रमझमशुक्रबार, पौष २०, २०६९
महिला हिंसा विरुद्ध कलाकार पनि
२० पुसमा नेपाल चलचित्र कलाकार संघको अगुवाईमा झण्डै पाँच दर्जन कलाकार सहभागी भए । देशभरि घटेका महिला हिंसाविरुद्धका घटनाको स्वतन्त्र तथा प्रभावकारी अनुसन्धान तथा दोषीलाई कार्वाहीको माग गर्दै उनीहरूले दुई घण्टा नारावाजी गर्दै प्रदर्शन गरे ।
प्रदर्शनमा कलाकार संघ बाहेक अन्य केही चलचित्रसँग सम्बन्धित संस्था पनि थिए । प्रदर्शनमा बसुन्धरा भुषाल, मिथिला शर्मा, लक्ष्मी गिरी, मौसमी मल्ल, रुपा राणा, रवीन्द्र खड्कादेखि नवल खड्का, माल्भिका सुब्बा, घनश्याम खतिवडा, रमेश उप्रेती, सुमिना घिमिरे, दीपाश्री निरौला, सुमन दाहाल, कविता शर्मा, ऋचासिंह ठकुरी, मीरा केसी, उत्तम केसीसम्मका कलाकारको बाक्लो उपस्थिति थियो ।
मुलुकमा महिला हिंसाका घटना एकाएक बढेको र दण्डहीनताले प्रश्रय पाउँदै गएकाले यस्ता हिंसा विरुद्ध कलाकारहरूले पनि ऐक्यबद्धता जनाएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्काले हिमालखबरलाई बताए । उनले भने, “मुलुकमा यस्ता घटना हुँदा पनि राज्यले पीडितलाई उचित न्याय दिन सकेको छैन त्यसैले यसमा सबैले आवाज बुलन्द पार्नुपर्ने समय आएकाले हामी प्रदर्शनमा उत्रेका हौं ।” उनले आवश्यकता पर्दा कलाकार संघ दण्डहीनताको विरुद्ध निरन्तर ऐक्यबद्धता जनाउने उनले बताए ।
चरित्र अभिनेत्री मिथिला शर्मा महिलामाथि हिंसाका घटना झन्झन् बढ्दै गएकाले अझ सशक्त रूपमा सरकारलाई दबाब दिनुपर्ने बताइन् । उनले भनिन्, “हाम्रा महिला दिदीबहिनीमाथि यसरी निरन्तर बलात्कार, हत्या, घरेलु हिंसा हुँदा पनि सरकार मूकदर्शक बनेको अवस्थामा उनीहरूलाई न्याय दिलाएर पीडकलाई कार्वाही गराउन यस्ता कार्यक्रम प्रभावकारी हुनेछन् ।”