टिप्पणीशनिबार, पौष १४, २०६९
दिल्लीको प्रदर्शन र काठमाडौंबासीको मौनता
२३ बर्षीया एक छात्राको सामूहिक बलात्कारपछि दिल्लीमा जारी प्रदर्शनले अन्तर्राष्ट्रिय जगतको ध्यान तानेको छ । सामूहिक बलात्कारपछि उपचारका लागि सिंगापुर पुरयाइएकी ती महिलाको उपचारका क्रममा १४ पुसमा निधन भएको अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री मनमोहन सिंहले छात्राको निधनमा शोक व्यक्त गर्दै महिलाको सुरक्षा बढाउने र वर्तमान कानूनमा पनि समीक्षा गरिनु पर्ने आबश्यकता औल्याएका छन् । बलात्कारको घटनापछि राजधानी दिल्ली लगायत भारतका विभिन्न शहरमा पछिल्ला केही दिनदेखि प्रदर्शन भइरहेका छन् ।
प्रदर्शनका कारण अन्तर्राष्ट्रिय जगतको ध्यान नयाँदिल्ली केन्द्रीत भएको छ । भारतीय अभिनेता, लेखक, नागरिक अभियन्ता, विदेशी लेखक र समाजका प्रतिष्ठित व्यक्तिहरुले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
यता, नेपालमा भने महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा भएको १२ महिलाको हत्याले काठमाडौंबासीलाई छुन समेत सकेको छैन, भारतमा जस्तो प्रदर्शन त कता हो कता ?
३ मंसीरमा वैदेशिक रोजगारीबाट फर्किएकी महिलामाथि अध्यागमनका कर्मचारीले लुटपाट गरे अनि सुरक्षाकर्मीले उनीमाथि बलात्कार गरे । बर्दियाकी शिवा हासमीलाई जलाएर हत्या गरिएको घटना सेलाउन नपाउँदै बारामा घरबाट ट्युसन पढ्न निस्केकी अर्की १६ बर्षे किशोरी बिन्दु ठाकुरको ११ पुसमा बीभत्स ढंगबाट हत्या भयो ।
भोजपुरकी युवतीको अध्यागमनका कर्मचारी र सुरक्षाकर्मीले इज्जत र सम्पत्ति लुटेपछि राजधानीमा छिटपुट प्रदर्शन भए । यस्ता प्रदर्शनपछि मन्त्रिपरिषदले पीडित महिलालाई डेढलाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरे पनि घटनाको अध्ययन गरी दोषीमाथि कार्बाही गर्नेतर्फ कत्ति पनि अग्रसरता देखाएको छैन । यसबाट बुझ्न सकिन्छ सरकार दोषीमाथि कार्बाही गर्न तयार छैन । हुन त हत्या र डकैतीको आरोपमा अदालतमा मुद्दा चलिरहेका सयौंको मुद्दा फिर्ता लिने निर्णय गरेको सरकारले महिलाको हत्या र बलात्कार जस्तो जघन्य अपराध गर्नेहरुमाथि कार्वाही गर्ने र त्यस्ता घटनाहरुलाई रोक्ने नैतिक साहस देखाउन सकेको छैन । सत्ताको खेलमा रुमल्लिएको नेपाली राजनीतिमा राजनीतिक दल, नागरिक समाज लगायत विभिन्न तह र तप्काका व्यक्तिहरुले पनि यस्ता घटनामा चासो देखाउन छोडेका छन्, जुन राष्ट्रिय लज्जाकै विषय हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
