थप समाचारसोमबार, पौष १६, २०६९
भट्टराईको बहिर्गमन नभएसम्म सहमति हुँदैन: खनाल
१६ पुस विहान राष्ट्रपति निवास महाराजगञ्ज पुगेका अध्यक्ष खनालले बर्तमान सरकारको बहिर्गमन नभएसम्म कुनै पनि सहमति हुन नसक्ने स्पष्ट पारेका छन् । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खनालले भने, “वर्तमान संकटको समाधानका लागि प्रधानमन्त्रीले सत्ता त्याग गर्नुपर्छ ।” सत्तारुढ गठबन्धन र प्रधनमन्त्री बाबुराम भट्टराईले पटक पटक कुरा फेरिरहेकाले सत्ता गठबन्धन निर्वाचनमा जानै नचाहेको उनको ठहर थियो ।
सहमतिका लागि एमालेले पहल गरोस भन्ने राष्ट्रपतिको चाहना रहेको खनालले बताए । “एकीकृत माओवादी र नेपाली कांग्रेसले एक अर्कालाई आरोप लगाइरहेका बेला सहमतिका लागि मध्यस्थता गर्न राष्ट्रपतिले आग्रह गर्नुभयो,” खनालले भने ।
राष्ट्रपति यादवले दलहरुले सहमति नगरेका कारण आफूले पटक पटक म्याद थपिरहनुपरेको भन्ने चिन्ता गर्दै आफू संविधानको संरक्षक भएपनि दलहरुको सहमति बिना अघि बढ्न नसक्ने बताएको खनालले जानकारी गराएका थिए ।