रमझमसोमबार, माघ १, २०६९
जापानको संगीतले नेपालमा स्कुल
सर्लाही घुर्कौलीका लामा दाजुभाई पञ्च र श्रवणलाई नेपालको चिन्ताले जापानमा प्रसिद्ध बनाइरहेको छ । टोकियोमा १६ वर्षअघि चौतारी ब्याण्ड स्थापना गरेका वासुरीवादक पञ्च र तवलावादक श्रवणले नेपालमा समाज सेवा बढाएसंगै जापानमा उनीहरुको दर्शक÷स्रोता बढाएका छन् ।
यी कलाकार दाजुभाईले जापानका शहरहरुमा ‘च्यारीटी कन्सर्ट’ गरेर १० वर्षदेखि घुर्कौलीमा संचालन गरेको अगे्रजी माध्यमको जनहित पञ्च इसाका निमाविमा अहीले ३७४ विधार्थी पढ्छन् । “द्धन्दपिडीत र केही अनाथ लाई उच्च शिक्षा दिने कार्यक्रम बनाएर श्रवण द्धन्दपिडीत बालगृह खोलेका छौं”, पञ्च भन्छन् । यी दाजुभाईले अहीले बालगृहका ५७ जनालाई स्कुल तथा क्याम्पसमा पढाइरहेका छन् ।
स्कुल र बालगृह दुवैको व्यवस्थापन हेर्ने चेतना सन्देशका अध्यक्ष सुरेन्द्र लामाका अनुसार लामा दाजुभाईले दुवै संस्थाका लागि अहीलेसम्म रु.१ करोड ६७ लाख उपलब्ध गरेका छन् । यो वर्षमात्र रु.१३ लाख पठाएको लामाले बताए । नेपालका बाद्यबादकहरुको संस्था बेम्बो हिस्टीले २६ पुसमा ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा आयोजना गरेको सांगितिक कार्यक्रम हिमालय ब्रिज मा दाजुसंगै भेटिएका श्रवणले भने, “घुर्कौलीजस्तो ठाउँका भाईबहिनीको पढाईका लागि कन्सर्ट गर्नु आफैंमा आनन्दको कुरा लाग्छ ।”
घुर्कौलीको स्कुल संचालन र नेपाली संगीत प्रचारका लागि सयौ नेपाली धुन निकालेका लामा दाजुभाईले कोरिया र थाइल्याण्डमा पनि पटक–पटक कन्सर्ट गरेका छन् । पिएस म्युजिक कम्पनिको नामबाट चौतारी, झ्रना यात्रा, प्रे, हिमालय बिट, बेम्बो स्प्रिट, एसियन पाराडाइज लगायतका सिडी र डिभीडीहरु निकालेर उत्तरपुर्वी एसियाको संगीत बजारमा लोकप्रिय बनाएका यी दाजुभाई कसरी जापान पुगे त ? “१८ वर्ष अघि एक जना जापानीले खोलेको नेपाली रेष्टुरेन्टमा बासुरी बजाउन म पहिला गएँ”, पञ्च भन्छन्, “त्यसपछि जापानीहरुसंगै मिलेर चौतारी ब्याण्ड खोलें अनी श्रवणलाई पनि बोलाएँ ।”