रमझमबुधबार, पौष ११, २०६९
‘बिहे गरेरसँगै बस्न मन लागे पनि मनलाई बाँधेर बस्नुपर्ने अवस्था छ’
अहिलेका चल्तीका कमेडी स्टार हुन्, दीपकराज गिरी । यिनै हास्यकलाकारले नेपाल टेलिभिजनमा तीतोसत्य हास्यटेलिश्रृंखला ल्याएपछि नेपाली टेलिभिजन च्यानलमा हास्यश्रृंखलाको बहार नै आएको थियो । उनको श्रृंखला तीतो सत्य प्रसारण भएको १० वर्ष पुग्न लागेको छ । यो १० वर्षमा सर्वाधिक हँसाउने कार्यक्रममा दरिएको मात्र छैन एकदशकयता टेलिभिजनको इतिहासमा सबैभन्दा बढी हेरिने टेलिभिजन कार्यक्रममा पर्छ, तीतो सत्य । यसको प्रमुख श्रेय उनै दीपकलाई जान्छ । प्रस्तुत छ, हिमालखबरसँगको कुराकानीः
तीतो सत्य प्रसारण भएको एकदशक पुग्न लाग्यो, सन्तोष पन्तको हिजोआजका कुरा विस्थापित गर्दै आएको यो सिरियल अहिले पनि सर्वाधिक हेरिने कार्यक्रममा पर्छ, कसरी यतिका वर्ष टिक्यो ?
– जनताले खोजेको परिवर्तन हो, चाहे राजनीतिमा होस् या कलामा । घरमा पनि सधैं एउटै तरकारी खाँदैनन्, नयाँ स्वाद हरेकले खोज्छन् । हिजो हिजोआजका कुरा एउटै स्वादले मोनोटोनस भएका बेला तीतो सत्यले नयाँ स्वाद दियो, अब मैले पनि स्वाद चेन्ज गरिनँ भने अर्कोले मलाई पनि परिवर्तन गरिदिन्छ । खासमा कमेडीलाई प्रिजेन्टेसन गर्ने शैलीमा परिवर्तन गर्यो, पहिला स्लो कमेडी हुन्थ्यो भने अहिले फास्ट भएको छ । यो सबै प्रिजेन्टेसनको कमाल हो ।
तीतो सत्यपछि जिरेखुर्सानी, मेरीवास्सै लगायतका बग्रेल्ती हास्यसिरियल आए, अरू सामाजिक पारिवारिक सिरियल किन चलेनन् ?
–सिरियलका निर्माता÷निर्देशकले भारतीय च्यानलबाट आउने कसौटी जिन्दगीकी कपी गर्न थाले, त्यस्तै खालका पात्र, त्यस्तै अभिनय शैली । रिमोट हातमा छ किन डुब्लिकेट हेर्ने भन्दै ओरिजिनल हेर्न थाले । तर कमेडीमा त्यो भएन, राम्रा राम्रा कमेडी सिरियल आउन थालेपछि अरू त्यसै विस्थापित भए ।
पछिल्लो एकदशकयताको समय कमेडी सिरियलका लागि उर्वर हो ?
– उर्वर हो, क्रेज पनि छ, तर कमेडी सिरियल भन्दै बीचबीचमा झट्केला कमेडी आए, जसले हामीलाई सुताइदेलान् जस्तो भयो । यिनका कारण पनि कमेडीमा वितृष्णा बढाउने काम भयो ।
एक श्रृंखलाबापत कति पारिश्रमिक पाउँछ तीतो सत्यले ?
– रु.१ लाख ६५ हजार पाउँछ । टेलिभिजन कार्यक्रममा सबैभन्दा बढी पैसा तीतो सत्यले नै लिन्छ ।
तीतो सत्य लगायतका अन्य हास्यसिरियलले तपाईंहरू निर्माता रहेको मिडिया हवले पैसा दिएन भन्ने चर्चा छ नि ?
–पैसा नै नपाएको भन्ने त हैन तर समयमा चैं नपाएको हो । महीना मरेपछि पाइँदैन त्यही हो समस्या । आर्थिक मन्दीको मारमा सिरियल र मिडिया एजेन्सी छन्, अहिले ।
समाजसेवातर्फ पनि लाग्नु भा रै’छ नि ?
