अर्थ/बजारशनिबार, पौष २८, २०६९
ब्यापार घाटा धान्नै नसक्ने गरी बढ्यो
नेपाल राष्ट्र बैंकले शुक्रबार प्रकाशित गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसीरसम्ममा वस्तु ब्यापार घाटा ३० दशमलव ३ प्रतिशतले बढेर रु. १ खर्ब ९२ अर्ब ५२ करोड पुगेको छ । तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा रु. २ खर्ब २५ अर्ब ३९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो वर्षको यही अवधिको तुलनामा २६ दशमलव ८ प्रतिशत बढी हो । तर यो अवधिमा नेपालले रु. ३२ अर्ब ८८ करोडको मात्र वस्तु निर्यात गरेको छ । नेपालले पेट्रोलियम पदार्थ खरिदमा मात्रै ४१ अर्ब ६५ करोड रुपैयाँ खर्च गरेको छ, जबकि कुल वस्तु निर्यातबाट कमाएको रकमभन्दा यो झण्डै १० अर्ब बढी हो । लोडसेडिङ बढेका कारण उद्योगधन्दाले जेनेरेटर चलाउन पेट्रोलियम पदार्थको माग बढेकाले आयात ह्वात्तै बढेको हो ।
देशमा औषधि र सिमेण्टका उद्योग बढिरहेपनि यी वस्तुको आयात भने घटेको छैन । मंसिरसम्ममा नेपालले ६ अर्ब ८३ करोडको औषधि र ३ अर्ब ९२ करोडको सिमेण्ट आयात गरेको छ । नेपालमा औषधिका र सिमेण्ट दुबैका करिब ३ दर्जन हाराहारीमा उद्योग सञ्चालनमा छन् । कृषि प्रधान भनिएको नेपालले पाँच महिनामा भारतबाट २ अर्ब ८७ करोडको चामल, २ अर्ब १६ करोडको हरियो तरकारी, १ अर्ब ३ करोडको चिनी आयात गरेको छ । नेपालले ११ अर्ब ५४ करोडको मोटर र यसका पाटपूर्जा, ११ अर्ब १३ करोडको सुन, २ अर्ब ६१ करोडको विद्युतीय सामान पनि आयात गरेको छ ।
यो अवधिमा नेपालले निर्यातजन्य वस्तुको सूचिमा राखेका तयारी पोशाक, जडिबुटी, हस्तकलाका सामाग्री, पस्मिना, उनी गलैंचा, चाँदीका गहना, नेपाली कागज सबैको निर्यात उल्लेखनीय रुपमा घटेको छ । ऊनी गलैंचाको निर्यात १० दशमलव १ प्रतिशतले घटेर २ अर्ब ६१ करोडमा झरेको छ । तयारी पोशाक निर्यात ४४ दशमलव ९ प्रतिशतले घटेर १ अर्ब २८ करोड तथा पश्मिना निर्यात ४४ दशमलव ६ प्रतिशतले घटेर ७६ करोड रुपैयाँमा झरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
