समाचारमंगलबार, पौष १७, २०६९
रेडियो नेपाललाई स्पष्टीकरण सोधिएकोमा आपत्ति
रेडियो नेपालबाट १६ पुस बिहान प्रसारित ‘अन्तरसंवाद कार्यक्रम’ मा नेपाली कांग्रेसका नेता मनमोहन भट्टराईबाट व्यक्त गरिएको विचारप्रति सरकारले रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्की र कार्यक्रम प्रस्तोता प्रमोद दाहालसँग स्पष्टीकरण सोधिएकोप्रति नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले विरोध जनाएका छन् ।
युनियनका महासचिव शिव लम्सालले जारी गरेको विज्ञप्तिमा कांग्रेस नेता भट्टराईले प्रधानमन्त्रीका विषयमा दिएको अभिव्यक्तिलाई लिएर स्पष्टीकरणका लागि बोलाउने काम प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधि र लोकतन्त्रका न्युनतम मूल्य मान्यताको ठाडो उपहास भएको उल्लेख गरिएको छ । यसैगरी चौतारीका सचिव लक्की चौधरीले जारी गरेको विज्ञप्तिमा सञ्चारकर्मी र सञ्चारमाध्यमले स्वतन्त्रता र निर्भयतापूर्वक समाचार सङ्कलन गर्न प्रसारण र प्रकाशन गरेर जनताको सुसूचित हुन पाउने हकमाथि नै बन्देज लगाउने कुनै कार्य सरकारबाट नहोस् भन्ने आग्रह गरिएको छ ।
१६ पुस बिहानको ‘अन्तरसंवाद’ कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य भट्टराईले ‘बाबुराम भट्टराई हिन्दुस्तानको एजेन्ट हो र हिन्दुस्तानले पनि हामीले बनाएको प्रधानमन्त्री हो भन्ने गरेको छ र प्रधानमन्त्री पनि त्यसैमा गर्व गर्नुहुन्छ, यसमा मलाई दुख लाग्छ’ भनेका थिए । अफूलाई गाली गरेको उक्त अन्तर्वाता किन प्रसार गरेको भनेर प्रधानमन्त्रीले सञ्चारमन्त्री राजकिशोर यादवललाई फोन गरी कार्वाहीको लागि निर्देशन दिएका थिए ।