अन्तर्वार्ता/विचारमंगलबार, पौष २४, २०६९
राष्ट्रिय स्वाधीनताको मुद्दा प्रमुख बनाउँछौं
नेकपा–माओवादीले २५ पुसदेखि काठमाडौंमा सातौं महाधिवेशन गर्न लागिरहेको छ । प्रवक्ता पम्फा भूषालका अनुसार महाधिवेशन उद्घाटन समारोहमा एमाओवादीसहित सत्तारुढ दलहरु, प्रतिपक्षी नेपाली कांग्रेस, एमालेलाई बोलाइएको छैन । नेकपा मसाल, नेकपा एकीकृत, नेपाल मजदूर किसान पार्टी, मणि थापा र मातृका यादवको पार्टी, माणिकलाल श्रेष्ठ, मल्लके सुन्दर र पद्मरत्न तुलाधरहरुलाई मात्र महाधिवेशनमा आमन्त्रण गरिएको छ । महाधिवेशनमा भारतसहित विभिन्न मुलुकका माओवादी पार्टीका प्रतिनिधिहरुले पनि भाग लिने भूषालको भनाइ छ । प्रस्तुत छ, भूषालसँगको संक्षिप्त अन्तर्वार्ता ।
महाधिवेशनको तयारी कहाँ पुगेको छ ?
२५ पुस दिउँसो १ बजे खुलामञ्चमा उद्घाटन हुनेगरी महाधिवेशनको अन्तिम तयारी पूरा भएको छ । १२ सय प्रतिनिधि छानिइसकेका छन् । ४०० पर्यवेक्षकको पनि निश्चित भइसकेको छ । सांस्कृतिककर्मी र स्वयंसेवक गरी दुई हजार जनाले महाधिवेशनमा भाग लिनेछन् ।
दस्तावेजतर्फको तयारीचाहिँ कहाँ पुग्यो ?
२६ पुसदेखि दस्तावेजमा छलफल हुनेछ । महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदन र राजनीतिक कार्यक्रम किरण कमरेड (अध्यक्ष मोहन वैद्य) ले लेख्नुभएको छ र त्यो तल्लो तहसम्म पुगिसकेको छ । विधान देव गुरुङले लेख्नुभएको छ । त्यसलाई पनि तलसम्म लगिसकिएको छ । अब महाधिवेशनमा त्यसलाई छलफल गरेर प्रतिनिधिहरुको सुझाव अनुसार परिमार्जन गरिनेछ र पारित गरिनेछ ।
राजनीतिक प्रतिनिवेदनमा मुख्य कुराहरु के छन् ?
समग्र कम्युनिष्ट आन्दोलनको समीक्षा गरिएको छ । खासगरी, प्रचण्डको नेतृत्वमा भएको जनयुद्धको समीक्षा गरिएको छ । जनयुद्धको उठान र त्यसको विसर्जनबारे समग्र समीक्षा छ । यसैगरी, शीतयुद्धपछि अमेरिकाको नेतृत्वमा एकधु्रवीय बनेको विश्व अहिले बहुध्रुवीय बन्दै गएको विश्लेषण पनि छ, त्यहाँ । संविधानसभा विघटनपछिको मुलुकको परिस्थितिबारे पनि विश्लेषण गरिएको छ । अन्त्यमा अब हामी कसरी अघि बढ्ने भन्ने बाटोबारे पनि उल्लेख छ ।
अबको तपाईंहरुको बाटो कस्तो हुनेछ, जनयुद्धमै फर्किनुहुन्छ ?
हामी महाविधेशनपछि पनि राष्ट्रिय स्वाधीनताको मुद्दालाई नै प्रमुख बनाउने छौं । त्यही मुद्दामा आधारित भएर जनआन्दोलन अघि बढाउने छौं । जनविद्रोह वा जनयुद्ध त्यसपछिको परिस्थितिले निर्धारण गर्ने कुरा हो ।
मुलुकको अहिलेको राजनीतिक संकटको निकासचाहिँ के हुनुपर्छ ?
अहिलेको संकटको निकास राष्ट्रिय सहमतिको सरकार निर्माण नै हो भन्ने हाम्रो दृष्टिकोण छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
