ब्लगमंगलबार, जेठ ९, २०६९
घृणा नफैलाऊ
‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे ।’
सुप्रसिद्ध कलाकार हरिवंश आचार्यको फेसबुक स्टाटसमा यी हरफलाई लाइक गर्ने ४,१३८, सेयर गर्ने ११४ र प्रतिक्रिया लेख्ने १८२ पुगेका छन्, मंगलबार दिउसोसम्म । तर, यो बेला साम्प्रदायिक सद्भाव विथोलिने किसिमका विचार, भनाइ र तस्बीरहरूले फेसबुकका भित्ता रंगाउने नेपालीको संख्या पनि उही दरले बढिरहेको देखिन्छ । १४ जेठको सेरोफेरोमा आ–आफ्नो हकअधिकार सुनिश्चितताको माग गर्दै विभिन्न शैलीका बन्द र हड्ताल चुलिंदा प्रविधिमा पहुँच भएका खास गरेर पढालेखा युवा नेपालीको फेसबुक प्रतिक्रिया आएको बुझ्न गाह्रो छैन । देशभित्र मात्रै झण्डै ४४ लाख इन्टरनेट सुविधा उपभोग गर्ने नेपालीको संख्या पुगेको अवस्थामा १६ लाखको हाराहारीमा फेसबुक प्रयोगकर्ता छन् । यति व्यापक बन्न थालेको फेसबुकबाट यो स्तरको जातीय संकीर्णता छताछुल्ल हुनु निश्चय नै घातक संकेत हो ।
फेसबुक भित्तामा मात्र हैन, कतिपय सञ्चारकर्मीहरूबाट संचारमाध्यमबाटै ‘अतिवादी’ विचारहरू प्रवाह हुनु अझ चिन्ताको विषय बनेको छ । किनभने, आन्दोलनकारीहरू हिंस्रक र गैर–जिम्मेवार नदेखिनु भन्दा सञ्चारकर्मीहरू नै कुनै खास जातविशेषको देखिनु बढी खतरनाक कुरा हो । आदिवासी-जनजाति समुदायले गरेको बन्दमा संचारकर्मी र सञ्चारमाध्यमहरू निशाना बन्नु खेदपूर्ण कार्य हो । आजको दिनसम्म जातीय उत्पीडनको मुद्दालाई उच्च प्राथमिकता दिएर हिँडेको नेपाली मिडियालाई सडकमा तारो बनाइनु र जनजाति महासंघका महासचिव जस्तो व्यक्तिले पत्रकार सम्मेलनमार्फत पत्रकार महासंघ जस्तो निकायलाई प्रतिकारको धम्की दिनु आफैंमा असुहाउँदो, अर्थहीन र हास्यास्पद पनि छ ।
त्यस्तै, मिडियामाथि भएको आक्रमणपछि केही टेलिभिजन च्यानलका कार्यक्रम प्रस्तुतकर्ताहरूको प्रस्तुति पनि सामाजिक सद्भाव कायम गर्ने भन्दा पनि भड्काउने किसिमको रह्यो । एक टेलिभिजन च्यानलका कार्यक्रम प्रस्तोताले त अतिथिका रूपमा निम्त्याइएका जनजाति सभासद्लाई केरकारको शैलीमा निकै आक्रामक र साम्प्रदायिक किसिमका प्रश्नहरू सोधे । उनको प्रश्न र भावभंगीमा टीभी हेरिरहेका जो–कोहीलाई उत्तेजित पार्ने किसिमका थिए । उनले जनजातिको आन्दोलनबाट वैमनस्यता बढेको जाति र क्षेत्रहरू किटेरै प्रश्नहरू गरे, जसले प्रश्नकर्ताको आक्रोश त शान्त पारयो होला, तर जातीय सद्भाव वृद्धिमा सहयोग पुरयायो भन्न सकिन्न । सडकमा साम्प्रदायिक नारा घन्किरहेको र उच्छृङ्खल तत्वहरूले मौका पर्खिरहेको समयले मिडियाकर्मीहरूको संयमताको परीक्षा लिइरहेको कुरा बिर्सनुहँुदैन ।
व्यक्तिगत स्वार्थ केन्द्रित राजनीतिज्ञ, जातीय संवेदनामाथि खेल्न चाहने नेता र विदेशीको लगानीमा साम्प्रदायिकताको आगो झोस्न सक्रियहरूका लागि न नेपाली जनता आपसमा लड्नु आवश्यक छ न त आपसी मारामारका लागि तिनलाई उक्साउनुमा बुद्धिमत्ता हुन्छ । देशमा शदियौंको जातीय सद्भाव विथोल्ने र एक माथि अर्को जाति जाइलाग्ने अवस्था सिर्जना गर्नेमा देश पुरयाउनमा एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल जिम्मेवार छन् भन्ने आक्रोशमा उनको अभीष्टलाई सघाउने गल्ती कसैबाट हुनुहुँदैन । माओवादीले १० वर्षसम्म टोल–टोलमा हिंसासहित पुरयाएको फाटो आज नेपालको लागि साम्प्रदायिकताको गलपासो भएकै हो । तर, यसको प्रतिकार कुनै पनि स्वरुपको घृणाबाट हुन सक्दैन ।
वर्षौंदेखि जातीय, क्षेत्रीय, लैंगिक विभेदको शिकार बनेकाहरूलाई बहुलवादी सीमाभित्र कसरी हुन्छ समान अधिकारसम्पन्न बनाउनु दलहरूको दायित्व हो । राजनीतिक संक्रमणको यो चुचुरोमा नागरिक समाज, मिडिया र खास गरेर मुलुकको चेतनशील युवाशक्तिले एउटा अविवेकको बदला अर्को अविवेक प्रदर्शन गर्दा हामी सबै अतिवादको भुमरीमा पर्ने निश्चित छ । त्यसैले जातीय घृणा हैन सबैले आ–आफ्नो ठाउँबाट सद्भाव फैलाऊ । नेपाली परम्परा पनि त्यही नै हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
