टिप्पणीबुधबार, माघ ३, २०६९
हिंसा टिक्न सक्दैन
मोहन वैद्य नेतृत्वको नेकपा—माओवादीको २५ पुसदेखि शुरू भएको सातौं महाधिवेशनले ‘जनयुद्धको जगमा जनविद्रोह’ गर्ने नीति पारित गरेर पुनः हिंसामा फर्कन सक्ने संकेत दिएको छ । ‘जनयुद्ध’ का नाममा दशक लामो हिंसा बेहोरेका नेपालीहरूलाई वैद्य माओवादीको महाधिवेशनको यो निर्णय अर्को विपत् सावित हुने देखिन्छ । महाधिवेशनको निर्णय अनुसार वैद्य माओवादी जनयुद्ध र जनविद्रोहका नाममा हिंसामा फर्कियो भने पहिले जस्तै हजारौं नेपालीले मृत्युवरण गर्नुसँगै, घाइते, अपाङ्ग हुनुपर्नेछ भने पुरानो द्वन्द्वका कारण सिर्जित संक्रमणबाट मुलुक निस्किने छैन, बरु अर्को द्वन्द्वको खाडलमा पर्नेछ ।
कार्यकर्ताहरूको मागका नाममा वैद्य माओवादीले यो निर्णयमा पुग्नुपरेको बताएको छ । महाधिवेशनमा वैद्यले प्रस्ताव गरेको राजनीतिक प्रतिवेदनमा ‘सशक्त जनप्रतिरोध संघर्ष’ गर्ने मात्रै भनिएको थियो । यसैलाई महाधिवेशनले पारित गरेको भए त्यो पार्टी हिंसामा जाने सम्भावना कम रहन्थ्यो । किनभने, सशक्त जनप्रतिरोध संघर्ष सशस्त्र हुने वा कस्तो हुने दस्तावेजमा केही उल्लेख थिएन । तर, एमाओवादीसँग विभाजनको औचित्य पुष्टि गर्ने तथा कार्यकर्ताको माग मान्ने नाममा महाधिवेशनले ‘जनयुद्धको जगमा जनविद्रोह’ को कार्यदिशा पारित ग¥यो । यो कार्यनीति पारित गराउन युवा नेता नेत्रविक्रम चन्दलगायतको महत्वपूर्ण भूमिका रहेको बताइएको छ ।
हुन त, कम्युनिष्ट पार्टीहरूमा दस्तावेजमा लेख्ने र कार्यान्वयन गर्ने विषयबीच धेरैजसो तालमेल मिलेको हुँदैन । कार्यकर्ताहरूलाई बटुल्न तथा तिनलाई आफू वरिपरि घुमाइराख्न ‘क्रान्ति’ र ‘बल प्रयोग’ जस्ता शब्दहरू राखे पनि परिस्थिति उपयुक्त नरहेको भन्दै कार्यान्वयन गरिंदैन । तर, भर्खरै दशक लामो हिंसा मच्चाएका नेता÷कार्यकर्ता भएकाले वैद्य माओवादीलाई अरू पार्टी जसरी मात्र हेर्न मिल्दैन । उसका नेता कार्यकर्ताहरूको भनाइ र मनस्थिति हेर्दा केही महीनापछि नै ‘जनसेना’, ‘जनसरकार’ र ‘जनअदालत’ का नाममा उसले हिंसाका औजारहरू निर्माण र प्रयोग नगर्ला भन्न सकिंदैन ।
तर, वैद्य माओवादीका नेता÷कार्यकर्ताले चाहँदैमा तत्काल मुलुक हिंसामा होमिएला भन्ने निष्कर्षमा पुग्नु भने अपरिपक्व हुनसक्छ । दशक लामो हिंसाबाट जनता थाकेका छन्, फेरि हिंसा मच्चाउने कुरामा जनताबाट उनीहरूले समर्थन नपाउने निश्चित छ । असम्भव सपना देखाएर हिंसामा होमेका कारण कार्यकर्ताहरूमै पनि नेताहरूप्रति विश्वास नरहेको देखिन्छ । गत द्वन्द्वमा जसरी दक्षिण छिमेकी भारत अनुकूल रहने सम्भावना देखिदैन भने सुरक्षा निकाय पनि पहिले जसरी गुरिल्ला रणनीतिबारे अनभिज्ञ छैन । योसँगै अर्काे महत्वपूर्ण कुरा, पहिले जसरी लोकतान्त्रिक राजनीतिक दल र शक्तिबीच फुट सिर्जना गर्दै त्यसबाट फाइदा उठाउन अब वैद्य माओवादीलाई सजिलो हुने छैन । किनभने, त्यही कारण गत द्वन्द्वमा माओवादीले शक्ति आर्जन गरेको धेरैले बुझिसकेका छन् ।
यी कारणहरूले वैद्य माओवादीले शुरू गर्न सक्ने हिंसा लामो समयसम्म तन्किन सक्ने सम्भावना देखिन्न । हिंसाको तयारी गर्दा यो बुझेर त्यो पार्टी शान्तिपूर्ण बाटोमै फर्कियो भने उसैका लागि तथा मुलुकका लागि पनि भलो हुनेछ । तर, क्रान्ति सम्पन्न गर्न हिंसात्मक विधि अपनाउनै पर्ने माओवादी सिद्धान्त कार्यान्वयन गर्ने नाममा अघि बढिरह्यो भने मुलुक र उसले ठूलो घाटा बेहोर्ने स्थिति पनि आउन सक्छ ।
नपढेका र नजानेकालाई सम्झाउन सकिन्छ । पढेकाले चाहिं शायद ठेस लागेर मात्रै बुझ्ने हुन् कि ? वैद्यलगायत नेताहरूलाई हेर्दा यही भन्नुपर्ने बाध्यता छ ।