व्यक्तित्वमंगलबार, माघ २, २०६९

मनकारी डिएसपी

हिमालखबर

प्रहरी उपरीक्षक (डीएसपी) राजुबाबु श्रेष्ठ

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।’ जन्मभूमिको महत्व सम्झाउने संस्कृतको यहि आदर्श वाक्यलाई आत्मसात गर्दै नेपाल प्रहरीका प्रहरी उपरीक्षक (डीएसपी) राजुबाबु श्रेष्ठ (४७) ले गोरखाको शैक्षिक विकासका लागि पुर्खाको अंश नै सुम्पिएका छन् । डीएसपी श्रेष्ठले समता शिक्षा निकेतनको भबन निर्माणका लागि सदरमुकाम पोखरीथोकको ५ रोपनी ७ आना जग्गा दिएका हुन् । साँधसीमामा एक हात जग्गाको लागि आपसमा झगडा गर्ने नेपाली समाजमा यो सहयोग चानचुने होइन । यसका लागि उनले राम्रैसंग मन फुकाएका छन् ।

गोरखकाली मन्दिर जाने बाटोमा पर्ने महेन्द्र ज्योति मावि अगाडिको यो जग्गा रु. ५० लाख बराबरको हो । त्यसो त पर्याप्त सम्पत्ति भएर दान दिएका पनि होइनन् उनले । उनी गोरखा बजारका सामान्य परिवारका सदस्य हुन् । समता स्कुलका लागि यो जग्गा दिएपछि अब उनीसंग पुख्र्यौली सम्पत्तिको नाममा साढे ४ आना जग्गा र एउटा पुरानो घर मात्र बाँकी छ । राजुबाबु भन्छन् ‘धन भएर दिएको होइन, मन भएर दिएको हुँ ।’ यो उनको निर्णय आत्माको हो । ‘यस्तो काममा दिमागलाई सोध्यो भने हिसाबकिताब गर्छ त्यसकारण दिललाई सोधेर निर्णय गरेको हुँ ।’ उनी प्रश्न गर्छन् ‘गोरखाले मलाई यत्रो बनायो, आखिर गोरखालाई मैले के दिएँ त ?’ २१ बर्ष भयो उनले गोरखा छाडेको । कतिपय गोरखालीका लागि उनी नौलो लाग्न सक्छन् । तर यो सत्कार्यले गोरखासंगको उनको सम्बन्ध निकट बनाएको छ । यसबाट गोरखालीहरुसंगको सम्बन्ध नबिकरण हुने उनको अपेक्षा छ ।

सत्कार्यको प्रार्दुभाब
जेठको पहिलो साता टेलिभिजन च्यानल बटार्दै जाने क्रममा उपेन्द्र महतोसंगको कुराकानी देखे उनले । बिभिन्न ठाउँमा खुलेका समता स्कुलका कुराबाट उनी प्रभाबित मात्र भएनन् गृहजिल्ला गोरखामा पनि त्यस्तै एउटा स्कुल संचालन गर्ने सोच जन्मियो उनमा । मनमा यस्तो कुरा खेलाउदै घर पुगेका श्रेष्ठले बेलुका श्रीमति अञ्जुलीसंग कुरा गरे । रु. १५ को सागलाई रु. २० तिरेर ल्याउँदा महंगो भयो भन्ने श्रीमतिले पनि सहजै हुन्छ भनिन् रे उनलाई । श्रीमतिले पनि यति भनेपछि त उनी झनै हौसिए । अनि ९ः३० बजेतिर समता स्कुलका संस्थापक उत्तम संलेललाई फोन गरे । आफ्नो अभियानमा चासो राखेर फोन गरेपछि उत्तम पनि गद्गद् भइहाले । अनि आकार लियो गोरखामा स्कुल खोल्ने कुराले । यो कुरा यति चाडो अघि बढ्यो कि १० असारमा त गोरखामा विद्यालय भबनको शिलान्यास नै गरियो । यसअघि धर्मशाला, सभागृह बनाउनका लागि जग्गा देउ भनेर धेरैले राजुबाबुसंग पटक पटक कुरा पनि गरेका थिए रे । तर उनलाई एउटै चिन्ता थियो आफूले दिएको सम्पत्ति दीगो हुदैन कि भन्ने । अन्तत स्कुलभन्दा जीवन्त र दीगो अरु हुन सक्दैन भन्ने निर्णयमा पुगेर उनले जग्गा दिएका हुन् ।

