समाचारसोमबार, जेठ ८, २०६९
बन्द फिर्ता लिन चार दलको आग्रह
मधेसी मोर्चासहित प्रमुख तीन दलले आदिवास\जनजाति, थारु समुदाय, बृहत् मधेसी मोर्चालगायत विभिन्न समुदायबाट सचालित हडतालका सबै कार्यक्रम फिर्ता गरी संविधान निर्माणको कार्यमा योगदान गर्न सबै पक्षसँग आग्रह गरेका छन् । एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेस सभापति सुशील कोइराला, नेकपा एमाले अध्यक्ष झलनाथ खनाल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले जेठ ८ गते विज्ञप्तिमार्फत यस्तो आग्रह गरेका हुन ।
विगत जनआन्दोलनका उपलब्धिहरुलाई संस्थागत गरी देशलाई अग्रगति प्रदान गर्दै समृद्धिको मार्गमा अग्रसर गराउन आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि देशका सबै क्षेत्र समुदाय र वर्गका जनतामा एकता र सद्भाव हुनुपर्नेमा उनीहरुले जोड दिएका छन् । बन्द हडतालका क्रममा साचारकर्मी राजनीतिक नेता र कार्यकर्तामाथि भएका आक्रमण एवम् धम्की सार्वजनिक सम्पत्तिको क्षतिजस्ता कि्रयाकलाहरु निन्दनीय रहेको उल्लेख गर्दै विज्ञप्तिमा यस्ता कि्रयाकलापमा संलग्न नहुन सबैसँग आग्रह गरिएको छ ।
नयाँ संविधान निर्माणको अन्तिम चरणमा प्रवेश गरेको र संविधान निर्माणको विषयमा राजनीतिक तहमा एवम् संविधानसभामा अत्यन्त गम्भीर छलफल भइरहेको तथा असाध्यै छोटो समयमा सहमति र निष्कर्षमा पुगेर जनताको आकाङ्क्षानुसार देशलाई निश्चित दिशा प्रदान गर्नु अनिवार्य भएको नेताहरुले उल्लेख गरेका छन् । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
