अर्थ/बजारसोमबार, जेठ ८, २०६९
बन्दले औद्योगिक क्षेत्र धरासायी– महासङ्घ
नेपाल घरेलु तथा साना उद्योग महासङ्घले संविधान जारी गर्नु पूर्वसन्ध्यामा देशव्यापीरुपमा आयोजना गरिएको बन्दले मुलुक अहिले ठूलो सङ्कटमा परेको जनाएको छ ।
महासङ्द्वारा ८ जेठमा जारी विज्ञप्तिमा उद्योग, कलकारखाना, सबै बन्द अवस्थामा रहेकाले मुलुकले दैनिक अरबौँको घाटा बेहोरीरहेको र दैनिक कमाईबाट गुजारा चलाउने परिवारमा बेरोजगारीको समस्या विकराल बनेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
महासङ्घले सहज आपूर्ति र ढुवानीको अभावमा दैनिक उपभोग्य वस्तुहरूको मूल्य आकासिएको तथा कालाबजारी र मुनाफाखोरीहरूको दबदबा बढ्दो छ, विज्ञप्तिमा भनिएको छ ।
औद्योगिक क्षेत्र ठप्प भएका कारण कामदार कर्मचारीहरू हात बाँधेर बस्न बाध्य रहेको, लगानीकर्ताको लगानी डुब्ने अवस्था रहेको र बैंकको ऋण तथा ब्याज चुक्ता गर्न आफ्नो अचल सम्पत्ती बेच्नुपर्ने दुर्भाग्यपूर्ण नियतिको सिकार हुन लगानीकर्ताहरू बाध्य भएको महासङ्घले जनाएको छ । स–साना लघु घरेलु उद्यमका उत्पादनहरू दैनिकरुपमा बजारमा खपत गराई आयआर्जनमा लागेका उद्यमीहरूको हालत अझै बेहाल बनेको छ, विज्ञप्तिमा भनिएको छ ।
राष्ट्र आज संविधान निर्माणको अन्तिम घडीमा छ, यतिखेर सबै जातजातिले आफ्ना अधिकार संविधानमा सुनिश्चित गराउन माग गर्नु स्वाभाविक र जायज हो तर सबै समुदाय, क्षेत्र, भूगोलले माग गरेका र सर्वमान्य सहमति विकास गर्दै नयाँ संविधान ल्याउन सबैको चासो र सरोकार रहनु पर्दछ, महासङ्घले आग्रह गरेको छ ।
महासङ्घले आर्थिक क्रियाकलापहरू ठप्प भएबाट मुलुकमा आर्थिक मन्दीको दुरगामी प्रभाव पर्नेसक्ने भएकाले र जुनसुकै र जतिसुकै राज्यहरूको पनि आर्थिक आधारस्तम्भ भनेको लघु, घरेलु तथा साना उद्योगहरू भएकाले स्वतन्त्र उद्योग व्यवसाय गर्न पाउने मौलिक हकको सम्मान गर्न आग्रह गरेको छ ।
महासङ्घको विज्ञप्तिमा आफ्ना माग पूरा गराउन बन्दको वैकल्पिक उपाय प्रयोग गरी अगाडि बढ्न सबैलाई अनुरोध गर्दै सामाजिक सद्भाव कायम राख्दै सबैको भावना समेट्ने गरी अति प्रतिक्षित नयाँ संविधान तोकिएको समयमै जारी गर्न आग्रह गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
