रमझमबिहीबार, पौष २६, २०६९
गायिका अञ्जु पन्तको जीन्दगी ‘प्रभु’को हातमा
हालसम्म साढे ५ हजार जति गीतहरु रेकर्ड पूरा भइसकेको बताउने गायिका अञ्जुले धरानमा आएका बेला प्रभुको खुवै चर्चा गरिन् । ढेड वर्ष अघि काठमाडौंको एक चर्चबाट बतिज्मा लिएर धर्म परिवर्तन गरेकी उनले प्रभु येशु ख्रिष्टको काखमा गए पछि जस्तो आनन्द अन्य बेला नआएको समेत बताउन भ्याइन् । उनले आफ्नो चारवर्षमा स्वर समेत जान लागेको बताउँदै प्रभु येशुकै कारणले पुनः स्वर फर्किएको समेत बताइन् । ‘प्रभुको कृपाले अहिले मेरो स्वर पनि बाँचिरहेको छ, झन्डै–झन्डै बस्न लागेको गला फेरी पुनर्जीवित भएको छ’ उनले भनिन् ।
उनले संचारकर्मीहरुलाई समेत बाइबल अध्ययन गर्नका लागि आग्रह गर्नसमेत पछि परिनन् । ‘तपाईहरुले पनि एक पटक बाइबल अध्ययन गर्नुस् केही कुरा थाहा पाउनु हुनेछ’–उनले आग्रह गर्दै भनिन् । प्रभूमा भिजेर लागेकी उनले आफू हिन्दु हुँदासमेत व्रत बस्ने, धर्मकर्म गर्ने, मन्दिर जाने गरेको बताइन् । आफ्नो स परिवार नै प्रभू येशुमा लागेको बताउँदै अबको जिन्दगी प्रभुकै हातमा छाड्ने समेत खुलासा गरिन् । हालै उनले प्रभुको ४ वटा भजन समेत रेकर्डिङ गरिसकेको बताइन् ।
धरान मोह
बिहीबार धरान आइपुगेकी अञ्जु पन्तको मनमा धरान रहेको पनि बताइन् । ‘मेरो मन पर्ने स्थान मध्ये यो एक हो’–उनले संचारकर्मीको भेटघाटमा भनिन् ।
हुन त, यसभन्दा अघि पनि उनी दुइ पटक कार्यक्रम लिएर धरानमा पाइला टेकिसकेकी छिन् । तर, अन्य बेला भन्दा यसपटकको धरानको पाइला बेग्लै मजा भएको उनले सुनाइन् । ‘हुन त पहिला पनि नआइकी होइन, तर, त्यसबेला भन्दा केही फरक महसुस गरिरहेको छु’ उनले भनिन्–‘तर, यसपटक भने धरानलाई राम्ररी चिन्नेछु ।’ उनी धरानकै लागि भनेर आएको भने होइनन् । तर, कार्यक्रम पूरा भए पछि मौसममा आएको परिवर्तनका कारण प्लेनहरु उड्न नसकेपछि बाध्य भएर गाडीको यात्राबाट काठमाडौं जानु पर्ने भएपछि आफ्नो सानी आमाकोमा धरान आइपुगेकी थिइन् । ‘लङ सफर हुने भएपछि गाडीमा थकान भयो, त्यसैले पनि सानिमाकोमा आइपुगेकी हुँ’ उनले भनिन्–‘त्यै शिलशिलामा यहाँका साथीहरुको आग्रहमा भेटघाट कार्यक्रममा आउने मौका मिल्यो ।’
-सोहन श्रेष्ठ/धरान