– म र दीपाजी मिलेर दिदी नामक संस्थामार्फत समाजसेवामा लागेका हौं । त्यसमा हामी हाम्रो कमाइको १० प्रतिशत जम्मा पनि गर्छौं । तर १० प्रतिशतले केही हुँदैन । विदेशीको सहयोग छैन, एनजीओ आईएनजीओको सहयोग छैन तथापि सक्दो सहयोग गर्दै आएका छौं । गएको गाईजात्रामा एचआईभी पीडित बालबालिकाका लागि रु.१ लाख सहयोग दियौं भने मैले मेरो गाउँमा एम्बुलेन्स पनि किनेको छु । अहिले हामीले तीन जना बालबालिकालाई पढाएका छौं भने वर्षैपिच्छे थप्ने गरेका छौं । कोही असहाय आउँछन्, कोही घर जान गाडी भाडा भएन भन्छन्, सक्दो सहयोग गर्दै आएका छौं ।
तीतोसत्यअघि धेरै फिल्ममा देखिनुहुन्थ्यो, पछिल्लो समयमा ठूलो पर्दामा तपाईंको उपस्थिति नै छैन नि ?
– एक त तीतोसत्यको कारण व्यस्तता हुन्छ भने अर्को कुरा ठूलो पर्दामा राम्रो बजेट पाइँदैन । अर्काको मेकिङमा काम गर्दा हास्यकलाकारमाथि न्याय भएको देखेको छैन मैले । हास्यकलाकारका लागि गतिलो स्क्रिप्ट हुन्न आफैंले लेख्नुपर्छ ।
ठूलो पर्दाका चलचित्र कत्तिको हेर्नुहुन्छ ?
– सयमा १० देखि २० वटा सम्म हेर्छु । चर्चामा आएका र राम्रा भनेर रिभ्यू आएका चलचित्र हेर्छु ।
कस्ता लाग्छन् त ?
पछिल्लो समयमा टेक्नोलोजीमा हामी पर्फेक्ट भएका छौं । कथा, पटकथा, संवाद र प्रस्तुतीकरण चैं धेरै कमजोर छ । पात्र परिचय गतिलो हुँदैन । कुनै कथा उठान गरे पनि समापन गर्ने सुन्दर कला छैन नेपाली निर्देशकमा । विदेशी चलचित्रको कपी भइरहेकै छ ।
ठूलो पर्दा र सानो पर्दाको फाइदा, बेफाइदा ?
– ठूलोमा दर्शक कम छन् । जम्मा जनसंख्याको दुई अढाइ प्रतिशत भन्दा माथिले हेर्दैनन् भने सानो टिभी भएका सबैले हेर्छन् । ६५ प्रतिशतसम्मले टेलिभिजन कार्यक्रम हेर्छन् । ठूलो पर्दाको चलचित्र छोरानातिले दोहोर्याई तेहर्याई हेर्न सक्छन्, सानोमा त्यस्तो हुँदैन एकपटक आयो, गयो । चाँडै हिट चैं सानो पर्दाबाट हुन्छ, कलाकार ।
तपाईंको मन पर्ने नेपाली कलाकार ?
– हरिवंश आचार्य ।
केही वर्ष पहिले हरिवंश राम्रो कलाकार भन्दा तपाईंले इण्डियामा अभिताभ पनि चलेको छ, शाहरूख खान उस्तै क्रेज छ, भन्दै हिंड्नु भयो रे नि ?
– खासमा एउटा साप्ताहिकले मलाई नम्बर एक दीपक भनेर लेख्यो, अरू हास्यकलाकार साथीले आफू नम्बर एक भन्न त सकेनन् तर आपत्ति जनाएछन् हरिवंश नम्बर एक कि दीपक भनेर । त्यो सन्दर्भमा मैले भारतमा अमिताभ बच्चन जस्तै हो हरिवंश नेपालमा, तर अहिले शाहरूख पनि नम्बर एक नै हो भनेर संझाएको थिएँ । हरिवंश दाइसँग पनि मेरो अर्कै विषयमा मिस अण्डरस्ट्याण्डिङ थियो तर त्यो समाधान भइसक्यो । म उहाँलाई आदर मात्र हैन उच्च आदर गर्छु ।
तपाईंको नेतृत्वमा हास्यकलाकार समेटेर ठूलो पर्दाको फिल्म बन्दै रै’छ नि त ?
