थप समाचारसोमबार, माघ ८, २०६९

बलात्कार घट्नाको साक्षी बनेकै कारण दम्पत्तिको हत्या

हिमालखबर

बाबुआमाको हत्या भएपछि भट्टराई दम्पत्तिका दुई छोरा र एक छोरी अलपत्र परेका छन् ।

हत्याका मुख्य नाइके हरिहरपुर–६ का रामचलितर यादवले अन्य ६ जनासँग मिलेर गत १६ पुसमा डम्बर भट्टराई र निजकी पत्नी कौशिलाको हत्या गरेको प्रहरीलाई बयान दिएका छन् । रामचलितरले केही महिना अगाडि भट्टराईका छिमेकी धीरेन्द्र साहकी जेठी पत्नीलाई बलात्कार गरेको मुद्दामा भट्टराई साक्षी रहेकाले उनको हत्या भएको प्रहरीले जनाएको छ । पति डम्बर भट्टराईको हत्या गरेपछि अपराधीहरुले सँगै रहेकी पत्नीको पनि घाँटी थिचेर हत्या गरेका थिए ।

“धीरेन्द्रकी पत्नीसँग यादवले जबरजस्ती करणी गरेपछि प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरे पनि यादव र साह मिलिसकेका रहेछन,” घटनाको बिषयमा जानकारी गराउन जिल्ला प्रहरी कार्यालयमा ८ माघमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख संजयसिंह बस्नेतले भने, “तर भट्टराईले करणी गरेकोबारे साक्षी बकपत्र गर्ने अडान लिएकै कारण यादव र साहसहितकाले हत्या गरेका हुन् ।”

भट्टराई दम्पत्ति हत्याका अभियुक्त रामचलितरलाई सार्वजनिक गर्दै प्रहरी । तस्बीरः रासस

प्रहरीका अनुसार यादवले बलात्कार गरेपछि धीरेन्द्र र उनकी पत्नीलाई मोटो रकम दिएर मिलाईसकेका थिए तर, भट्टराई भने साक्षी बक्ने अडानमै थिए । यादवले आफूहरुले हत्या गरेको सञ्चारकर्मीसमक्ष पनि स्वीकारेका छन् । हत्यामा संलग्न रहेका स्थानीय धीरेन्द्र साह र निजकी पत्नी दुलारीदेवी साहसहित ६ जना फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

चुरे जङ्गल क्षेत्रमा बसोवास गर्दै आएका भट्टराई दम्पतिको हत्यापछि त्यस ठाउँमा बसोवास गर्नेहरु विस्थापित भएका छन् ।

श्रवणकुमार देव, सप्तरी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>