शिक्षा जस्तो पबित्र कामका लागि जग्गा दिन पाउँदा उनी निकै खुसी छन् । केही गुमाएजस्तो भन्दा पनि मातृभूमिका लागि आफ्नो तर्फबाट सानो भए पनि सहयोग गर्न पाएकोमा उनलाई गर्ब छ । विद्यालयका लागि जग्गा दिएपछि उनले धनी भएको महशुस गरेका छन् । समता स्कुललाई सहयोग गरेको कुरा थाहा पाएर कतिपय आफन्तजनहरुले आश्चर्य मान्दै सबै सम्पत्ति दिएको हो भनेर पनि साधे उनलाई । नजिकका कतिपय साथीभाइले कसैले गर्न नसकेको गरिस् भन्दै स्याबासी पनि दिए । कतिपय अग्रजहरुले हामीले गर्न नसकेको गरिस् पनि भने । तर बजारका कतिपय पैसावालहरुले उनको सत्कार्यको प्रशंसा गर्न पनि कन्जुस्याइ गरे । त्यसो त कतिपयले केही फाइदा नभइ दियो होला र भनी आलोचना पनि गरे । भाषणमा मातृभूमिका लागि यो गर्छु र उ गर्छु भनेर धेरैले धेरै कुरा गरे तर ब्यबहारमा त्यस्तो देखिएन, राजुबाबु भन्छन् ‘मेरो कर्मले अरुलाई पनि प्रोत्साहन मिलोस् भनेर यस्तो निर्णय गरेको हुँ ।’

त्यसो त शिक्षामा यो उनको पहिलो सहयोग होइन । उनले यसअघि दुई जना विद्यार्थीलाई पढ्नका लागि छात्रबृत्ति दिदै आएका छन् । पूर्णामृत भबानी उच्च मावि वालिङ स्याङजामा २०५९ देखि र गोरखाको महेन्द्रज्योतिमा हरेक बर्ष एकएक जना विद्यार्थीलाई छात्रबृत्ति दिदै आएका छन् । यसका लागि उनले दुबै ठाउँमा रु. २०÷२० हजारको अक्षयकोष खडा गरेका छन् । उनी भन्छन् मैले यसो गर्दा कम्तिमा दुईजना विद्यार्थीले स्कुल छाड्नु परेको छैन ।

गोरखामा खुल्न लागेको समता स्कुलको यो १८ औं शाखा हो । तर पनि समताकै नाममा रहेको भने यो पहिलो सम्पत्ति हो । अन्य ठाउँका कतिपय स्कुल लिजको जग्गामा चलाइएको छ भने कतिपय भाडामा । विद्यालय भबनका लागि करिब रु. ६०÷७० लाख खर्च लाग्नेछ । यो समता स्कुलमा आउदो शैक्षिक सत्रदेखि कक्षा संचालन हुनेछ । विद्यार्थीहरुले डेढ सयमा भर्ना र मासिक रु. १ तिरेर दश जोड दुईसम्म पढ्न पाउँने छन् । सानो छँदा बोर्डिङ स्कुल पढ्न नपाएका राजु आफूले भोगेको जस्तो दुख अरु ५÷७ हजारले नपाउन् भनेर विद्यालय खोल्न अग्रसर भएको बताउँछन् । मैले जग्गा दिएर गोरखाका धेरै विद्यार्थीले राम्रो शिक्षा पाउँछन् भने किन नदिने उनी भन्छन् यसबाट गोरखाका ५०/६० जना शिक्षकहरुले रोजगार पाउने छन् । गोरखालीहरु सक्षम हुन् भनेर समता स्कुलका लागि जग्गा दिएका राजुबाबु निबृत्त जीवन गोरखामै सामाजिक काममा लगाउने सोचमा छन् । २०४५ सालमा प्रहरी सेवामा प्रबेश गरेका राजुबाबुको साहित्य र संगीतमा बिशेष रुची छ । उनका दुईवटा कविता संग्रह मनहरु र देश दुखेको बेला, कथा संग्रह मारिनो सेलोको जुन तथा बचन र आयाम दुईवटा एल्बम निस्किसकेका छन् ।

-रामजी दाहाल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>