– हो । अहिलेका चल्तीका सात जना हास्यकलाकारलाई हिरो बनाएर कमेडी चलचित्र निर्माण गर्न लागेका हौं । चलचित्रमा म आफैं, जिरेखुर्सानीका शिवहरि पौडेल, जीतु नेपाल, मेरीवास्सैका केदार घिमिरे, सीताराम कट्टेल, विल्सन विक्रम राई र रवि डंगोल बेइमानको अभिनय रहनेछ । कथा म आफैंले लेखेको हुँ । तीतोसत्य ५०० श्रृंखला पुगेको अवसरमा एक भव्य कार्यक्रम गरी चलचित्रको घोषणा गर्ने तयारी भइरहेको छ ।
–
तपाईंहरूलाई सानो पर्दामै राम्रो नाम–दाम कमाइरहेका बेला फेरि किन ठूलो पर्दातिर ?
–सानो पर्दामा कमेडी सिरियलका लागि उर्वर समय भए पनि ठूलो पर्दा चलचित्रका लागि संकट छ । हामी आएपछि कमेडीमय बन्यो सानो पर्दामा । अहिलेसम्म राम्रो छ, हामीले एउटै विषयवस्तु, एउटै हास्य हेर्दा हेर्दा वाक्क भएका दर्शक सानो पर्दाका चर्चित कलाकार लिएर फरक ढंगले काम गर्दा चलचित्रमा दर्शक आउँछन् भन्ने हाम्रो अपेक्षा हो, ठूलो पर्दामा पनि दर्शक तान्न हाम्रो केही योगदान हुन्छ कि भन्ने हो ।
चलचित्रमा लगानी चैं कसले गर्दैछ ?
– म आफैं पनि छु । अन्य केही हास्यकलाकार पनि छन् । कलाकार निर्मल शर्मा ‘गैंडा’ले पनि यस चलचित्रमा लगानी गर्दै हुनुहुन्छ ।
तपाईं र दीपाश्री निरौलासँगको सम्बन्धबारे अनेक टीकाटिप्पणी हुन्छ, खास सम्बन्ध के हो ?
–संसारका सबै सम्बन्धको गन्तव्य हुँदैन, परिभाषा हुँदैन । हामी लामो समयदेखि सँगै काम गर्दै आएकाले र विपरीत लिंगी भएकाले हाम्रो सम्बन्धमा यस्ता प्रश्न उठ्छन् । कतिपय प्रेम छ भन्छन्, म पनि छ भन्छु । यत्रो वर्ष सँगै काम गरियो, मलाई उहाँ मन पर्छ, म पनि उहाँलाई मन पर्छु होला । यसबीचमा माया पलाउनु, एकले अर्कालाई केयरिङ गर्नु अस्वाभाविक हैन । एकछिनलाई मानौं मलाई उहाँलाई बिहे गर्न मन लाग्यो, सँगै बस्न मन लाग्यो भने पनि हाम्रो मनलाई बाँधेर बस्नुपर्ने अवस्था छ । किनभने हरेक हप्ता हामी समाज परिवर्तनका, समाज सुधारका कुरा देखाउँछौं अनि आफैं दोस्रो बिहे गरेर हामीलाई व्यंग्य हान्ने अधिकार हुन्छ कि हुँदैन ?
त्यसो भए तपाईंको बिहे भएको थिएन भने बिहे हुन्थ्यो, तपाईंहरूको ?
– शायद हुन्थ्यो होला कि । अब अहिले त नैतिकताको कुरा हुन्छ, प्रेम हुँदाहुँदै पनि आदर्श बनाएर राख्नुपर्ने हुनसक्छ । निखिल उप्रेती एकताका नेपाली चलचित्रको राम्रो हिरो हुनुहुन्थ्यो, सञ्चिता लुइँटेलसँग बिहे गरेपछि उहाँ आदर्श हिरो हैन भिलेन जस्तो हुनुभयो । हिजो जुन ठाउँमा हुनुहुन्थ्यो त्यो ठाउँ छैन उहाँका लागि । त्यसैले नैतिक बाध्यताले हामीहरू बाँधिनुपर्ने हुन्छ ।