थप समाचारबुधबार, पौष २५, २०६९

स्वतन्त्र व्यक्तिको नेतृत्वमा सहमतीय सरकारको सम्भावना: अध्यक्ष दाहाल

हिमालखबर

अब स्वतन्त्र व्यक्तिको नेतृत्व : एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले २५ पुसमा हेटौँडामा स्वतन्त्र व्यक्तिको नेतृत्वमा सहमतीय सरकारको सम्भाबना बढेको बताएका छन् । तस्बीर: अशोक सुजन श्रेष्ठ/हेटौंडा

क्रान्तिकारी पत्रकार संघ मकवानपुरद्वारा २५ पुसमा हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै दाहालले अहिलेको अवस्थामा स्वतन्त्र प्रधानमन्त्रीको सम्भावना सबैभन्दा माथि रहेको बताए । उनले प्रधानमन्त्री डा. बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय सरकार बन्ने सम्भावना पनि बढेको दाबी गरे । त्यसैगरी अन्य पार्टीका नेताको नेतृत्वमा सरकार गठन हुने सम्भावना यथावत् रहेको जिकीर गरेका थिए ।

२६ पुसमा प्रमुख चार दलसहित अन्य दलको बैठकले तीन विकल्पमध्ये एउटामा सहमती गरी चुनावमा जाने वातावरण बन्ने सम्भावना रहेको पनि उनले बताए । २५ पुसमा राष्ट्रपतीसँग भेटमा २६ पुस दिउँसै प्रमुख दललाई बोलाएर राष्ट्रपतीले छलफल गर्ने सहमति भएको खुलासा पनि गरे । सरकार पक्षीय गठबन्धनको निर्णयअनुसार संविधानसभा पुनस्र्थापनाको प्रस्ताव अन्तिम अस्त्रको रुपमा प्रयोग गर्ने उनको भनाइ थियो ।

दैलेखका पत्रकार डेकेन्द्रराज थापा हत्या अभियोगसम्बन्धी सञ्चारकर्मीको जिज्ञासामा उनले विस्तृत शान्ति सम्झौता अनुसार सत्य निरुपण आयोगले छानबिन गरी दोषी देखाइएकालाई मात्र कार्बाही गर्नुपर्ने बताए । उनले भने, “कसैमाथि कार्बाही गर्ने प्रक्रिया चल्यो भने वेलगाम तरिकाले जान्छ र झन् अराजक स्थिति बन्न सक्छ ।” शान्ति सम्झौतामा बनाएको मार्ग भन्दा बाहिर गएर गर्न खोजियो भने न्याय दिने भन्दा पनि बिथोलिने उनको भनाइ थियो ।
कार्यक्रमअघि उनले २० माघदेखि हुने एमाओवादीको राष्ट्रिय महाधिवेशन स्थल हेटौँडा कपडा उद्योग परिसरको अबलोकन गरेका थिए ।

–अशोक सुजन श्रेष्ठ, हेटौंडा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>