थप समाचारबिहीबार, पौष २६, २०६९
पत्रकार हत्याका अभियुक्तलाई थप ७ दिन थुन्न आदेश
अनुसन्धानका लागि प्रहरीलाई थप केही दिन लाग्ने भएकाले हत्याका अभियुक्तहरुलाई ७ दिन थुनामा राख्ने अदालतले आदेश दिएको हो । प्रहरीले उनीहरुलाई कडा सुरक्षाबीच म्याद थपका लागि अदालत लगेको थियो ।
प्रधानमन्त्री लगायत उच्च तहबाट अभियुक्तहरुको बयान नलिन निर्देशन दिइएपछि जिल्ला सरकारी वकिलको कार्यालयले २५ पुसमा बयान नलिएको प्रहरी स्रोतले जनाएको छ । त्यसको विरोधमा पत्रकार, नागरिक अगुवा र स्थानीय जनताले ब्यापक प्रदर्शन थालेपछि प्रहरीले २६ पुसमा म्याद थप गराएको हो ।
थापाकी पत्नी लक्ष्मीले १२ भदौ २०६५ मा थापाका हत्याराविरुद्ध किटानी जाहेरी दिएको चार बर्षपछि प्रहरीले अभियुक्तहरुलाई २० पुसमा पक्राउ गरेको थियो । अहिलेसम्म पक्राउ परेका पाँच जनामध्ये लक्षीरामसँग मात्रै बयान लिइएको छ ।
दबावकाबीच थापा हत्याका आरोपीलाई अदालत लगियो
दैलेखका पत्रकार स्वर्गीय डेकेन्द्रराज थापाको हत्याका आरोपीहरुको म्याद थपको लागि अदालतमा उपस्थित गराइएको छ ।
हिमालखबर
बिहीबार , २६ पुस २०६९ १२:३५ पम
जिल्ला प्रहरी स्रोतका अनुसार आरोपीहरुको म्याद नथप्न ‘उच्च निकाय’बाट दवाव हुँदाहुँदै पनि दश दिन म्याद थपका लागि अदालत समक्ष आग्रह गरिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक विनोद शर्माले १० दिन म्याद थपको लागि अदालत समक्ष आग्रह गरिएको जानकारी दिए । अदालतले दिएको ५ दिनको म्याद २५ पुसमा सकिएको थियो ।
तत्कालीन नेकपा माओवादीले २०६१ साउन २७ गते अपहरण गरी पत्रकार थापाको हत्या गरेको थियो । हत्याको आरोपमा दैलेख द्वारी गाविस १ का लछीराम घर्ती मगर, वालुवाटार ६ का वीरवहादुर केसी, वालुवाटार ९ का निरक घर्तीमगर, द्वारी ३ का हरिवहादुर पुनमगर र रानीवन गाविसका जयवहादुर शाही गत २१ पुसमा पक्राउ परेका थिए । पक्राउ परेकाहरुको बारेमा निष्पक्ष अनुसन्धान गर्नुुपर्ने भन्दै नागरिक समाज, पत्रकार तथा अधिकारकर्मीहरुले जिल्ला प्रहरी कार्यालयमा धर्ना दिइरहेका छन् भने एकीकृत माओवादी र नेकपा–माओवादीले द्वन्द्वकालको मुद्दा उठाएर शान्ति प्रक्रिया विथोल्न लागेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री बाबुराम भट्टराई समेतले आरोपी पक्राउ परेकोमा आपत्ति जनाएपछि नेपाल पत्रकार महासङ्घले २५ पुसमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।