिवृद्धि करको इतिहास, नेपालमा यसको विद्यमान अवस्था र मूल्य अभिवृद्धि कर विवरण फारम राख्ने तरिकाबारे नमूनासहित प्रकाश पारिएको छ। करदाताको अधिकार तथा कर्तव्य, कर प्रशासन, राजस्व संगठनको ढाँचा, अर्थ मन्त्रालयका कार्यहरू, भन्सार संगठन तथा प्रशासन र तिनीहरूको क्षेत्राधिकारबारे विस्तृत चर्चा गरिएको किताबमा कर सम्बन्धी सर्वाेच्च अदालतले गरेका निर्णय र केही फैसलाको पूर्ण पाठ समेत समावेश गरिएको छ ।
१० परिच्छेदमा विभाजित पुस्तकमा करसम्बन्धी सैद्धान्तिक, नीतिगत र व्यावहारिक कुरा तथा कर कानूनसम्बन्धी राष्ट्रिय–अन्तर्राष्ट्रिय इतिहास र अनुभव पनि समेटिएको छ। विद्यार्थी र प्राध्यापकदेखि नीतिनिर्माता, कर्मचारी, सञ्चारकर्मी र आम मानिसका लागि प्रशस्त उपयोगी हुनसक्ने जानकारी भएको नेपालको कर कानून कति ठाउँमा पाठ्यपुस्तक पढेजस्तो लाग्नु र छपाइमा कमसल कागजको प्रयोग हुनु किताबका कमजोरी हुन् ।
गोविन्द लुईंटेल