रमझमशनिबार, पौष २८, २०६९
चलचित्रकर्मी सडकमा (फोटो फिचरसहित)
चलचित्र विकास वोर्डलाई स्वायत्त गर्ने, चलचित्र विकास बोर्डमा चलचित्रकर्मीको नेतृत्व हुनुपर्ने, बक्स अफिस प्रर्णाली लागू गर्नुपर्ने र चलचित्र ऐन जारी गर्नुपर्ने लगायतका ९ बुँदे माग राख्दै कलाकारहरु सडकमा उत्रिएका छन् । २५ पुसमा चाबहिलस्थित विकास बोर्डको कार्यालयमा तालाबन्दी गरी माग पूरा गराउन आन्दोलन शुरु गरेका उनीहरुले २७ पुसमा प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपबाट रयाली शुरु गरी शान्ति बाटिकासम्म पुगे ।
रयाली पुतलीसडक, बागबजार हुँदै रत्नपार्क शान्ति बाटिकामा पुगी कोणसभामा परिणत भएको थियो । रयालीका सहभागीले सञ्चारमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । कालोपट्टी बाँधेर सडकमा उत्रिएका फिल्मकर्मीले रत्नपार्क पुगेर सांकेतिक रुपमा आत्महत्या गरेका थिए । मन्त्रीका झूटा आश्वासनले आफ्ना मागको हत्या गरेको भन्दै उनीहरुले यसो गरेको बताए । माग सम्बोधन नभएसम्म विरोध कार्यक्रम नरोकिने बरु बढाउँदै लैजाने नेपाल चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्काले बताए ।
अनसनमा बसेका चलचत्रिकर्मीलाई माग पूरा गर्ने लिखित सहमति गरेको तीन साता पुग्दा पनि माग पूरा नगरेको भन्दै चलचित्रकर्मीहरु आन्दोलनमा उत्रिएका हुन् । चलचित्र विकास बोर्ड नेतृत्व विहीन भएको पाँच महिना बितिसक्दा पनि मागअनुसार बोर्डको अध्यक्ष नियुक्त नगरिएको छैन ।