ब्लगशनिबार, जेठ ६, २०६९

कहिले खुल्ने चेत?

डम्बरकृष्ण श्रेष्ठ

विनाश र संरक्षणः काठमाडौं, सिंहदरबार- जेठ २०६७ (माथि) र बिहारको अररिया-सुपौल सडक- फागुन २०६८।

• २०६२ जेठमा सरकारले सडकका गाडी र पेटीका बटुवा जोगाउन भन्दै काठमाडौं, पाटन र भक्तपुरका सडक किनारका रूखहरू काटेर सोत्तर पार्‍यो।

• २०६७ जेठको पहिलो साता सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव बालानन्द पौडेल, हाल काठमाडौंको टोल-टोलमा कायम सरकारी डोजर आतङ्कका सारथि नेपाली वास्तुकला विकास र संरक्षण विषयका पीएचडी काठमाडौं नगर विकास समितिका प्रमुख भाइकाजी तिवारी, जिल्ला वन कार्यालय काठमाडौंका रेञ्जर सुरेन्द्र अधिकारी लगायतका सरकारी हाकिमहरूको मिलेमतोमा सामान्य प्रशासन मन्त्रालय परिसरका ४८ मध्ये ६ वटा रूख काटियो। नगर विकास समितिले ठूला १९ सहित ४८ वटा रूखको रु.४८ हजार ५०२ मूल्याङ्कन गरेर ठेक्का दिएको थियो। हिमाल ले यो बद्मासीको पोल खोलेपछि ४२ वटा रूख भने जोगिए।

• भयावह स्तरमा वन फँडानी भएको भन्ने पर्यावरणविद्हरूको चिन्तापछि सरकारले २ असार २०६७ देखि दुई महिना देशभर रूख कटानमा रोक लगायो। त्यस बेलाको शृङ्खलाबद्ध वन फँडानीमा राजनीतिक संरक्षणप्राप्त काठ तस्कर गिरोहहरूको संलग्नता थियो। यस्तो फँडानीकै कारण वनमन्त्री दीपक बोहोरा चर्चित भए। अहिले पनि देशभर रूख कटानी र तस्करीका समाचारहरू आइरहेकै छन्।

हरियो वन नेपालको धन भन्ने नारा लगाइएको देशमा माल पाएर चाल नपाएको उखान चरितार्थ भइरहेको छ, बहुमूल्य वनजङ्गल हेर्दाहेर्दै हराउँदै छन्।

फागुन दोस्रो साता पूर्वोत्तर बिहारको सडकमा मोटरसाइकल यात्रा गरिरहँदा वन सम्बन्धी नेपालको अवस्था सम्झ्नामा आए। बिहारीहरूले उसै मजाले चिल्ला र फराकिला सडकहरूसँगै त्यसका किनारमा लहलह रूखहरू जोगाएका छन्। बन्जर र खाली जमिनहरूलाई पनि वन क्षेत्र बनाउँदैछन्। अररियाको रानीगञ्जबाट सुपौलतिर लाग्दा सडक विस्तार गर्दा रूखहरूको जतन गरेको देखियो। कतिपय सडकहरू हुर्किएका रूखलाई बीचमा पारेर अघि बढेका छन् (हे.तस्बिर)। रानीगञ्ज-फारविसगञ्ज सडकछेउको १८६ एकड खाली जमिनमा चिडियाखाना, बोटानिकल गार्डेन र जैविक उद्यानसहितको वृक्ष-वाटिका बन्दैछ।

हरित क्रान्ति थालेका बिहारीहरू धमाधम वृक्षरोपण गरिरहेका छन्, भएका रूखहरू जोगाउँदै। उनीहरूको यो जाँगर र उत्प्रेणा बारे बुझन खोज्दा फारविसगञ्जका पत्रकार पङ्कज रणजीतले पूर्व वन तथा पर्यावरण मन्त्री रामजीदास ऋषिदेवसँग फोन सम्पर्क गराइदिए। ऋषिदेवको कुराबाट यस्तो कामका लागि सबभन्दा पहिला राज्यकै भिजन र इच्छाशक्ति चाहिने रहेछ भन्ने थाहा भयो, जुन इमानदार सरकारसँग मात्र हुन्छ। “आज रूख नजोगाए भोलि हाम्रा सन्तानले श्वास लिन पाउने छैनन् भनेर समाजलाई बुझाउनुपर्छ, हरियाली आफैं फर्कन्छ” बिहारको वन कार्यक्रममा महत्वपूर्ण भूमिका खेलेका पूर्व मन्त्री ऋषिदेवको भनाइ थियो।

अररिया वन कार्यालयले वन सम्पदा कुनै पनि देशको लागि हरियो सुन साबित हुने सन्देश भएका साइनबोर्डहरू ठाउँ-ठाउँमा राखेको रहेछ। त्यस अनुसार, वनको कारणले मानवजीवनको सुरक्षा र उत्पादनमूलक काम हुन्छ। वनकै कारण विभिन्न जैविक ग्यास र मौसम सन्तुलन सहज हुन्छ। प्राकृतिक प्रकोप रोक्न र वातावरण स्वच्छ पार्नदेखि वन्यजन्तुको बासस्थानसम्मलाई वन चाहिन्छ। वन नभए जडीबुटी, कागज, कपडा र रङ हुँदैन। त्यसैले वन सम्पदाको संरक्षण सबैले नगरी नहुने जरुरी पुण्यको काम हो।

हरित क्रान्ति योजना अन्तर्गत बिहारका ३८ जिल्लाका ८,४७१ ग्राम पञ्चायतमा वृक्षरोपणको लहर चलेको रहेछ। हरेक ग्राम पञ्चायतमा कम्तीमा ६ हजार बिरुवा रोपिँदैछ। यसको मूल उत्प्रेरणा के छ भने, केही वर्षयता द्रूत आर्थिक प्रगतिबाट संसारको ध्यानाकृष्ट गरेको बिहारले वन संरक्षणमा पनि दुनियाँलाई चकित पार्न चाहन्छ। सीमापारि भइरहेको यो चमत्कारबाट हामीले कहिले सिक्ने?

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>