रिपोर्टआइतबार, पौष १५, २०६९

राष्ट्रपतिको भारत भ्रमण, सफलताको चमक

हिमालखबर

-रामेश्वर बोहरा

मुलुकमा राजनीतिक–संवैधानिक संकट चुलिएको बेला दक्षिण छिमेकी भारतको भ्रमणमा निस्केका राष्ट्रपति डा. रामवरण यादवको अनुहार ६ दिनको भ्रमण सकेर १४ पुस दिउँसो स्वदेश फर्कंदा चम्किलो देखिन्थ्यो ।

नेपालसँगको ऐतिहासिक धार्मिक, सांस्कृतिक, शैक्षिक र राजनीतिक सम्बन्ध रहेको बनारस शहरबाट भ्रमण शुरू गरेका उनलाई दिल्लीको चार दिन लामो राजनीतिक भेटघाटले गलाउनुको साटो फुर्तिलो बनाउनुको एउटै कारण थियो, राजनीतिक सहमतिको सरकार निर्माण गरी आगामी वैशाख—जेठभित्र निर्वाचन गराउन आफूले शुरू गरेको अभियानमा भारतीय नेतृत्वबाट पाएको सद्भाव र समर्थन । त्यही कारण हुनुपर्छ, नयाँदिल्लीको ओवराय होटलमा भएका दर्जनौं औपचारिक/अनौपचारिक भेटघाट, राष्ट्रपति निवास रायसिना हिल र प्रधानमन्त्री निवास सेभेन रेसकोर्स रोडमा भएका ‘हेक्टिक’ दौडधुपले उनलाई थकानको साटो फुर्तिलोपन दियो ।

आफैंले शुरू गरेको राष्ट्रिय सहमतिको सरकार निर्माणको अभियान अलपत्र छाडेर ‘बनारस हिन्दू विश्वविद्यालय’ को मानार्थ विद्यावारिधि उपाधि लिने जस्तो कार्यक्रममा भाग लिन निस्किन लागेको आरोप भ्रमणअघि राष्ट्रपतिले खेप्नुपरेको थियो । तर, सहमतिको सरकार निर्माणमा तगारो बनिरहेको बाबुराम भट्टराई सरकारलाई भारतीय संस्थापनको समर्थन रहेको आमविश्वासको सत्यता आफैं पर्गेल्ने इच्छाका कारण आलोचनाहरूका बीच राष्ट्रपति ९ पुसमा दक्षिण उडेका थिए ।

राष्ट्रपतिको एजेण्डाले भारतमा समर्थन पाएको तथा उद्देश्य अनुरुप भ्रमण सफल भएको संकेत १३ पुसमा भारतीय विदेशमन्त्री खुर्शिदले ‘छिट्टै सहमतीय आधार तयार भई चुनाव भएर नेपालको समस्या समाधान हुनेमा भारत पूर्णरूपमा विश्वस्त छ’ भन्नुले दिएको छ । भारतको पछिल्लो राजनीतिक समीकरणमा प्रभावशाली देखिएका खुर्शिदले राष्ट्रपति यादवलाई एक्लै र समूहमा गरी तीन पटक भेटेका थिए ।

भारतीय राजनीतिक वृत्तको सद्भाव लिएर फर्किएपछि राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने राष्ट्रपतिको अभियानले गति लिनेमा शंका छैन । तर त्यसको अर्थ सहमतिको बाधक बनेको भट्टराई सरकारको चुनौती तत्कालै हट्छ भन्ने विश्लेषण गर्नु पनि अपरिपक्व हुनसक्छ । किनभने, भारतीय राजनीतिक तहले नै आफ्नो र सुरक्षा तथा जासूसी एजेन्सीहरूबीच तालमेल नमिलिरहेको स्वीकारेको सन्दर्भमा त्यहाँ व्यक्त सद्भावको परिणाम काठमाडौंमा तत्काल देखिन्छ भन्ने हुँदैन । केही समयदेखि नेपाल नीतिमा हावी भएको भारतीय सुरक्षा तथा जासूसी एजेन्सीहरूको लाइन मोड्न भारतीय राजनीतिकवृत्तलाई केही समय लाग्नेछ । तिनैको लविङमा टिकेको ठानिएको वर्तमान सत्तारुढ गठबन्धनले सहमतिको सरकार निर्माण र निर्वाचनलाई सकेसम्म पर सार्ने प्रयास गर्ने नै छ ।

चुनौतीपूर्ण रोजाइ

नेपालको वर्तमान राजनीतिक समस्याको कारक भारत रहेको र त्यसको समाधान नयाँदिल्लीबाट मात्र हुनसक्ने आममनोविज्ञान रहेका बेला राष्ट्रपति यादवको यो भ्रमण भएको हो । यस्तो समयमा राष्ट्रप्रमुखको भ्रमण अनेक हिसाबले खतरापूर्ण पनि थियो ।

विस्तृत रिपोर्ट हिमाल खबरपत्रिकाको १६–३० पुस अंकमा ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>